कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा पनि नहुने सम्भावना बढेको हो । विगतमा बारम्बार मिति तोक्ने र सार्ने गरिएको नेपालकै सबैभन्दा ठूलोे प्रतियोगिताको आगामी मंसिरमा उद्घाटन गर्ने भनिएपनि हालसम्म मिति नतोकेका कारण खेलकुद हुने, नहुने कुनै अत्तोपत्तो छैन ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस
नन्दराम जैशी । सुर्खेत ।
आगामी मंसिरमा पनि १०औँ राष्ट्रिय खेलकुद नहुने देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा पनि नहुने सम्भावना बढेको हो । विगतमा बारम्बार मिति तोक्ने र सार्ने गरिएको नेपालकै सबैभन्दा ठूलोे प्रतियोगिताको आगामी मंसिरमा उद्घाटन गर्ने भनिएपनि हालसम्म मिति नतोकेका कारण खेलकुद हुने, नहुने कुनै अत्तोपत्तो छैन । यसबारे खेलाडीहरू समेत सशंकित बन्न थालेका छन् ।
हालसम्म चारपटक प्रतियोगिताको मिति परिवर्तन भइसकेको छ । तर उक्त प्रतियोगितालाई मंसिरमा ‘जसरी’ पनि आयोजना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री र राखेपलाई बारम्बार निर्देशन दिएपनि हालसम्म राखेपले कुनै निर्णय गर्न सकेको छैन । प्रधानमन्त्रीले निर्देशन दिँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र अन्य जिम्मेवार खेल पदाधिकारीहरू पनि सँगै थिए । तर निर्णय कार्यान्वयनबारे अत्तोपत्तो छैन ।
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औँ संस्करण आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो । राखेपको ११५औँ बोर्ड बैठकले १०औँ संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्नेगरी मितिसमेत तोकेको थियो । तर अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८औँ बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्नेगरी मिति परिवर्तन गरेको थियो । तर दोस्रोपटक तय गरिएको मितिमा पनि १०औँ खेलकुद आयोजना हुन सकेन ।
त्यसपछि राखेपको १२१औँ बोर्ड बैठकले प्रतियोगिता आयोजनाका लागि अर्को मिति तोक्यो । २०८१ फागुन १५ गते बसेको राखेप बोर्ड बैठकले तेस्रोपटक मिति परिवर्तन गरेर १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय ग¥यो । तर फेरि चैत २९ गते बसेको राखेपको १२२औँ बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निष्कर्ष निकाल्यो । उक्त बोर्ड बैठकले प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय त ग¥यो तर नयाँ मिति भने घोषणा गरेन । त्यसपछि राष्ट्रिय खेलकुदलाई लिएर झनै अन्योल बढेको छ ।आगामी मंसिरमा सदस्यसचिव घिसिङको कार्यकाल सकिँदैछ । उनी नेकपा माओवादी सरकारमा हुँदा सदस्यसचिव बनेका थिए ।
अहिले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवसहित अधिकांश पद पनि रिक्त छन् । गत २०८१ पुस ६ गते सदस्यसचिव विश्वामित्र सञ्ज्यालको पदावधि समाप्त भएको थियो । उनी पनि नेकपा माओवादी सरकारमा हुँदा सदस्यसचिव बनेका थिए । उपाध्यक्ष प्रमोद हमालको कार्यकाल पनि सञ्ज्यालसँगै सकिएको थियो । हाल नयाँ सदस्यसचिव नियुक्तिमा काँग्रेस–एमालेको रस्साकस्सी चलिरहेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्यसचिव विश्वामित्र सञ्ज्याल अहिलेकै अवस्थामा मंसिरमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् । प्रतियोगिताको तयारीका लागि समय अपर्याप्त रहेको उनको दाबी छ ।
‘राज्य नै लागेपछि कुनै कुरा असम्भव हुँदैन । त्यसको लागि पनि तत्काल तयारी अगाडि बढाउनु आवश्यक छ,’ उनले भने, ‘राखेप बोर्डको बैठकसम्म बस्न सकेको छैन । लामो समयदेखि कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारी नियुक्त हुन सकेको छैन । सत्तारूढ दलहरूबीच भागबन्डा नै मिल्न सकेको छैन रे । ठूलो चाडबाड नजिकिँदा झन् अब कसरी १०औँ खेलकुद हुन्छ ?’ सञ्ज्यालका अनुसार प्रतियोगिताअघि अपनाउनु पर्ने प्रक्रिया पनि निकै लामो छ । प्रतियोगिताको निर्णय भएपछि पनि खरिद प्रक्रियाका लागि कम्तीमा ८० दिन समय चाहिन्छ । असोज र कात्तिकमा चाडपर्व पनि पर्छ । त्यसमाथि सदस्यसचिवको पदावधि पनि सकिँदैछ । मंसिरमा नै नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुँदैछ । दर्शकदेखि खेलाडी सबै उतै आकर्षित हुन्छन् । यस्तो अवस्थामा पनि १०औँ खेलकुद हुने सम्भावना निकै कम छ ।
यता १०औँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको कर्णाली रंगशाला पनि हालसम्म सरकारलाई हस्तान्तरण गरिएको छैन । त्यसका लागि पनि कम्तीमा तीन महिना समय लाग्छ । ठेकेदारको नौ करोड रूपैयाँँ दिन बाँकी रहेको छ । त्यो कसले तिर्ने ? पैसा तिरेपछि पनि करिब तीन महिना समय रंगशाला हस्तान्तरणका लागि लाग्ने उल्लेख छ । यी सबै कुरालाई ध्यानमा राख्दा मंसिरमा प्रतियोगिता सम्भव नरहेको पूर्वसदस्यसचिव सञ्ज्याल बताउँछन् ।
पछिल्लोपटक सचिवालय स्थापना, लोगो र मस्कट सार्वजनिक तथा उपसमितिसमेत गठन भइसकेको अवस्थामा राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरिएको थियो । राखेपको १२२औँ बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री आफैँले गत जेठमा १०औँ खेलकुद आयोजना हुन नसक्ने प्रस्ताव राखेका थिए । अर्थ मन्त्रालयद्वारा कटौती गरिएको बजेटलाई यसको प्रमुख कारणका रूपमा अघि सारिएको थियो ।
सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेटमा १०औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड रूपैयाँँ बजेट विनियोजन गरेको थियो । तर पछि आएर अर्थ मन्त्रालयले त्यसमा २५ प्रतिशत रकम कटौती गर्ने भनेपछि मन्त्री चौधरीले १०औँ खेलकुद आयोजनाका लागि रकम अभाव हुने बताउँदै आएका थिए । प्रतियोगिता स्थगित गरिनुको प्रमुख कारणका रूपमा त्यसलाई नै अघि सारिएको थियो । प्रतियोगिता निरन्तर सर्दै जाँदा खेलाडीहरू र खेल प्रशिक्षकको मनोवल कमजोर भएको छ ।









प्रतिक्रिया दिनुहोस्