समाजले दिन नसकेको अधिकार



राम बहादुर रावत

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ की ३९ वर्षिय रुपा (नाम परिवर्तन) कोहलपुरकै एक सामुदायिक विद्यालयको सदस्य पदमा उम्मेदवारी दिन सबैले कर गरेका थिए । तर उनीले त्यो सदस्य पदमा उम्मेदवारी दिने आँट
गरिनन् । ७ वर्ष पहिला उनका श्रीमान रोजगारीका लागि भारत गएका थिए । एक छोरा र एक छोरीको सुन्दर भविष्यका लागि भारत गएका श्रीमान बिरामी भएर घर फर्के । दिन प्रति दिन श्रीमान बिरामी भए पछि चेक जाँच गर्दा श्रीमान एड्स संक्रमणित भएको थाहा पाए पछि उनीलाई मर्नु न बाँचु भयो । संक्रमणित श्रीमान सँग यौन सम्पर्क गर्दा उनी पनि बिरामी भईन । कोहलपुरमा रहेको स्वास्थ्य चौकिमा जाँच गर्न गईन । चेक जाँच गरे पछि उनी पनि एच.आईस.भी. एड्स संक्रमित भईसकेको प्रमाणित
भयो । ‘खुलेरै बोल्ने हिम्मत गर्न सकिन्न्’ उनीले भनिन् ‘धेरै प्रयास पछि स्वास्थ्य चौकीबाट औषधि सेवन गर्न लागे अहिले पनि औषधि खाइरहेकी छु ।’ अहिले उनी एच.आई.भी. विरुद्ध क्रियाशिल भएर विभिन्न कार्यक्रम गर्दै आइरहेकी छिन् । समाजले उनीलाई सार्वजनिक स्थानमा स्वीकार नगरे पनि अहिले सामाजिक काममा क्रियाशिल बन्दै आएकी छिन् । ‘एड्स भएकै कारण समाजले दिएका धेरै अवसरहरु गुमाएकी छु’ उनीले भनिन् ‘एड्स भएकै कारण कसैलाई कुनै अवसरबाट बञ्चित गराउनु हुँदैन भने पक्षमा आवाज दिइरहेकी
छु ।’
कोहलपुर ११ कै महाविर (नाम परिवर्तन) को विवाह सानै उमेरमा भएकाले १९ वर्षमै दुई छोराका बाबु
बने । नेपालमा रोजगारीको कुनै व्यवस्था नभए पछि ५ वर्ष अघि भारतमा गएर ट्रक ड्राईभरको काम गरे । भारत गरेको २ वर्ष पछि उनी सिकिस्त बिरामी भए । चेक जाँच गराउँदा उनी पनि एच.आई.भि. एड्स संक्रमित भईसकेको थापा भयो । एड्स भएको थाहा भए पछि उनी कोहलपुरकै स्वास्थ्य चौकिबाट अहिले सम्म औषधि सेवन गरिरहेका
छन् । नियमित रगत चेकजाँच गर्न उनी कोहलपुर स्वास्थ्य चौकिमा गईरहेका
छन् । ‘यस्तो रोग लाग्छ भन्ने चेतना भएन, जीवनमा दुःख पाए, सबैले हेर्न दृष्टिकोण फरक छ’ उनले भने ‘समाजले पुर्ण अधिकार दिन सकेको छैन्, एड्स भएकै कारण जीवनमा धेरै कठिनाईहरु भोगिरहेको छु ।’ सामाजिक जीवन बिताउनका लागि उनीले धेरै प्रयास गरे पनि समाजले एड्स लागेकाहरुलाई अधिकारबाट बञ्चित गरेकोले उनी पनि पछि परे ।
सरकारवाला निकायले एच.आई.भी. एड्स बिरुद्ध गरेका विभिन्न सचेनतामुलक कार्यक्रममा सहभागिता जनाउँदै उनी अहिले एच.आई.भी. एड्स लाग्नबाट बचाउन क्रियाशिल छन् । ‘वनको उपभोक्ता समितिमा बस्ने चाहाना थियो’ उनले भने ‘एच.आई.भी. एड्स भएकै कारण समितिमा निर्वाचित हुन सकिन ।’ समाजले स्वीकार गर्न नसकेको कुसंस्कारका विरुद्ध उनी अहिले सक्रिय रुपमा लागि परेका छन् ।
