26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

स्थगित कांग्रेस महाधिवेशनका कार्यक्रमहरु आजदेखि सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२  

काठमाडौं, फागुन १ । सभापति सुशील कोइरालाको असामयिक निधनका कारण स्थगित गरिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गतको कार्यक्रमहरु आजबाट फेरि सुरु गरिएको छ ।

स्थानीय नेतृत्व चयनकै क्रममा गत २५ गते मध्यराति १२ः५० मा आफ्नै निवास महाराजगञ्जमा सभापति कोइरालाको निधन भएको थियो । सभापति कोइरालाको असामयिक निधनबाट शोकमाडुबेको कांग्रेसलाई चैत्र ५ गतेभित्र महाधिवेशन सकाउनैपर्ने संवैधानिक बाध्यता रहेको छ ।

त्यसैले १३ दिनसम्म पार्टीका अरु सबै कार्यक्रम स्थगित गरी शोकमा रहेको कांग्रेसले आजबाट भने  स्थगित स्थानीय अधिवेशनका कार्यक्रमहरु थाल्न लागेको हो । यसक्रममा विभिन्न जिल्लामा आज नेतृत्वका लागि मतदान हुँदैछ ।

अहिलेसम्म कांग्रेसले २८ जिल्लामा सभापतिसहितको जिल्ला नेतृत्व चयन गरिसकेको छ । जसअनुसार चारवटा जिल्लामा निर्विरोध सभापति चयन भएका छन् भने अरु जिल्लामा आन्तरिक प्रतिष्पर्धाबाटै नेतृत्व चयन गरिएको हो ।

हालसम्म चयन भएका सभापतिमा १४ जना संस्थापन, १२ जना देउवा पक्षका छन् भने दुई जनाले पक्ष खुलाएका छैनन् । यसपटक यसअघि संस्थापनमा रहेका केही जिल्ला देउवा खेमामा र केही संस्थापनका पोल्टामा पुगेका छन् ।

सभापति सुशील कोइरालाको निधन भएकाले यही फागुन २० देखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनमा सभापति पदमा अब कार्यवहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच सीधा प्रतिष्पर्धा हुने देखिएको छ ।

यद्यपि, संस्थापनका तर्फबाट पौडेलकै नाममा सर्वसम्मति बन्ने नबन्ने अझै टुंगो लागिसकेको छैन । संथापनका तर्फबाट अरु नेता पनि आकांक्षी देखिएका छन् भने देउवा पक्षले संस्थापनकै केही प्रभावशाली नेतालाई आफूतर्फ तानेर परिणाम आफ्नो पोल्टामा पार्ने रणनीति बनाइरहेको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२     11:34:41 AM  |