कोहलपुर (बाँके) ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद जयन्ती आज नेपालसहित विश्वभर मनाइँदैछ । नेपालभर रहेका मुस्लिम समुदायले मोहम्मद जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मोहम्मद डेलाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । बाँकेमा समेत मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ । मोहम्मद–डेका अवसरमा बाँकेका केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । उक्त पर्वका अवसरमा मुस्लिम समुदायले ¥याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।
नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने धार्मिक अगुवा बताउँछन् । मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन् । उनको पूरा नाम हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लाम हो ।
आज शुक्रबार मनाइने मोहम्मद ‘डे’का अवसरमा जिल्लाका आठमध्ये पाँच स्थानीय तहले बिदा दिएका हुन् । बिदा दिनेमा नरैनापुर, खजुरा, जानकी, बैजनाथ र डुडुवा गाउँपालिका रहेका रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रका विद्यालयहरूमा मात्रै बिदा दिएको हो । जिल्लाको बैजनाथ गाउँपालिकाले जारी गरेको सूचनामा गाउँपालिकामा मोहम्मद डे अवसरमा बिदा दिइएको उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार मोहम्मद डेका अवसरमा गाउँपालिकामा बिदा दिइएको हो । बिदा दिइएपनि गाउँपालिकाका अत्यावश्यक सेवा भने सुचारु हुने उनले बताए । सूचनामा भनिएको छ, ‘मोहम्मद डेको अवसरमा गाउँपालिकामा बिदा दिइएको छ । अत्यावश्यक सेवाबाहेक कार्यालयअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था एकदिनको लागि बिदा रहनेछन् ।’









प्रतिक्रिया दिनुहोस्