नेपालगन्जमा दौडिए ५० वर्षमाथिका महिला



नेपालगन्ज ।

नेपालगन्जमा शनिबार ५० वर्षमाथिका महिलाहरूको दौड आयोजना गरियो । नेपालगन्जबाट प्रकाशित हुँदै आएको पत्रिका दैनिक नेपालगन्जको २९औँ वर्ष प्रवेशको अवसरमा दौडिन्छन् हजुरआमा (द गोल्डेन ग्राण्ड मा) कार्यक्रममा भएको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम भइन् भने नन्दमाया वली दोस्रो र रेवती सिंह तेस्रो भइन् ।

विपीचोकबाट सुरु भएको दौड धम्बोझी चोकमा पुगेर समापन भएको थियो । दौड समापन कार्यक्रममा दौड पूरा गर्नेहरू प्रथम, द्वितीय, तृतीयलाई साइकल उपहार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयले खेलको माध्यमबाट घरमै रहेका आमाहरूलाई सक्रिय बनाउन सकिने अनुभूति गरेको बताएका थिए ।

यसैगरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले कर्णालीका लागि बाँके, बर्दिया र बाँके, बर्दियाका लागि कर्णाली आवश्यक भएको बताएका थिए । दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले स्वास्थ्यका लागि शारीरिक सक्रियताको आवश्यकताबारे सेचनता जागृत गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार