खटप्वालबाट नियाल्दा



प्रभात सुवेदी

विषयप्रवेशः
नेपाली साहित्यको उन्नयनमा बाँके जिल्ला निकै अगाडि देखिएको छ । खासगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, वागेश्वरी क्याम्पस कोहलपुर लगायत अन्य धेरै सामुदायिक तथा संस्थागत शैक्षिक स्थलहरूका कारणले गर्दा वौद्धिक वर्गहरूको पनि ठूलै जमात रहेको छ बाँके क्षेत्रमा । अझ भनौँ बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको हुनाले पनि स्रष्टाहरूको लागि यो क्षेत्र सिर्जनाका लागि उर्वर बनेको हो । यस क्षेत्रमा हुने हरेक साहित्यिक कार्यक्रमहरूमा भारतीय साहित्यकारहरूको नियमितजसो उपस्थिति पाइन्छ । यसबाट दोहोरो फाइदा हुने गरेको छ । पहिलो कुरा त साहित्यको माध्यमबाट छिमेकी देशसँगको सौहार्दता कायम भैरहेको छ भने अर्को कुरा विभिन्न साहित्यिक अनुभवहरूको आदाप्रदान गर्ने अवसर पनि जुटेको छ ।

बाँकेमा क्रियाशील विभिन्न साहित्यिक संस्थाहरूमध्येको एउटा संस्था हो, ‘हाम्रो पूणर््िामा साहित्य प्रतिष्ठान’ । यस संस्थाको कार्यालय कोहलपुर रहेको छ । डा. पुष्कर रिजालको अध्यक्षतामा रहेको यस संस्थाको संस्थापक अध्यक्ष महानन्द ढकाल हुन् । नेपाली भाषा, साहित्यको क्षेत्रमा ‘गजल ! लेखनबाट उदाएका ढकाल हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् । उनको साहित्य लेखनले विभिन्न मोड उपमोडहरू पार गर्दै विधागत रुपमा पछिल्लो समयमा उपन्यासकारका रुपमा देखापरेका छन् । तीन दशक लामो साधनापछि भर्खरै मात्र ‘हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान’ ले उनको समालोचना सङ्ग्रह ‘खटप्लालबाट नियाल्दा’ प्रकाशन गरेको छ । यस सङ्ग्रहमा लेखकले विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरेका समालोचकीय अवधारणाहरूलाई सङ्ग्रहित गरिएका छन् ।

‘खटप्लालबाट नियाल्दा’ समालोचना कृतिमा सङ्ग्रहित समालोचनाहरू मध्ये पहिलो समालोचना नेपाली समालोचनामा बाँके र यहाँको साहित्यका बारेमा परिचर्चा गरिएको छ भने दोस्रोमा लोक साहित्यमा बाँके, तेस्रो, चौथो र पाचौंमा क्रमशः आठौंसम्म बालसाहित्य र कोहलपुर, नेपाली लघुकथाको विगत, वर्तमान र बाँके, नेपाली गजलमा देखिएको विवाद र बाँके, त्यसैगरी छैठौं समालोचनाका रुपमा गजल साहित्यमा देखिएको तस्बिर रहेको छ । यस समालोचनामा बाँकेका सशक्त गजलकार कपिल अन्जानको गजलीय प्रवृत्तिलाई केलाउने प्रयास गरिएको छ । समालोचना कृतिको सातौं समालोचनाका रुपमा कवि तथा समालोचन हरिप्रसाद तिमिल्सिनाको ‘केही टिप्पणी केही समालोचना’ कृतिमाथि खटप्वालबाट नियाल्ने यत्न गरिएको छ भने आठौँ समालोचनाका रुपमा लोपोन्मुख चिडीमार जातिको नालीबेली केलाइएको छ र अन्तमा सन्दर्भसामग्रीहरु प्रस्तुत गर्दे यो कृतिलाई विराम दिइएको छ ।