दश वर्षिय जनयुद्धमा आफ्ना श्रीमानको मृत्यु भए पछि वि.स. २०६३ सालमा जाजरकोटबाट बसाइसरी बाँकेमा आएकी धनसरा (नाम परिवर्तन) दुई छोरा सँगै खुशीका साथ जीवन बिताइरहेकी थिईन् । विकास, चेतना, शिक्षा, स्वास्थ्य अन्य सुविधाका दृष्टिकोणका आधारमा जाजरकोट भन्दा बाँके धेरै विकसित भएकाले उनी सुःखी जीवनको खोजीमा बाँकेमा आईन । बाँके आएको केहि समय पछि आर्थिक अवस्था दिन प्रति दिन कमजोर हुँदै गए पछि बाँके आएको ३ वर्ष पछि उनी यौनकर्मी हुन पुगिन् । ‘दुई छोरा हुर्काउने जिम्मेवारी काँधमा आयो, म सँग कुनै सीप नभएका कारण कसैले पनि रोजगारी दिन मानेन्’ उनले भनिन् ‘अन्तिम विकल्पका रुपमा यो पेशामा लाग्न बाध्य भएकी हुँ ।’ आर्थिक अवस्था कमजोर भए पछि यौन पेशामा लागेकी उनी विस्तारै बिरामी हुन पुगिन् । काम गर्न जागर नलाग्ने, टाउँको दुखि रहने, शरीर पातलो भए पछि भेरी अस्पताल नेपालगञ्जमा चेक जाँच गराउँदा त उनीलाई एच.आई.भी. संक्रमित भईसकेको थाहा भयो । ‘एड्स लागे पछि धेरै चिन्तित थिए’ उनीले भनिन् ‘अहिले सबै कुरा थाहा पाए पछि यसका बिरुद्ध नेपालका विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्दै आएकी छु ।’ एच.आई.भी. एड्सका विरुद्ध उनी अहिले खुलेरै सचेतनामुलक कार्यक्रमहरु ठाउँ ठाउँमा गरिहरेकी
छन् । एड्स भएको मान्छेलाई समाजले स्वीकार गर्नु हुन्न भन्नेहरुका अगाडि उनी चुनौतिका रुपमा खडा भएकी छिन् । आजभोलि एच.आई. भी.एड्सका विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने व्यस्त छिन् । माथिका घटनाहरुबाट थाहा हुन्छ की एच.आई. भी भएका मान्छेहरुलाई समाजले अहिले पनि पुर्ण रुपमा अधिकार दिइरहेको छैन् ।
बाँकेमा हाल सम्म ६ सय जना एच.आई. भी.एड्सबाट संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । त्यस्तै बाँकेको कोहलपुर क्षेत्रमा ४५ जना एच.आई. भी.एड्सबाट संक्रमित रहेको स्वास्थ्य चौकी कोहलपुरले जनाएको छ । एच.आई. भी.एड्सबाट संक्रमित भएका सबै जनाले नियमित स्वास्थ्य चेक जाँच जिल्ला जनस्वास्थ्य र स्वास्थ्य चौकी कोहलपुरमा गराईरहेका छन् ।
कोहलपुर हरेक क्षेत्रबाट विकासको तिव्र गतिमा अगाडि बढिरहेको अवस्थामा एच.आई.भि. एड्स नामक रोगलाई नियन्त्रण लिनका लागि कोहलपुरका सरकारवाला निकायले विशेष ध्यान दिनु आजको आवश्यकता रहेको छ । विभिन्न समयमा यौनकर्मीहरुलाई प्रहरी नियन्त्रणमा लिने गरेको पाइन्छ । कोहलपुरका अंधिकाश क्षेत्रबाट अवैध यौनकर्मीहरुलाई नियन्त्रण लिनका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले पटक पटक छापा मार्ने गरेको पाइन्छ । तर इलाका प्रहरीका कार्यालयका प्रमुखहरुको सरुवा भईरहने गर्दा त्यो कदम प्रभावकारी हुन सकेको छैन् । यौनकर्मीहरुलाई नियन्त्रणमा लिन सक्ने हो भने कोहलपुर एच.आई.भि मुक्त हुन सक्ने यहाँका बुद्धिजीविहरु बताउँछन् ।
कोहलपुर नगरपालिका र अन्य सरकारी तथा गैरसरहकारी संघ संस्थाले विभिन्न चरणमा सूचनामुलक कार्यक्रमहरु गरी एड्स भएकाहरुलाई सामाजिक जीवन जिउने वातावरण बनाउनका लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने कोहलपुरका वरिष्ठ पत्रकार भिम बहादुत रावत बताउँछन् । बाँकेका एच.आई. भी.एड्सबाट संक्रमित भएका व्यक्तिहरुलाई राज्यले विशेष रोजगारी मूलक कार्यक्रमहरु ल्याउनु पर्छ अनि मात्र उनीहरुलाई समाजले स्वीकार गर्न सक्ने छ । कोहलपुर क्षेत्रमा हाल संक्रमित भएकाहरुको संख्या न्यून गर्नका लागि सकरात्मक सूचना प्रवाह गर्नु आजको आवश्यकता हो ।
त्यसैले कोहलपुर नगरपालिका, कोहलपुर उद्योग व्यापार संघ, कोहलपुर नगरविकास समिति, कोहलपुर खानेपानी, कोहलपुर स्वास्थ्य चौकि लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले रचनात्मक पहल गरी एड्स भएकाहरुलाई समाजको वर्तमान अवस्थामा ल्याउनका लागि केहि पहल गर्नु नै कोहलपुरका लागि महत्वपुर्ण उपलब्धि हुने छ ।
मान्छेको रोगको जिवाणु सँग लड्ने प्रतिरोध शक्ति ज्यादै कम गराउने भाईरल जिवाणु नै एच.आई.भि हो भने जिवाणुले संक्रमण पछि प्रतिरोध शक्तिको भुमिका खेल्ने कोषहरु ज्यादै न्यून गराएको अवस्था एड्स हुने कोहलपुर स्वास्थ्य चौकीका प्रमुख धन नाथ यौगिले बताए । एडस् साना उमेरका बच्चा र बुढो अवस्थामा २ देखि ५ वर्षभित्र देखा पर्न सक्छ भने युवा अवस्थामा व्यक्तिको सोँच, व्यवहार परिवारको आर्थिक सामाजिक अवस्था खानपान अनुसार १० देखि २०–२५ वर्ष पनि लाग्न सक्छ, अर्थात नकारात्मक सोँच, व्यवहार खानपान जीवन शैलीले रोग प्रतिरक्षा कोष पनि छिटो घटनमा मद्धत गर्ने भएकोले ५–७ वर्ष भित्रै पनि एडस देखा पर्न सक्ने उनले बताए ।
साथै अशुरक्षित यौन सम्पर्क गर्दा, संक्रमित निर्मलीकृत नगरिएका छाला छेड्ने औजारहरु, सुईहरुबाट चोटपटक लाग्दा वा घाउ हुँदा साथै नजाँचिएको रगत लिदा दिदा पनि नयाँ व्यक्तिहरुमा एच.आई.भि संक्रमण हुने र सक्रमित आमाहरुबाट जन्मेका शिशुहरुमा पनि यसको संक्रमण हुने उनले बताए । संक्रमित व्यक्तिहरु सँग सँगै सुत्दा हात मिलाउँदा, उसको कपडा लगाउँदा, उसले प्रयोग गरेको काईयोले कोर्दा र सँगै खेल्दा एच.आई.भि. नसर्ने उनी बताउँछन् ।
हाल एच.आई.भि एडस् विश्वको स्वास्थ्य लागि एउटा गम्भिर चुनौती र विकासको लागि ठूलो समस्याको रुपमा देखा परेको छ । एडस् १९८१ मा देखा परेपछि र हाल सम्म विश्वमा ३ करोडभन्दा बढी मान्छेहरुको मृत्यु भईसकेको छ भने ३ करोड ५८ लाख मान्छेहरु एड्स हुने भाईरल जिवाणुबाट संक्रमित भई बा“चिरहेका छन् । सन २०१४ को अन्तसम्म मात्र १२ लाख मान्छेहरुको मृत्यु भएको थियो । नेपालमा सन २०१४ सम्म ३९,२४९ जना संक्रमित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । एच.आई.भि एड्स तथा यौन रोग संक्रमित भएकाहरुलाई समाजले पुर्ण रुपमा स्वीकार गर्नु पर्छ । त्यसको उदाहरण कोहलपुर बन्नु पर्छ । कोहलपुरलाई एक विकासन्मुख शहरका रुपमा हेरिन्छ । त्यसैले कोहलपुर क्षेत्रका एड्स संक्रमितहरुलाई रोजगारीको बाटो तिर क्रियाशिल गराउन जरुरी रहेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार