18 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

ठूला–ठूला माला लगाइदिन खोज्नेलाई गान्धीको यस्तो हुन्थ्यो जवाफ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ११, २०७२  

6

gandhi and mala

काठमाडौं, ११ माघ । कुनै बेला नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले पचासौं किलोको माला लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । उनको धेरै आलोचनासमेत भयो । खुमबहादुरको उक्त तस्बिरमाथि कतिपयले टिप्पणी नै गर्न रुचाएनन् किनकी यहाँ ‘सर्वहारा वर्ग’को नेतृत्व गर्छु भन्ने कम्युनिष्ट पार्टीका नेताहरुले पनि यही ‘माला संस्कार’ पछ्याइरहेका छन् ।

अहिले खुमबहादुरको जस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले गह्रुंगो माला लगाएको तस्बिर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले हेटौंडामा गत हप्ता ४९ किलोको माला लगाएपछि माला संस्कारमाथिको बहस पुनः सुरु भएको हो ।
माला संस्कारको बारेमा अहिले मात्र होइन सदियौं अगाडिदेखि बहस हुने गरेका छन् । भारतका साधु नेता महात्मा गान्धीको पालामा पनि उनको स्वागत र सम्मानको लागि शुभेच्छुकहरुले ठूला ठूला माला लगाउने तयारी गरेको एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले माला संस्कारमाथि बहस र नेताहरुलाई नयाँ सन्देश दिन सक्छ ।
यस्तो छ गान्धी र मालाबारे रोचक प्रसंग
सादा जीवन उच्च विचारका लागि आदर्श नेताका रुपमा चिनिन्छन् महात्मा गान्धी । उनको लवाई खवाई मात्र होइन, समग्र जीवन शैली नै विश्वका करोडौं मानिसहरुको लागि आदर्श बन्ने गरेको छ । तडकभडक गर्न नरुचाउने उनी संसारको जुनसुकै देशमा पनि सामान्य पहिरनमा पुग्दथे । उनको जहाँ पनि भव्य स्वागत हुन्थ्यो ।

एकपटक गान्धी भरातको देवीपुर पुगे जहाँ जनताले उनको भव्य स्वागत गरे । उनको स्वागतमा जनताले गाउँगाउँबाट फूल जम्मा पारेर ठूला ठूला माला तयार बनाएका थिए ।
जब गान्धीले यस्तो देखे, उनी दुःखी भए । उनले तत्काल देवपुरबासीलाई सम्बोधन गर्दै भने,  ‘यहाँहरुले अत्यन्त दुःखसाथ फूलका यी हार त तयार गर्नुभएछ । तर, फूलका यी हारका ठाउँमा तपाईंहरुले यदि मलाई कुनै सुतीको कपडाको हार लगाइदिनुभएको भए म अझ धेरै खुसी हुने थिएँ । किनकी सुतीको त्यो हार पछि कुनै कपडा बनाउन प्रयोगमा आउने थियो । यसरी बेकारमा नाश भएर जाने थिएन । ती फूलले बोटलाई शोभा दिने थिए र सबैलाई आफ्नो बास्ना र सुन्दरताले आनन्द दिने थिए । त्यस्तो अमूल्य फूल बेकारमा सजावटका लागि र कसैको सोख या स्वागतका लागि टिप्नु उचित हुँदैन । अझ यो कार्य सूक्ष्म हिंसा पनि हो । ‘

प्रकाशित मितिः सोमवार, माघ ११, २०७२     3:05:56 PM  |