कञ्चनपुर ।
ठेक्का सम्झौताअनुसार काम नगरेपछि ठेक्का अन्त्य गरिएका १५ वटा आयोजनासँग सम्बन्धित निर्माण व्यवसायीलाई पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सरकारी बाँकी रकम दाखिला गर्न ताकेता गरेको छ । तर, सार्वजनिक सूचना जारी गरेर रकम बुझाउन आग्रह गर्दा पनि सम्बन्धित निर्माण व्यवसायी रकम दाखिला गर्न आएका छैनन् । कार्यालयले मंसिर १ गते सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता अन्त्य भएका आयोजनाका निर्माण व्यवसायीलाई सात दिनभित्र सरकारी बाँकी रकम दाखिला गर्न निर्देशन दिएको थियो ।
तर, तोकिएको समय बितिसक्दा पनि कसैले रकम दाखिला नगरेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदमबहादुर मडैले बताए । ‘रकम दाखिला गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ । तर, अहिलेसम्म कोही पनि रकम जम्मा गर्न आएका छैनन्,’ उनले भने, ‘अब पनि रकम दाखिला नगरे सरकारी बाँकी असुलीका लागि तहसिल कार्यालयमार्फत प्रक्रिया अघि बढाउन लेखी पठाउँछौँ । उसले ति निर्माण व्यवसायीको खाता रहेको अन्य कार्यालयबाट रकम कटौती गरी दाखिला गरिदिन्छ ।’
कार्यालय प्रमुख ईञ्जिनियर मडैका अनुसार २०८३ जेठ १३ गते ठेक्का अन्त्य गर्दासम्म निर्माण व्यवसायीले काम नगर्दा सरकारलाई भएको घाटा रकम उनीहरूले जम्मा गरेको धरौटीबाट कटौति गरिएको थियो । त्यसपछि पनि बाँकी रहेको रकम दाखिला गर्न ताकेता गरिएको हो । कार्यालयको विवरणअनुसार सातवटा निर्माण व्यवसायीसँग सम्बन्धित १५ वटा ठेक्का सम्झौता अन्त्य गरिएका थियो । सबैभन्दा बढी गणपति कन्स्ट्रक्सन र एसएन निर्माण तथा परामर्श सेवाका ४/४ वटा ठेक्का सम्झौता अन्त्य गरिएका छन् ।
नागार्जुन निर्माण सेवाका तीन वटा, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि, राधा भानु निर्माण सेवा, राधा भानु बासुलिङ जेभी र आरपी कन्स्ट्रक्सनका १/१ वटा ठेक्का सम्झौता अन्त्य गरिएका छन् । यि सबै निर्माण व्यवसायीहरू कञ्चनपुरकै हुन् । ठेक्का सम्झौताअनुसारको जिम्मेवारी पूरा नगरी गम्भीर रूपमा सम्झौता उल्लंघन गरेको भन्दै कार्यालयले २०८३ जेठ १३ गतेको निर्णयअनुसार ती ठेक्का सम्झौता अन्त्य गरेको सूचनामा उल्लेख छ ।
ठेक्का अन्त्य भएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ लगायतका कानुनी व्यवस्थाअनुसार निर्माण व्यवसायीलाई कारबाही स्वरुप जरिवाना तोकी धरौटीबाट रकम कटौति गरेको थियो । बाँकी रकम असुल गर्न लागिएको कार्यालय प्रमुख इञ्जिनियर मडैले बताए ।कार्यालयले सम्बन्धित निर्माण व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारको एकल राजस्व खाता राजस्व शीर्षक नम्बर १४३१२ मा रकम दाखिला गरी बैंक भौचर कार्यालयमा पेस गर्न भनेको छ ।
विवरण अनुसार गणपति कन्स्ट्रक्सनले चार ठेक्काको ६७ लाख २५ हजार ७३९ र एसएन निर्माण तथा परामर्श सेवाले चार ठेक्काको २६ लाख ७ हजार २५८ रूपैयाँँ तिर्न बाँकी छ । नागार्जुन निर्माण सेवाले तीन ठेक्काको १४ लाख १५ हजार ७१२, नागार्जुन कन्स्ट्रक्सन कम्पनीले एक ठेक्काको १ करोड ४५ लाख ७९ हजार ३६४, राधा भानु निर्माण सेवाले एक ठेक्काको ४६ लाख ५४ हजार ३८८, राधा भानु बासुलिङ जेभीले एक ठेक्काको ७४ लाख २५ हजार २८८ र आरपी कन्स्ट्रक्सनले एक ठेक्काको दुई लाख २६ हजार ८९१ रूपैयाँँ तिर्न बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्