वन मन्त्रालयबाट भएको निर्णय सार्वजनिक भएपछि बर्दियावासीहरूले कृष्णसार सार्न नहुने बताइरहेका छन् भने संरक्षणकर्मीहरूले केही कृष्णसारहरू सार्नु संरक्षणका दृष्टिले उपयुक्त नै हुने बताइरहेका छन् । यस निर्णयको विरोध गरिरहेकाहरूले भने कृष्णसारहरू बर्दियाको पहिचानको रूपमा स्थापित भइसकेकोले सार्न नहुने बताइरहेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट कृष्णसारहरू स्थानान्तरण गर्ने विषय बाहिर आएपछि विवाद भएको छ । वन तथा वातावरण मन्त्रालयबाट उक्त निर्णय भएको सार्वजनिक भएपछि बर्दियावासीहरूले कृष्णसार सार्न नहुने बताइरहेका छन् भने संरक्षणकर्मीहरूले केही कृष्णसारहरू सार्नु संरक्षणका दृष्टिले उपयुक्त नै हुने बताइरहेका छन् ।
यस निर्णयको विरोध गरिरहेकाहरूले भने कृष्णसारहरू बर्दियाको पहिचानको रूपमा स्थापित भइसकेकोले सार्न नहुने बताइरहेका छन् । कृष्णसार संरक्षण क्षेत्रका अधिकारीहरू, बर्दियाबाट निर्वाचित सांसद र संघीय वन तथा वातावरणमन्त्री गिता चौधरीले भने यस विषयमा भ्रम फैलिएको बताएका छन् । कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका सूचना अधिकारी रेन्जर रामु केसीका अनुसार वन्यजन्तुको आवश्यकताअनुुसार स्थानान्तरणको विषय कानुन तथा कार्यविधिमै उल्लेख भएको विषय हो ।
त्यसैको परिधिमा रहेर अहिले स्थानान्तरणको लागि सरकारले निर्णय गरेको भन्ने जानकारीका आधारमा अनावश्यक भ्रम फैलाइएको उनले बताए । यसअघि पनि आवश्यकताअनुसार कृष्णसारहरू स्थानान्तर भएका उनको भनाइ छ । बर्दियाबाट कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएका २१ वटासहित अन्य ठाउँबाट ल्याइएका केही सङ्ख्याका कृष्णसारहरूको सङ्ख्या बढेर अहिले बढेर अहिले त्यहाँ तीन सय ११ भन्दा बढी पुगिसकेको केसीले बताए ।
उनले कृष्णसार स्थानान्तरण गर्न र संरक्षणका लागि क्षेत्र तोकेर केही वर्षअघि नै चितवनको एक स्थानीय तहले तयारी गरेको जानकारी पाएको बताए । तर, कार्यालयले अहिलेसम्म स्थानान्तरण गर्ने विषयमा आधिकारिक निर्णय वा पत्र प्राप्त नगरेको उनको भनाइ छ । सूचना अधिकारी केसीले कृष्णसार स्थानान्तरण गर्दा त्यसले संरक्षणलाई फाइदा नै गर्ने बताए ।
उनका अनुसार एकै ठाउँ मात्रै सीमित गर्दा वंशाणुगत विकास हुन नपाउने र कालान्तरमा वातावरणसँग अनुकूलित हुन नसकेर लोप हुने खतरा हुने केसीको भनाइ छ । त्यसका लागि अर्काे ठाउँमा रहेका प्रजातिसँग घुलमिल गराएर वर्णशंकर बनाउन सकिएमा त्यसले दिगो संरक्षण हुने उनले बताए । अहिलेसम्म त्यस्तो हुन नसके पनि एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तरण गर्दा फरक वातावरणमा पनि हुर्किन सक्ने गुण विकास हुने उनले बताए ।
यसका साथै कुनै महामारीका कारण एकैपटक सबै मारिएर लोप हुनसक्ने जोखिम हुने भएकोले पनि फरक फरक वासस्थानमा लगेर संरक्षण गर्नु जरुरी हुने उनले बताए । बर्दिया १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूले पनि सामाजिक सञ्जालमा कृष्णसार संरक्षण क्षेत्र र त्यसको कार्यालय नै चितवनमा सार्ने भनेर भ्रम फैलाइएपछि उक्त कुरा हल्ला मात्रै भएको बताएका छन् ।
उनले बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत र वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूसँगको छलफलमा सुदूरपश्चिमको शुक्लाफाँटा र गुलरियाबाट केही सङ्ख्यामा कृष्णसार चितवन स्थानान्तरण गर्ने दुईतीन वर्षअघि कै योजना रहेको जानकारी पाइएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘एक दुई वटा कृष्णसार संरक्षणका लागि स्थानान्तरण हुन सक्ला तर बर्दियाको कृष्णसारको परियोजना चितवन जाने हल्लाको पछि नलागौँ ।’
थारूको फेसबुक स्टाटसमुनि मन्त्री चौधरीले पनि कमेन्ट गर्दै बढी भएका कृष्णसार मात्रै सार्न लागिएको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरेकी छन् । बर्दिया २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीधर पोखरेलले पनि सामाजिक सञ्जालमा कृष्णसार स्थानान्तरणसम्बन्धी बुझाइमा अस्पष्टता देखिएको भन्दै केही कृष्णसार चितवनमा बीउको रूपमा लैजाने पुरानै योजना रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘यस्ता जीवजन्तुहरू एकै ठाउँमा मात्रै भयो भने कहिलेकाहीँ महामारी र दैविक प्रकोपबाट सबै लोप हुने डर हुन्छ । त्यसैले बीउको रूपमा चितवनमा लैजाने विषय सकारात्मक हो । स्मरण रहोस्, बर्दियामा गैँडा चितवनबाट स्थानान्तरण गरिएको थियो ।’
कृष्णसार संरक्षणको इतिहास
कुनैबेला राप्ती नदीपूर्वको क्षेत्रमा कृष्णसारको सङ्ख्या धेरै थियो । तर कृष्णसारको वासस्थानमा मानवीय अतिक्रमणले सङ्ख्या घटेर लोप हुने अवस्थामा पुग्यो । २०३२ सालमा बर्दियाका राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कृष्णमान श्रेष्ठसहितको टोलीले कृष्णसारको खोजी गर्दा गुलरियास्थित नदी तटीय क्षेत्रमा नौ वटा कृष्णसार फेला परेका थिए ।
त्यसपछि जिल्ला वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जले कृष्णसार संरक्षणको काम गर्दै आएका थिए । पछि आएर सोही क्षेत्रमा व्यक्तिको जग्गा अतिक्रमण गरेर संरक्षण २०६५ सालमा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०३२ सालतिर नौ वटाको सङ्ख्यामा रहेका कृष्णसारको सङ्ख्या अहिले दुई सय ४८ पुगेको छ ।
विश्वभरी चार प्रजातिका कृष्णसारहरू छन् । भारतको तमिलनाडु, भारतकै भूमध्य क्षेत्र, भारतकै राजस्थान र पाकिस्तान तथा नेपाल र भारतको उत्तरप्रदेशमा पाइने गरी चार प्रजातिका कृष्णसार रहेका छन् ।
जोगाउन हम्मेहम्मे छ कृष्णसार
विश्वभर करिब ५० हजार हाराहारीमा रहेको कृष्णसार अहिले यो वन्यजन्तुको प्राकृतिक वासस्थान अब भारत, नेपाल र पाकिस्तानमा मात्र रहेको छ । नेपालमा पाइने एन्टीलोप सर्भी काप्रा प्रजातिको कृष्णसारलाई पनि जोगाउन हम्मेहम्मे परिरहेको छ । २०७१ सालअघि कृष्णसारको सङ्ख्या झण्डै ३ सयसम्म पुगेकोमा बाढीका कारण करिब एक सय कृष्णसार बगेर बेपत्ता भएका थिए ।
खैरापुर गाउँ आसपासमा यादव लगायतका समुदायहरू शाकाहारी रहेका र स्थानीयले कृष्णसारलाई भगवानको वाहनका रूपमा पनि मान्ने गरेकाले कारण संरक्षणमा टेवा पुगिरहे पनि भुस्याहा कुकुर, चितुवाको आक्रमण तथा वासस्थान विनाशका कारण कृष्णसार जोगाउन मुस्किल भइरहेको रेन्जर रामु केसी बताउँछन् ।
समथर घाँसेमैदान, खुला क्षेत्र भएको ठाउँमा बस्न रुचाउने कृष्णसारले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ । सामान्यतयाः कृष्णसारको औसत आयु १२ वर्ष हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा कृष्णसारलाई नेपालको संरक्षित वन्यजन्तुमा सूचीकृत गरिएको छ । उक्त ऐनले कृष्णसार मार्ने वा कुनै पनि अंग ओसारपसार गर्ने, व्यापार गर्ने र घरमा राख्ने जस्ता कार्यमा संलग्न हुने व्यक्तिलाई ४० देखि ७५ हजार रूपैयाँँ जरिवाना वा दुईदेखि १० वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।









प्रतिक्रिया दिनुहोस्