28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

पीएचडी भन्दा आत्महत्या रोजेका एक दलित छात्रको ‘सुसाइडनोट’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२  

rohit

हैदराबाद, हैदराबादको केन्द्रीय विश्वविद्यालयमा पिएचडी गर्दै गरेका छात्र रोहितले आइतबार राती मार्मिक पत्र लेख्दै आत्महत्या गरे ।

उनले आत्महत्या गर्नुको एउटै कारण उनी दलित जातिमा जन्मिनु थियो । दलित भएको कारण सामाजिक विभेदको असह्य पीडा सहन नसकी उनले आत्महत्या गरे । यद्यपी आत्महत्याको साटो विद्रोहको बाटो रोजेको भए त्यो सही हुने मत यो घटनामा व्यक्त भएको छ ।

दलित समुदायका रोहितलगायत अन्य ५ जनालाई केही दिन अगाडि छात्रावासबाट निष्काशित गरिएपछि उनी निराश थिए ।

आत्महत्या अगाडि रोहितले एउटा पत्र लेखे । उक्त पत्रमा जातीय विभेदविरुद्ध चर्को रोष व्यक्त नगरेपनि दलित जातिमा जन्म हुनु नै एउटा ठूलो कारण भएको उल्लेख गरेका छन् ।
रोहितले आत्महत्या गर्नु अगाडि लेखेको र विविसीले हिन्दीमा राखेको पत्रको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।


गुड मर्निङ,

तपाईहरुले यो पत्र पढिरहँदा म हुने छैन । मसँग नरिसाउनुहोला । मलाई थाहा छ, तपाईहरुमध्ये धेरैले मेरो चिन्ता गर्नुहुन्थ्यो । मलाई माया गर्नहुन्थ्यो र मेरो निकै हेरचाह समेत गर्नुहुन्थ्यो ।

मलाई कसैसँग कुनै गुनासो छैन । मलाई सधैं आफैसँग समस्या रही आयो । म आफ्ना आत्मा र शरीरबीचको दूरी बढदै गइरहेको अनुभूति गर्दै आइरहेको थिएँ । मलाई लाग्छ, म दानव बनिसकेँ । म सधैं एउटा लेखक बन्न चाहन्थेँ, कार्ल सगान जस्तै । तर अन्तमा म केवल यही एउटा पत्र मात्रै लेख्न पाइरहेको छु ।

मलाई विज्ञानसँग प्रेम थियो, ताराहरु र प्रकृतिसँग प्रेम थियो । मैले मानिसहरुसँग माया गाँसे । तर मानिसहरुले त उहिल्यै प्रकृतिसँग सम्बन्धविच्छेद गरिसकेका रहेछन् भन्ने मैले थाहा पाउन सकिनँ । हाम्रा भावनाहरु दोयम दर्जाका भइसकेका छन् । हाम्रो प्रेम बनावटी छ । हाम्रा मान्यताहरु झूठो छन् । हाम्रो मौलिकता वैध छ तर कृत्रिम कलाको माध्यमले मात्रै । प्रेम गर्दा पनि दुखी नहुने भन्ने कुरा निकै कठिन भइसकेको छ ।

एउटा मान्छेका मूल्य उसको तत्कालिक पहिचान र निकट सम्भावनासम्म सीमित गरिएको छ । अझ भनौं, एउटा भोटसम्म । मान्छेलाई कहिल्यै पनि उसको दिमागबाट मापन गरिएन । मान्छे एउटा ‘अङ्क’ मात्रै बनेको छ । एउटा बस्तु मात्रै बनेको छ। एउटा यस्तो बस्तु, जुन स्टारडस्टबाट बनेको छ । हरेक क्षेत्रमा, अध्ययनमा, बाटो, दोबाटोमा, राजनीतिमा र अझ मर्नु र बाँच्नुमा पनि ।

म पहिलोपटक यसप्रकारको लेखिरहेको छु । पहिलोपटक म अन्तिम पत्र लेखिरहेको छु । यदि यसको कुनै अर्थ निस्केन भने कृपया मलाई माफ गर्नुहोला ।

म नै गलत हुनसक्छु अहिलेसम्मको संसार बुझ्न । प्रेम, पीडा, जीवन र मृत्युलाई बुझ्न समेत । यस्तो कुनै आतुरी पनि थिएन । तर म सधैं हतारामो रहन्थे । म एउटा नयाँ जीवन शुरु गर्न बेचैन थिएँ । यो पुरै समय म जस्ता मानिसहरुका लागि जीवन अभिशाप नै रह्यो ।

मेरो जन्म एउटा भयंकर दुर्घटना थियो । म आफ्ना बाल्यकालको एक्लोपनाबाट कहिल्यै मुक्त हुन सकिनँ । बाल्यकालदेखि नै मैले कसैको माया पाइनँ । अहिले म आहत छैन । न त म दुखी नै छु । मात्र रित्तो छु । मलाई आफ्ना चिन्ता पनि छैन । यो दयनीय छ र यसै कारणले म यस्तो गरिरहेको छु ।

मानिसहरुले मलाई कायरको संज्ञा देलान । स्वार्थी र मूर्ख पनि भन्लान । तर मेरो मृत्युपछि मानिसहरुले मलाई के भन्लान् भन्ने कुराले मलाई त्यति फरक पार्दैन । मरेपछि भूतप्रेतका कहानीहरुमा म विश्वास गर्दिनँ । यदि कुनै कुरामा मेरो विश्वास छ भने त्यो म ताराहरुसम्म यात्रा गर्न सकुँ भन्ने छ । यसो भएको खण्डमा मैले अर्को दुनियाँ कस्तो छ भन्ने कुरा थाहा पाउँथे ।

तपाई जो जसले मेरो पत्र पढिरहनु भएको छ, यदि केही गर्न सक्नुहुन्छ भने मलाई आफ्नो ७ महिनाको फेलोशिप पाउन बाँकी छ । एक लाख ७५ हजार । कृपया यो पैसा मेरो परिवारलाई पाइएको सुनिश्चित गरिदिनुहोला । मैले रामजीलाई चालीस हजार रुपैयाँ दिनुपर्ने थियो । उनले कहिल्यै पनि पैसा फिर्ता त मागेनन् तर प्लिज फेलोशिपको पैसाबाट रामजीलाई उनको पैसा पनि फिर्ता गरिदिनु होला ।

म चाहन्छु, मेरो शवयात्रा शान्ति र चुपचापसँग होस् । मानिसहरुले यस्तो व्यवहार गरुन मानौं म आएँ र हिँडे । मेरा लागि आँसु नबगाइयोस् । तपाईलाई म बाँच्नुभन्दा पनि मरेपछि बढी खुसी छु भन्ने लागोस् ।

उमा अन्ना, मैले यो काम तपाईको कोठामा गर्न गइरहेकोमा क्षमा चाहन्छु ।

अम्बेडकर स्टुडेन्स एशोसिएसन परिवार, तपाईहरु सबैलाई निराश पारेकोमा माफी । तपाईहरु सबैले मलाई निकै माया गर्नुभयो । सबैलाई भविष्यको शुभकामना

अन्तिम पल्ट

जय भीम

मैले औपचारिकताहरु लेख्न बिर्से । आफैलाई मार्ने मेरो यो कृत्यका लागि कोही पनि जिम्मेवार छैन ।

यसो गर्नका लागि मलाई कसैले भड्काएन, न त आफ्नो कृत्य र न आफ्नो शब्दबाट नै ।

यो मेरो निर्णय हो र म यसका लागि जिम्मेवार छु ।

म गएपछि मेरा साथी र दुश्मनहरुलाई दुख दिने चेष्टा नगरियोस् ।

प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२     11:01:10 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *