नेपालगन्ज ।
आज आइतबार नेपालगन्जमा किसानहरूको प्रदर्शन गरिने भएको छ । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशको संयोजनमा उक्त प्रदर्शन हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सञ्जालले किसान आन्दोलन कार्यक्रम अन्तर्गत जुलुस प्रदर्शन तथा जनसभा गर्न लागेको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिए ।
नेपालगन्जको काँरकाँदोस्थित एसके पेट्रोल पम्पदेखि सुरु हुने जुलुस प्रदर्शनमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी तथा सदस्य तथा आम किसानहरूको सहभागिता रहने मल्लले बताए । उक्त जुलुस नेपालगन्जको बजार परिक्रमापछि धम्बोझी चोकमा पुगेर सभामा परिणत हुने बताइएको छ ।
उक्त सभालाई नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिना र अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलन कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तिमिल्सिनाले किसानहरूले भोग्नु परेका समस्याको निराकरणका लागि आन्दोलनको कार्यक्रम अन्तर्गत १०बुँदे माग अघि सारिएको जानकारी दिए ।
उनले मुख्य मागहरूमा किसानका लागि हुने बीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, बीउको सरल र सहज उप्लब्धता, दुध किसानको रकम भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत व्यवस्थालगायत रहेका उनले जानकारी दिए । अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव आरती पौडेलले किसानको प्रदर्शन रहर नभई बाध्यता भएको बताइन् ।









प्रतिक्रिया दिनुहोस्