ई–रिक्सा व्यवस्थापनका लागि मन्त्रीलाई ज्ञापनपत्र



नेपालगन्ज ।

नेपालगन्जका ई–रिक्सा व्यवसायीहरूले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । ई–रिक्सा व्यवस्थापनका लागि संघर्ष समिति नामक समूहमा आबद्ध ई–रिक्सा व्यवसायीहरूले मन्त्री न्यौपानेलाई नेपालगन्जमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

समितिका तर्फबाट रियाज अहमद शेषले ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालक र व्यवसायीहरूलाई दुःख दिने काम मात्रै गरेको तर व्यवस्थापनको काम नगरेको बताए । उनले कहिले अवैध रिक्साका नाममा रिक्सा तोडफोड गरेर त कहिले अवैध भएको भन्दै दुःख दिइरहेको बताए । उनले अब ज्ञापनपत्रमा ई–रिक्साको सबै दर्ता प्रक्रिया स्थानीय तहमै गर्ने व्यवस्था मिलाउन र लाइसेन्समा लिखित परीक्षा दिन नपर्ने व्यवस्था गर्न माग गरे ।

ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेले मन्त्रालय पनि ई–रिक्साको व्यवस्थापन हुन नसकेको चिन्तित रहेको बताए । उनले तीनपांग्रे सवारीसाधनको व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकोले स्थानीय तहले बलियो कार्यविधि बनाएर व्यवस्थापन गर्नुपर्ने बताए । मन्त्री न्यौपानेले बुटवल लगायतका केही स्थानीय तहले ई–रिक्साको व्यवस्थापन गर्न सकेको बताउँदै नेपालगन्जमा देखिएका समस्या समाधानका विषयमा उपमहानगरको नेतृत्वसँग छलफल गरेर निकास निकालिने आश्वासन दिएका छन् ।

नेपालगन्जमा अहिले १२ हजार बढी ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिन्छ । तर उपमहानगरमा चार हजार ६ सय वटा ई–रिक्सा मात्रै सूचीकृत भएका छन् । उपमहानगरले स्पष्ट कार्यविधि बनाउन नसक्दा र कार्यान्वयनमा ढंग नपु¥याउँँदा नेपालगन्जको ई–रिक्सा व्यवस्थापन भयावह अवस्थामा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार