पर्यटन प्रवद्र्धन गर्न अनुपम बस्ती विकास गरिँदै



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो । अघिल्ला आर्थिक वर्षहरूबाट नै उक्त बस्ती विकासको काम थालिएको थियो । चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो । शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकासको काम थालिएको छ । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशकै गौरवको रूपमा रहेको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको कर्णालीका पर्यटन मन्त्री सुरेश अधिकारीले बताए ।

उनका अनुसार शे–फोक्सुन्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । ताल किनारमा रहेको रिंग्मो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न लागिएको उनले बताए । ‘पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ । तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो’ उनले भने, ‘हाल शे–फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन् ।

तालको किनाराको बस्ती विकास भएपछि पर्यटकलाई खान बस्न सहज हुने अपेक्षा छ ।’ यस्तै कर्णाली सरकारले हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा पनि मानसरोवर प्रवेशद्वार नमूना एकीकृत पूर्वाधार निर्माण गर्न लागेको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो ।

रिंग्मो बस्ती निर्माण र मानसरोवर प्रवेशद्वारका लागि पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । यो वर्ष दुईवटा पूर्वाधार निर्माणका लागि ३४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मानसरोवर प्रवेशद्वारको पूर्वाधार निर्माण सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । केही वर्षअघि नै पूर्वाधार निर्माणको काम अघि बढेको हो ।

उक्त बजेटले दश किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालयको भवन निर्माण, खार्पुनाथमा रहेको शिवमन्दिरको समेत स्तरोन्नति गरिने उल्लेख छ । कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको हो । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको लक्ष्य लिइएको छ । त्यसैले पनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष धेरै कार्यक्रम राखेको छ ।

जिल्लाबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रदेश सरकारले पर्यटन नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढेको छ । पर्यटकीय स्थलको पहिचानदेखि पूर्वाधार निर्माणसम्मका योजना प्रदेश सरकारले राखेको छ । चालू आर्थिक वर्षमा नयाँ पर्यटकीय स्थानको पहिचान गर्ने र पहिचान भएका पर्यटकीय स्थलको संरक्षण गर्ने लक्ष्य प्रदेश सरकारको छ । केही स्थानमा पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

पर्यटन प्रवद्र्धन र विकासमा जोड

कर्णालीको पर्यटन प्रवद्र्धनका लागि दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटकीय सेवाको विकासमा जोड दिइएको छ । ‘संसारको गन्तव्य नेपाल ः नेपालको गन्तव्य कर्णाली’ भन्ने सोचलाई साकार पार्न पर्यटन प्रवद्र्धनमा जोड दिइएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।
उनकाअनुसार पर्यटक सङ्ख्या, बसाइ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छन् ।

उनले भने, ‘सरकारी तथा निजी क्षेत्रको अगुवाईँमा प्रदेशभित्र बन्जीजम्प, ¥याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, अफरोड कार ¥याली, अफरोड वाइक रेस जस्ता साहसिक खेल तथा हनी हन्टिङ्ग, हाइकिङ्ग, ट्रेकिङ्ग, खेलकुद तथा आरोग्य पर्यटन लगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पु¥याउन राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरिनेछ ।’

नेपालकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेका मुगुको रारा ताल, सुर्खेतको काँक्रेबिहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रूकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयनका लागि २१ करोड रकम विनियोजन गरिएको छ । पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गरिने कर्णाली सरकारले जनाएको छ ।

पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवा लगायतका विषयमा जानकारी प्रदान गर्न गन्तव्य कर्णाली एप निर्माण गरी सञ्चालनमा ल्याउने तयरी छ । प्रदेशभित्रको हवाई सेवालाई नियमित, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्रका विमानस्थलमा नियमित उडान गर्ने हवाई सेवा प्रदायकलाई आवश्यक सहयोग र सहुलियतको व्यवस्था मिलाएको छ । कर्णाली प्रदेशमा रहेका प्रमुख पर्यटन सम्पदाको बारेमा जानकारीमूलक पर्यटक गाइड बुक तयार गर्ने योजना छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार