प्रचण्ड खत्री । रूकुम पश्चिम ।
दुर्गममा पुगेको यातायातको पहुँचलाई हेर्ने हो भने रूकुम जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सल्यान–रूकुम–मुसिकोट सडकखण्ड द्वन्द्वकालमै सुरु भएको थियो । २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा पहिलोपटक गाडी पुग्यो । तत्कालीन शाही नेपाली सेनाद्वारा केन्द्रीय सरकारको बजेटबाट खनिएको यो सडक २२ वर्ष पुरानो भयो । तर अहिलेसम्म जिल्लाको सदरमुकाममा व्यवस्थित बसपार्क छैन् ।
राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दुई ठूला राजमार्ग यही सदरमुकाम मुसिकोटसँगै जोडिएका छन् । तर यातायातका साधनलाई पार्किङ गर्ने ठाउँ भने छैन् । रूकुम पश्चिमको सदरमुकामसमेत रहेको मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदलयात्री र सर्वसाधारणको आवतजावतमा समस्या देखिन थालेको छ भने अर्कोतिर सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडक छेउमै पार्किङ गरिएका सवारीसाधनका कारण सडक साँघुरो बन्नु र पैदलयात्रुको बढ्दो चापले दिनहुँ दुर्घटनाको जोखिम निम्त्याएको छ ।
मुसिकोट नगरपालिकाले पार्किङलाई व्यवस्थित बनाउन नसक्दा पैदल यात्रुलाई समेत सास्ती पर्दै आएको छ । निजी, सार्वजनिक तथा सानाठूला सवारीसाधनको व्यवस्थापनका लागि जिल्ला सदरमुकाममा बसपार्क नहुँदा सडक छेउको पार्किङले बजार क्षेत्र कुरुप बनाउनुका साथै सर्वसाधारणहरूमा समस्या बढाएको छ ।
बसपार्क नहुँदा जिप तथा बस सञ्चालकहरूले मुसिकोटको पातुखोला, मठ र सल्लेको सडक छेउमा व्यक्तिको जमिनमा भाडा तिरेर पार्किङ गरिरहेको बताउँछन् । स्थानीय सरकारले चासो नदिँदा यातायात व्यवसायीहरू समेत सुरक्षित र व्यवस्थित पार्किङबाट बञ्चित भएका छन् । आजभन्दा ५ वर्ष पहिले ५२ करोड १२ लाख लागतमा व्यवस्थित भवनसहितको बसपार्क निर्माण गर्ने गरी डीपीआर गरिएको थियो ।
तर हालसम्म बसपार्क निर्माण भएको छैन् ।
एक सवारीचालक भन्छन्, ‘बसपार्क नहुँदा समस्या भएको छ । सडकको छेउमा खाली रहेको जमिनमा पार्किङ गर्नुपर्छ । त्यहाँ पार्किङ गर्दा न सुरक्षित छ, न त निःशुल्क नै, तर पनि बाध्यता छ । नगरपालिकाले सल्लेमा पार्किङ गर्न भनेको छ । तर त्यहाँ झन् असुरक्षित छ । खुला ठाउँ मात्रै भएर हुँदैन । गाडी पार्किङ गरिएको क्षेत्र कति सुरक्षित छ ? भन्ने कुराले महत्व राख्दछ ।’









प्रतिक्रिया दिनुहोस्