केशव राना
खेतबारीमै दिसापिसाब गर्ने कोहलपुर ४ रझेना वर्गदीपुरकी साकुन नाउ अहिले भने चर्पीमा दिसापिसाब गर्न पाउँदा मख्ख छिन् । झिसमिसेमै लोटा लिएर खेतबारीमा पुग्नुपर्ने, कसैले देखिहाल्छ की भनेर हतार–हतार दिसा गर्नुपर्ने बाध्यता उनको अहिले भने हटेको छ । चर्पी बनाएपछि उनको दैनिकी फेरिएको छ । घर नजिकै चर्पी भएपछि रातीको समयमा पनि दिसापिसाब गर्न उनलाई कुनै कठिनाई छैन । अति गरिब परिवारकी उनलाई चर्पी नहुँदा एकदमै अप्ठ्यारो भएको थियो । चर्पी बनाउने आर्थिक हैसियत पनि थिएन उनीसँग । उनको जग्गाको नाममा १० धुर मात्र छ । अन्य पैतृत सम्पत्ति तथा अन्य सम्पति छैन । उनले ऋण तथा सहयोग लिएर चर्पी बनाउन सफल भइन् । मधेशी समुदायमा पनि व्यक्तिगत स्वास्थ्य, सामुदायिक तथा अन्य व्यवहारिक ज्ञानको समेत विकास भैरहेको एक उदाहरण हुन् उनी पनि ।
कोहलपुर १३, खड्कवारकी वृद्धा कली बिकलाई पनि चर्पीमा दिसा गर्ने रहर नभएको होइन । तर, आर्थिक अवस्थाका कारण उनले शौचालय बनाउन सकिनन् । छिमेकीहरुले उनलाई चर्पी बनाउन दबाब दिँदै आएका थिए । छिमेकी गाउँलेहरुले बाहिर दिसा गर्न नदिने, बाहिर दिसा गरेमा जरिवाना गर्ने बताएपछि उनलाई पर्नु पिर प¥यो । बिहान बेलुकाको छाक टार्न कठिन भएकाले बेला चर्पी बनाउनु उनका लागि युद्ध जित्नु बराबर नै थियो ।
‘चर्पीमा दिसा गर्ने रहर कसलाई पो हुँदैन र ?’ उनले भनिन् ‘तर, आर्थिक अवस्था कमजोर भएका कारण चर्पी बनाउन सकेको थिइन ।’ ३५ वर्ष अघि उनी आफ्ना श्रीमानसँग सल्यान निगालचुलाबाट कोहलपुर झरेकी हुन् । उनलाई आफ्नो गाउँ छोड्नु कुनै रहर थिएन, नत कसैसँग दुस्मनी नै । थियो त एउटै कारण, त्यो हो भौगालिक
विकटता । घण्टौं हिँडेर पानी लिन जानुपर्ने, औषधी मुलो गर्न समस्या र गरिबी लगायतका कारणले उनी बसाई सरेर कोहलपुर आएकी हुन् ।
बसाइ सरी आउँदा खुशी र हर्षका साथ बिताएको जीवनमा केही वर्षपछि ग्रहण लाग्यो । उनका श्रीमानको अल्पायुमै मृत्यु भयो । उनी जवानीमा नै विधवा हुनुप¥यो । उनको एउटै छोरोको पनि मृत्यु भएपछि नातिनातिनीलाई हेर्ने जिम्मा उनको काँधमा छ । उनकी बुहारी पनि दोश्रो विवाह गरेर गइसकेकी छन् ।
आर्थिक अवस्था कमजोर भएपनि उनले हिम्मत भने हारिनन् । आफ्ना दुई नातिनातिना सँग मिलेर जसोतसो कच्ची चर्पी बनाइन् । कच्ची चर्पी बनाउँदाको क्षण उनलाई कम्तीको खुशी थिएन । ‘चर्पीमा दिसा गर्ने रहर पूरा भयो भनेर त्यसदिन एकदमै खुशी थिएँ ।’
अहिले उनको घरमा पक्की शौचालय छ । त्यसमाथि पनि सफा र सुग्घर राख्ने गर्छिन् । उनले पक्की चर्पी एक गैरसरकारी संस्था लुमन्तीले सहयोग गरेको बताइन् ।
कोहलपुर १३ भरैयाकी खिमा बिक पनि गरिब परिवार मध्येकै एक हुन् । तर, उनलाई चर्पीमा दिसापिसाब गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ । सल्यानकी उनी भरैयामा २०६९ सालमा बसाईसरी आउँदा कसैका घरमा चर्पी थिएनन् । वनजंगल, खेतबारीमा दिसापिसाव गर्ने गर्थे ।
सल्यानमा उनको आफ्नै घरमा चर्पी थियो, तर यहाँ कसैका घरमा चर्पी नदेख्दा उनी अचम्मित भइन् । सल्यान भन्दा भौतिक पूर्वाधारले सम्पन्न कोहलपुर स्वास्थ्य र सरसफाईको क्षेत्र निकै पछाडि थियो । खुल्ला ठाउँमा दिसापिसाब गरेको देखेर उनलाई लाज पनि लाग्थ्यो रे । उनले आफ्नो घरमा भने जसोतसो चर्पी
बनाइन् । उनले खर्चिलो चर्पी नबनाएपनि तत्काललाई परिपुर्ती गर्न सक्ने खालका प्यान लेबलसम्म पक्की तथा माथि स्थानीय स्रोत साधनलाई प्रयोग गरि काठपातले बारेर चर्पी बनाएको उनले बताइन् । गाउँलेहरुले पैसावालले मात्रै चर्पी बनाउने हो भनेर खिल्ली समेत उठाएको उनी बताउँछिन् ।
माथिका यी तीन उदाहरणहरु हुन् कोहलपुरको सरसफाईको अवस्था झल्काउने । अधिकांश घरहरुमा चर्पी निर्माण भएपछि कोहलपुरलाई २०७२ अषाढ २६ गते खुला दिसामुक्त नगरपालिका घोषणा गरियो । अहिले अधिकांश घरहरुले शौचालयको प्रयोग गर्ने गरेको नगरपालिकाले जनाएको
छ । पहिलेका तुलनामा अहिले कोहलपुर स्वास्थ्य र सरसफाईको क्षेत्रमा निरन्तर अगाडि बढ्दै गएको अवस्था छ ।
कोहलपुर नगरपालिकाले अर्को नयाँ अवधारणा अघि सारेको छ । त्यो हो पूर्ण सरसफाईयुक्त नगरपालिका
बनाउने । अहिले पनि कोहलपुरमा फोहोर व्यवस्थापन चूनौतीको रुपमा खडा भएको छ । बजारका फोहोरहरु उठाउनका लागि गाडीको व्यवस्था समेत नगरपालिकाले गरेको छ । तर, डम्पिङ्ग साइटको छनौट हुन नसक्दा अझैं फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ । कोहलपुर नगरपालिकाले अहिले अन्तर्राष्ट्रिय क्रिकेट मैदान नजिकको जग्गामा फोहोर फालिरहेको छ ।
डम्पिङ्ग साइटको लागि एक सामुदायिक वनसँग प्रक्रिया अघि बढिरहेको बताउँछन् कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत मिनबहादुर शाही । ‘सामुदायिक वनमा डम्पिङ्ग साइट बनाउने कुरा भैरहेको छ’ उनले भने ‘त्यो चाँडै पूरा हुन्छ ।’
कोहलपुर नगरपालिका केही वर्ष अघिसम्म फोहोरै फोहोरको शहर जस्तो देखिन्थ्यो । जथाभावी फोहोर फालिएको थियो । जसका कारण बजार क्षेत्र कुरुप बन्दै गइरहेको थियो । फोहोर व्यवस्थापन गर्नका लागि योजनाहरु नबनेका पनि होइनन्, ती योजना योजनामै सीमित हुँदा सरसफाईको क्षेत्रमा कोहलपुर निकै पछाडि परेको थियो । तर, अहिले पहिले भन्दा निकै परिवर्तन आइसकेको छ । जथाभावी फोहोर फाल्न बन्द भएको छ । व्यवसायीहरुले आफ्ना पसल अगाडि जम्मा भएका फोहोर उठाएर फोहोर उठाउने गाडीमा फाल्ने गरेका छन् ।
यससँगै कोहलपुर नगरपालिकाले हरित नगरका रुपमा कोहलपुरलाई विकास गर्ने भएको छ । यसले पनि कोहलपुरलाई सफा, सुन्दर देखाउन मद्दत गर्नेछ । हरित नगरपालिकाका रुपमा विकास हुन फोहोर व्यवस्थापन अति आवश्यक छ । साथै सरसफाईको क्षेत्रमा नगरपालिकाले आफ्नो अभियानलाई अझैं तीव्र रुपमा अगाडि बढाउनुपर्ने देखिएको छ ।
कोहलपुरलाई हरित नगरपालिका बनाउन सरकारले एक करोड रुपैंया बिनियोजन समेत गरिसकेको अवस्था छ । साथै कोहलपुरलाई हरित नगरपालिका बनाउने योजना पनि शुरु भइसकेको छ । जसअनुसार कोहलपुरमा चौराहा पश्चिमका अतिक्रमित भौतिक संरचना हटाई सिद्धिविनायक सामुदायिक वनसम्म ग्रिनबेल्ट निर्माणको थालनी भएको छ । कोहलपुरलाई हरित बनाउन ५० हजार विरुवा रोप्ने नगरपालिकाले लक्ष्य राखेको छ ।
कोहलपुर नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गर्दै हरित नगरपालिका बनाउने अभियानलाई अगाडि बढाइरहेको छ । अब कोहलपुर नगरपालिका हरियो सहरका रुपमा विकसित हुनेछ । यहाँ प्राकृतिक रुपमा नै सौन्दर्यले भरिएको कोहलपुर नगरपालिका अब थप सफा र स्वच्छ बन्नेछ । कोहलपुर मध्य तथा सूदूरपश्चिमको केन्द्रविन्दु भएकाले पनि यो क्षेत्रमा विभिन्न सम्भावनाहरु रहेका छन् ।
मध्य तथा सुदूरका जिल्लाहरुमा जानका लागि कोहलपुर नआई कसैलाई सुखै छैन । किनभने यो मध्य तथा सुदूरको प्रवेशद्वार हो । त्यसै कारण पनि कोहलपुर सुन्दर, सफा र व्यवस्थित हुन जरुरी छ । साथै कोहलपुरलाई चिनाउन सबैभन्दा ठूलो मद्दत गरेको छ, कोहलपुर चौराहाले । तर, कोहलपुर चौराहालाई व्यवस्थित गर्न नसक्दा कोहलपुरको परिचय गुमनाम भइरहेको छ । त्यसैले कोहलपुर चौराहालाई व्यवस्थित र पुननिर्माणको आवश्यकतालाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले अहिले चौराहालाई व्यवस्थित र आकर्षक बनाउनका लागि पुनर्निमाण थालेको छ । चौराहामा एउटा ठूलो पाटेबाघको सालिक पनि राख्ने नगरपालिकाले जनाएको छ । साथै त्यस क्षेत्रमा व्यापारिक सटरहरु बन्ने भएका छन् ।
कोहलपुरको विकासका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको नगरपालिकाका कार्यकारी अधिकृत मिनबहादुर शाहीको भनाई छ । कोहलपुरलाई देशकै स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउने लक्ष्य लिइएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्