
नेपालगन्ज ।
होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । होटल व्यवसायी संघ बाँकेको २०औँ साधारणसभा तथा ११औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै होटल व्यवसायीहरूले राज्यले व्यवसायीहरूको अभिभावकको रूपमा व्यवहार गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै उनीहरूले भारतीय पर्यटक नै बाँकेका होटल व्यवसायका लागि मूख्य आधार रहेको बताए ।
तर, पर्यटकहरूलाई प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेको बताए । कार्यक्रममा सांगठनिक प्रतिवेदन पेश गर्नेक्रममा संघका महासचिव प्रेमबहादुर शाहले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताउँदै अब पर्यटकहरूको बसाइँलाई लम्ब्याउने उपायतिर सरकारीस्तरबाट पनि पहल हुनु जरुरी रहेको बताए । होटल एसोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको बताए ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्काको सभापतित्व र नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मीराज शाहीले आर्थिक प्रतिवेदन पनि पेश गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख विष्टले स्थानीय सरकार प्रमुखको रूपमा होटल व्यवसायको विकासका लागि सहयोगी नीति निर्माणका लागि पहल गर्ने बताए ।
साथै, उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकहरूलाई आकर्षण गर्ने योजना मुताबिक काम गरिरहेको पनि उल्लेख गरे । यसैबीच संघको अधिवेशनका लागि शनिबार अबेरसम्म पनि निर्वाचन प्रक्रिया सुरु भएको थिएन । संघका पूर्वअध्यक्ष भिमलाल कँडेलले सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको र सहमति नभए निर्वाचनमा जाने बताए ।









प्रतिक्रिया दिनुहोस्