मध्यम आकारमा रहेको यो कृतिमा १३९ पृष्टहरू रहेका छन् । मिसन प्रेस कोहलपुरबाट मुद्रण गरिएको यस कृतिको अर्थपूर्ण आवरण आयुष्मा ढकालले तयार गरेकी हुन् । ‘हाम्रो पूणर््िामा साहित्य प्रतिष्ठान कोहलपुर, बाँके’ का अध्यक्ष डा. पुष्कर रिजालद्वारा सम्पादित यस कृतिको मूल्य रु. २५०÷– रहेको छ । अध्यक्षको प्रकाशकीय र लेखकका केही कुराबाट आरम्भ गरिएको यो समालोचकीय कृति नेपाली समालोचनाको विगत र वर्तमान बुझ्न र यसको अध्ययनमा रुचि राख्ने जो कोहीका लागि पनि निकै उपयोगी सन्दर्भ सामग्रीको रुपमा लिन सकिन्छ । आधुनिक नेपाली समालोचनाको विगतदेखि वर्तमानसम्मको अवस्थालाई साँच्चिकै खटप्वालबाट नियालिएको छ । लेखकले भनेजस्तै अपेक्षित दूरी र गहिराई नभेटेपनि यसले विहङ्गमदृष्टि भने प्रदान गरेको छ । यो कृतिको अध्ययन गर्दै जाँदा लेखकमा गहिरो अध्ययन र परिपक्व लेखन शिल्प भेटिन्छ । यही खारिएको शिल्पको उपज नै यति सुन्दर कृति आम पाठकमाझ पस्किन सफल भएकोमा लेखकलाई बधाई छ ।

विषयगत विविधताः

‘खटप्लालबाट नियाल्दा’ समालोचनामा विभिन्न विषयगत समालोचनाहरू समेटिएका छन् । यस कृतिको पहिलो खण्डमा ‘नेपाली समालोचनामा बाँके र यहाँको समालोचना’ अन्तर्गत नेपाली समालोचनाको शुरुवातको क्रम भनेको मोतीराम भट्टले भानुभक्तलाई चिनउनका लागि लेखेको ‘भनुभक्तको जीवनचरित्र’ नामक कृतिबाट शुरु भएको पृष्ठभूमिबाट अगाडि बढ्दै गर्दा पछिल्लो समयमा विभिन्न सैद्धान्तिक पृष्ठभूमिबाट अगाडि बढेको कुरा लेखकले उल्लेख गरेका छन् । खासगरी नेपाली साहित्य विश्व जगतमा पुग्न नसक्नुका कारण नेपाली समालोचनामा देखिएको सुस्तता हो भन्दै लेखकले साहित्य लेखनमा स्तरीयता खोज्ने हो भने समालोचना लेखनलाई महत्त्व दिनुपर्नेमा जोड दिएका छन् । लेखकले बडो सजगताका साथमा आधिकारिक स्रोतहरू उल्लेख गरी बाँकेमा समालोचनाको समालोचनालाई बडो मिहिन ढङ्गले केलाउने प्रयास गरेका छन् ।

बाँके जिल्लाको साहित्य उर्दु, अवधि, हिन्दी भाषाको साहित्यबाट प्रभावित भएकोमा पछिल्लो समयमा अन्य भाषाका साहित्यकारहरूले पनि नेपाली भाषामा लेखन अभ्यास गरिरहेको सन्दर्भ उल्लेख गर्दै समालोचक ईश्वरीप्रसाद रिजालले लेखेको ‘बाँकेको समालोचना यात्रा’, (रिजाल, २०७९) अनुसार बाँकेको साहित्येतिहासको काल क्रम विभाजनलाई पाँच चरणमा विभाजन गरिएको उल्लेख गरिएको छ । अझ यसको सुन्दर पक्ष के छ भने प्रत्येक चरणको प्रतिनिधि सर्जकहरूको नाम र प्रकाशन सहितको विवरण उल्लेख भएको हुनाले बाँके जिल्लाको साहित्येतिहासलाई अगस्ट कोम्टेले भनेजस्तै मानवीय चेतन अङ्गहरुका माध्यमबाट कालक्रमिक अनुसार नै प्रस्तुत गरिएकोले यो कृतिलाई ऐतिहासिक साहित्यिक दस्तावेजका रुपमा लिन सकिन्छ ।

शीर्षकको सार्थकता ः

बाँके जिल्ला साहित्य सिर्जनामा उर्वर क्षेत्र हो भन्दा अतिशयोक्ति नहोला । यस क्षेत्रका सर्जकहरूले साहित्यका सबै विधाहरूमा कलम चलाएको पाइन्छ । जसको ज्वलन्त प्रमाण भनेकै महानन्द ढकालको समालोचकीय कृति ‘खटप्वालबाट नियाल्दा’ हो । प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार ‘खट’ भन्नाले ‘घर आदि बनाउँदा डकर्मीहरू बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड’ र ‘प्वाल’ भन्नाले ‘दुलो वा छिद्र’ भन्ने बुझिन्छ । यस अर्थलाई हेर्दा खटप्वालको मद्दतले कुनै पनि घरले जसरी उचाइ प्राप्त गर्छ र त्यसकै आधारमा थप तलाको निर्माण हुन्छ, ठिक त्यसैगरी ‘खटप्वालबाट नियाल्दा’ कृतिले बाँकेको साहित्यमा तला थप्ने काम गरेको मात्रै छैन कि ढलानपूर्व अपनाउनुपर्ने सावधानिका सन्दर्भमा पनि सर्जकहरूलाई एकपटक टक्क अडिएर गम्भीर भएर सोच्न वाध्य पार्दछ । अतः यस कृतिमा समाविष्ट गरिएका विधागत समालोचनाहरूले नै कृतिको शीर्षकलाई अझ बढी सार्थक बनाएको छ ।

कृतिमा समावेश गरिएका बाँकेको समग्र समालोचनाको धरातल, लोक साहित्य, बाल साहित्य, लघुकथा, गजल, कविता र अनुसन्धानात्मक आलेखलाई समेटिनुलाई कृतिकारले बाँकेको साहित्यलाई खटमा राखिएको प्वालबाट आवश्यक उचाइ तय गरेर मज्जाले नियालेको पाइन्छ । कवितादेखि लोकसाहित्यसम्म, गीतदेखि गजलको सोपान चढेर सानो प्वाल भएपनि आँखाको नानी घुमाइ घुमाइकन ठ्याक्कै रेटिनामा तस्बिर बनाउन सफल देखिन्छ । तसर्थ पनि यस कृतिको शीर्षकीकरणले सार्थकता पाएको छ । यसलाई बाँकेको साहित्यिक सिर्जनारुपी प्रकाश विच्छेदित हुँदा देखिएको सुन्दर ‘इन्द्रधनु’ को रुपमा लिन सकिन्छ ।

विषयवस्तुको गहिराइ ः

समालोचना साहित्यको एक विधा हो । यसका विविध प्रकारहरुमध्ये यस कृतिमा कृतिपरक÷सिर्जनापरक, व्याख्यात्मक र सैद्धान्तिक समालोचनाका धारहरू भेटिएका छन् । खासगरी केही लेखनमा विगतलाई केलाउने प्रयास गरिएको हुँदा कृतिले इतिहास केन्द्रित समालोचनाको सोपान समेत आरोहण गर्न भ्याएको छ । यसमा समावेश गरिएका अध्ययनमूलक आलेख सहित आठओटा समालोचनाहरू रहेका छन् । ‘नेपाली समालोचनामा बाँके र यहाँको समालोचना’ शीर्षकमा केन्द्रित रही लेखकले समालोचनाको पूर्वीय दर्शनका सैद्धान्तिक धारहरू सहित बाँकेमा समालोचनाको विगतदेखि वर्तमानसम्म केलाएका छन् । वि.सं.२०२८ सालपूर्वको अनुमान कालदेखि शुरु भएको बाँकेको समालोचनाको यात्राले डा.गोपालप्रसाद शर्मा अधिकारीको ‘भीमनिधि तिवारीको कवितामा व्यङग्य चेतना’ कृति नै पहिलो प्रकाशित कृति रहेको उल्लेख गरिएको छ ।

वि. सं. २०२८ सालमा शशाङ्ख शेखर चटर्जीबाट रोपेको समालोचनाको बिउ न त बढ्न सक्यो, न त मर्न सक्यो । टुसाउन त टुसायो तर जरा फाल्न नसकेको अवस्थामा वि.संं. २०५६ सालपछि भने जरा फैलिएर पात पनि पलाउन थालेको बिम्बात्मक शैलीमा लेखकले प्रस्तुत गरेका छन्। ‘खटप्लालबाट नियाल्दा’ समालोचना कृतिमा लेखक भन्छन् “समालोचना मस्तिष्कसँग जोडिएको हुन्छ । बौद्धिकतासँग जोडिएको हुन्छ । चेतना र दृष्टिकोणसँग जोडिएको हुन्छ । मन, भावना र हार्दिकतासँग जोडिएका विषयवस्तुलाई मस्तिष्क, बौद्धिकता, चेतना र दृष्टिकोण प्रयोग गरेर गुण र दोष केलाउनु समालोचना हो ।” (पेज, २४) कृतिको दोस्रो समालोचनाको विषय बाँकेको लोकसाहित्यमा केन्द्रित रहेको छ । लोक साहित्यको परिचय सहित विशेष गरी बाँके जिल्लामा रहेका विभिन्न जात जातिहरू र उनीहरूको लोक साहित्यमा आधारित भएर यो खण्डलाई अगाडि बढाइएको छ ।

यसमा लोकगीतका उदाहरणहरू सहित लोकगीतमा प्रयोग हुने उखानटुक्काहरूका बारेमा लेखकले उल्लेख गरेका छन् । समग्र नेपाली लोक साहित्यको दर्पणबाट अवधि, थारु, उर्दु भाषाका लोक साहित्यका बारेमा उदाहरण सहित उल्लेख गरिएको छ । यसैगरी बाँकेको बाल साहित्यको समग्र इतिहास र यसको समग्र विकासक्रमका बारेमा उद्देश्य, प्रयोगसहित चर्चा गरिनुका साथै वि.सं.२०३० सालमा प्रकाशित नन्दराम लम्सालको कृति मिठो कुरा बाँकेको बालसाहित्यको जगको रुपमा रहेको प्रसङ्ग यसमा समेटिएको छ । यसका साथै पछिल्लो समयमा बाँकेको कोहलपुर क्षेत्रबाट बालसाहित्यको क्षेत्रमा भएका विद्यालयबाट प्रकाशित भित्ते पत्रिकाहरू लगायत हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको साहित्यिक पत्रिका ‘पूर्णिमा’ मा बालसाहित्य प्रकाशन हुँदै आएको र यस क्षेत्रको बालसाहित्यको उन्नयमा उल्लेखनीय योगदान पु¥याउनुहुने स्रष्टाहरूको नाम उल्लेख गरिएको छ । यस कृतिको चौथो समालोचनामा नेपाली लघुकथाको विगत, वर्तमान र बाँके शीर्षकमा नेपाली लघुकथालाई काल विभाजनसहित बाँके जिल्लामा लघुकथा र यसको ऐतिहासिक पृष्ठभूमि सहित बाँके जिल्लाबाट लघुकथाको विधामा कलम चलाउनुहुने स्रष्टाहरूको योगदानका सन्दर्भ उल्लेख गरिएको छ ।

यो कृतिको निकै महत्वपूर्ण र रोचक पक्ष के हो भने बाँकेको गजल लेखनले हासिल गरेको उच्चतालाई समेट्दै गजलका सैद्धान्तिक आधारहरूलाई प्रस्तुत गर्दै गजल लेखनमा पछिल्लो समय देखा परेको विवादलाई, “तर्क गर्नु राम्रो तर तथ्य लुकाउनु राम्रो होइन” भन्दै समयानुकुल परिवर्तनमा विवाद गर्नु आवश्यक नरहेको कुरालाई तर्कपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । बाँकेको गजलकारितामा अलग पहिचान बनाएका गजलकार कपिल अन्जानको ‘तस्बिर’ र यसमा रहेको श्रृङ्गारिकता, देशप्रेम, समसामयिकता सहित उनका गजलमा प्रयोग गरिएको बिम्ब प्रतीक र अलङ्कारका बारेमा उनका केही गजलका सेरहरूसहित प्रस्तुत गरिएको छ । ‘हरिप्रसाद तिमिल्सिना र उनको केही टिप्पणी केही समालोचना’ समालोचनात्मक कृतिमाथि समालोचनामा पनि समालोचना गरेर लेखक महानन्द ढकालले यस कृतिमार्फत आफ्नो समालोचकीय शिल्पलाई निखार्न खोजेको देखिन्छ । पछिल्लो समय बाँके जिल्लामा रहेर प्राध्यापन पेसामा संलग्न रही भेरी साहित्य समाज लगायतका साहित्यिक तथा विभिन्न सामाजिक संघस्थाहरूमार्फत साहित्यिक तथा सामाजिक योगदान दिँदै आउनुभएका हरिप्रसाद तिमिल्सिनाले भर्खरै मात्र विद्यावारिधी उपाधि हासिल गर्नुभएको छ ।

तिमिल्सिना खरो समालोचक भएकोले उनकको कृतिको शीर्षकीकरणमा अलिक बठ्याईँ गर्दै ‘केही टिप्पणी केही समालोचना’ राखिएको ढकालको दाबी छ । सैद्धान्तिक, व्याकरणिक, कृतिपरक, खोज अनुसन्धानमूलक, स्रष्टापरक समालोचनाहरुका पाटाहरूलाई बडो मिहिन ढङ्गबाट केलाएको उल्लेख गरेका छन् । समालोचनामाथि नै समालोचना गर्नु चानचुने कुरा होइन त्यसैले यस समालोचनामा कहीँ कतै वि.सं. १९७४ मा श्यामजीप्रसाद अर्यालद्वारा सम्पादित ‘सुक्तिसिन्धु’ प्रकाशनको लामो समयावधिपछि अर्थात् वि.सं.२०१७ सालमा यदुनाथ खनाल र रामकृष्ण शर्माबिच भएको रस्साकस्सीको झझल्को आउँछ । यस कृतिमा भने कृतिकार ढकालले तिमिल्सिनाको समालोचनाप्रति बाँकेको गजल अध्ययनमा अलिक गहिराई नपुगेको भन्दै गर्नेका सय गल्ती, नगर्नेका एक गल्ती भनेजस्तै कृति आफैमा सुन्दर हुँदाहुँदै पनि कृति दोषमुक्त नभएको र बाँकेमा योगदान दिँदै आएका साहित्यिक संस्था तथा साहित्यकारहरूप्रति भने तिमिल्सिना अनुदार बनेको कुरा कृतिमाथि समालोचकीय धारणा व्यक्त गरेका छन् ।

कृतिको अन्त्यमा ‘लोपोन्मुख चिडीमार जाति’ शीर्षकमा अनुसन्धनात्मक आलेख प्रस्तुत गरिएको छ । जसमा बाँकेको कोहलपुर क्षेत्रमा चिडीमारहरूको बसोबास रहेको उल्लेख गर्दै अवधि भाषी उनीहरूको प्राचीन थलो भनेको भारतको बहराइच जिल्ला अन्तर्गत पर्ने नवावगन्ज र बाबागन्जबाट पाँच पुस्ता पहिले नेपालगन्ज आएको उनीहरूले चिडिमार पहिले आफ्नो ‘वहेलिया’ लेख्ने गरेको प्रसङ्ग उल्लेख गरिएको छ ।
हिन्दु धर्मको अनुसरण गर्ने चिडीमारहरूका संस्कार तथा चाडपर्वहरू पनि हिन्दु संस्कार अनुसार रहेको र उनीहरु खासगरी प्रकृतिको निकट रही हावा, पानी, आगो, शिला, माटो, वनजङ्गल, पर्वत लगायत विभिन्न जिव जनावर तथा पन्छीहरूको पूजा गर्दै आएको कुरा उल्लेख गरिएको छ । यसका साथै उनीहरूको समुदायमा रहेको सामाजिक व्यवस्था, न्यायिक प्रचलनदेखि जन्म, विवाह, मृत्यु लगायतका संस्कारमा रहेका प्रचलनहरूलाई समावेश गरिएको छ । समुदायको शैक्षिक अवस्था र प्रचनमा रहेका भाषा, कला र साहित्यमा खासै विकास हुन नसकेको र पछिल्लो समयमा यस जातिको आफ्नो मौलिक पहिचानको आधार हराउँदै गएको आपूmले जानको कला र सिपलाई परिस्कृत गर्दै आधुनिक प्रविधि र व्यवसायसँग नजोडिएकोमा लेखकले यस जातिको पहिचान हराउनेमा चिन्ता समेत व्यक्त गरेका छन् ।

निश्कर्षः

कुनै पनि कृतिमा लेखकले आफ्नो तर्फबाट सकेसम्म कमजोरी नहोस् भन्ने चाहना राख्नु स्वाभाविकै हो । कहिलेकाहीँ कृतिको लेखनपछि सम्पादन गर्ने क्रममा सम्पादकको नजर पर्न नसकेको अवस्थामा पनि केही वर्ण विन्यासमा समस्या रहन सक्दछन् । यसमा यो कृति ‘खटप्वालबाट नियाल्दा’ पनि अछुतो रहन सकेको छैन । कृतिमा लेखकले प्रसस्त मिहिनेत गरेको देखिन्छ तरपनि केही स्थानहरूमा उदाहरणहरू अझ थप गर्न पाएको भए उत्कृष्टताको एक ईंटा भएपनि थपिन्थ्यो । पेज नं. ११ मा ‘सकियो’ हुनुपर्नेमा ‘सकिथो’, पेज २७ मा ‘हाटबजार’ हुनुपर्नेमा ‘हात बजार’, पेज २८ मा ‘बज्जिका’ हुनुपर्नेमा ‘बन्जीका’, पेज ४५ मा ‘बालबालिकाहरू’ हुनुपर्नेमा ‘बालबालिकारहरू’ पेज ४५ मा ‘विद्वान’ हुनुपर्नेमा ‘विद्धान’, पेज ६० मा ‘मुर्छित’ हुनुपर्नेमा ‘मर्छित’, पेज ९० मा ‘किशोरावस्था’ हुनुपर्नेमा ‘किशोरा अवस्था’ भएको छ भने पेज ७८ मा ‘निर्मित नियम तथा सिद्धान्त ……’ यसपछिको भाग नै गायब भएको छ अर्थात् पुरा वाक्य नै छैन ।

अन्त्यमा, लेखकको लेखनयात्रा गजलबाट प्रारम्भ भएको हुनाले पनि हुन सक्छ यसमा साहित्यका अन्य विधाहरूभन्दा गजलका बारेमा अलि बढी नै चर्चा परिचर्चा भएको छ । बाँकेमा गजल लेखनको क्षेत्रमा अन्य स्रष्टाहरू हुँदाहुँदै पनि कपिल अन्जानको गजल सङ्ग्रह ‘तस्बिर’ का बारेमा मात्र चर्चा गरिएको छ । गजलमा शृङ्गारिकताका साथै देशप्रेमका भावमा अब्बल भएर पनि उनको यो कृति छनोटमा परेको हुन सक्छ । अन्य कृतिहरू समेट्न नसकिनुमा कृतिकारका आफ्नै सीमितताहरू पनि हुन सक्छन् । यति कुरा हुँदाहुँदै पनि समालोचनाका क्षेत्रमा अध्ययन गर्न चाहने जो कोही साहित्यानुरागीहरूका लागि यो कृति अध्ययनका लागि उपयुक्त रहेको छ । कृतिकार महानन्द ढकाललाई हार्दिक बधाईं सहित आगामी दिनमा अझ त्रुटिरहित स्तरीय कृतिहरू प्रकाशनको लागि हार्दिक शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार