20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

स्कूलमा ‘राजनीति’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२  

बर्दिया, फागुन १७
बर्दिया बासगढी–९ को जनप्रिय मावि ‘राजनीति गर्ने थलो’ बनेको छ । नयाँ व्यवस्थापन समितिले एक्लैटी रुपमा प्रधानाध्यापकलाई हटाउने प्रयास गरेसँगै स्कूलमा ताला लाग्ने र खोल्ने गतिविधि भएको छ । समितिले राजनीतिक आस्थाका आधारमा प्रधानाध्यापक होमनाथ सुवेदीलाई जबरजस्ती हटाउने प्रयास गरेपछि स्कूलमा तनाव भएको हो । व्यवस्थापन समितिले स्थायी शिक्षक सुवेदीलाई हटाएर राहत शिक्षक बलराम भूजेललाई प्रअमा अगाडि सारेको छ । समितिले आइतबार एक्लौटी यस्तो निर्णय गरेपछि सोमबार बिहानै स्कूलमा ताला लागेको थियो । यद्यपि, पछि त्यसलाई फोडिएको छ । व्यवस्थापन समितिको एकलौटी निर्णयपछि सोमबार नै शिक्षक–अभिभावकहरु जिल्ला शिक्षा कार्यालयमा पुगेका छन् । शिक्षक र अभिभावकको ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले आधिकारिक प्रधानाध्यापक तपाई नै भएको र ढुक्कले स्कूल सञ्चालन गर्न सुवेदीलाई निर्देशन दिनु भएको छ । ‘हामीले अरुलाई चिनेको छैन, त्यो स्कूलको प्रधानाध्यापक सुवेदी नै हो,’ जिशिअ शाहको भनाई उद्धृत गर्दै स्थानीय कृष्ण अधिकारीले भन्नुभयो – उनीहरु पनि आएका थिए । मैले मिल्दैन भनेर पठाए ।’ स्थानीयवासीका अनुसार, एनेकपा माओवादी समर्थित मंगलपसाद थारुलगायत व्यवस्थापन समितिमा आएपछि स्कूलमा हलचल भएको छ । प्रधानाध्यापक सुवेदी एमाले समर्थित भएकाले परिवर्तन गर्न खोजिएको छ । प्रधानाध्यापक सुवेदी निमाविका स्थायी र भूजेल मावीका राहत शिक्षक हुन् । जानकारहरुका अनुसार, निमाविसम्मका स्थायी शिक्षक छन् भने माविकै भएपनि राहतलाई प्रधानाध्यापक बनाउनु हुँदैन । स्थायी शिक्षक नै छैनन् भने मात्रै काम चलाउका रुपमा राहतलाई अगाडि सारिन्छ । तर, जनप्रियमा व्यवस्थापन समितिले जबरजस्ती गरेको छ । सुवेदी लामो समयदेखि उक्त स्कूलमा प्रधानाध्यापक रहेका छन् । तीन वर्षअघि यही समूहले व्यवस्थापन समितिमा अधिपत्य जमाउदा यसरी नै जबरजस्ती गरेर सुवेदीलाई राजीनामा गर्न बाध्य पारेका थिए । त्यसपछि आएको अर्को समितिले ‘नियम संगत’ अनुसार पुनः सुवेदीलाई अगाडि सारेको थियो । सुवेदीकै पालामा बर्दिया क्षेत्र नं. १ मा एकमात्र १५ महिने भेटेनरी कक्षा उक्त स्कूलमा सञ्चालनमा रहेको स्थानीयवासी बताउँछन् । जिशिअले सुवेदीलाई आधिकारिक भनेर पठाउने र व्यवस्थापन समितिले अर्को निर्णय गर्दा स्कूलमा तनाव सिर्जना भई पढाईमा असर पर्ने देखिएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२     6:10:51 PM  |