कथाः गणतन्त्रको घाम



लीलाराज दाहाल

बिश्व नयाँ सहश्राब्दीमा प्रवेश गरिसकेको छ । म पनि छिप्पिएको जांडले मातिएको जंड्याहा झैं धर्खराउंदै नयाँ सहश्राब्दीमा प्रवेश गरिसकेको छु । मेरो नाम चेत बहादुर । जात दलित । पेशा ढुंगा फुटाउने ,भारी बोक्ने यस्तै । शिक्षा सात कक्षा पास । पढ्दा पढ्दै घर व्यवहारको जाँतोमा पिसिएर बिचैमा पढाई छोड्न बाध्य भएको एउटा बिबश नेपाली । मलाई यो देशले प्रदान गरेको मेरो परिचय , गणतान्त्रिक देशको सार्बभौमसत्ता सम्पन्न पिछडिएको तन्नम नेपाली रैती । एक दिन गाउँको चोकमा ठूला मान्छेहरु भेला भएका थिए । अबरुद्द यात्राका उद्देश्यहिन यात्री जस्तै देखिएका थिए उनीहरु । म पनि उनीहरुको नजिकै थिएँ । मान्छेहरु देख्नलाई साँच्चै ठूला थिएनन् । कोही पुड्का , कोही मझौला भए पनि उनीहरुलाई गाउँका सबैले ठूला मान्छे मान्छन् । अत म पनि उनीहरुलाई ठूलै मान्छे मान्दै आएको छु । यस्ता ठूला मान्छेहरु पहिला पनि हुन्थे ्र अहिले पनि छन् । यिनीहरुमा अन्तर केहि पनि छैन । उनीहरु गाउँका निमुखा , गरीब र असहायहरुलाई परिस्थितिको जालमा पारेर आफ्नो स्वार्थको भकारी भर्दथे । पहिले र अहिले उनीहरुका बिचमा के फरक थियो भने पहिलेका ठूला मान्छेहरुले म जस्ता साना , सोझा सिधा मान्छेहरुलाई नचपाईकन स्वात्तै निल्थे । अहिले भने चपाई चपाई निल्छन् । अँ , चपाई चपाई निल्नु प्रजातान्त्रिक तरिका हो भनेर उनीहरु दाबी गर्ने गर्छन् । उनीहरुको बिचारमा नचपाईकन निल्नु बढी खतरापूर्ण काम हो । यसरी उनीहरुको स्वार्थको शासन एकछत्र चलिरहेको थियो । त्यसो त गाउँको चोकमा भएको उक्त भेला बारे कसैलाई पत्तो थिएन । उनीहरु केही सिमित ठूला मान्छेहरुको बैठक थियो । उनीहरुले गणतान्त्रिक कार्य्विधि अपनाएका थिए ।

गणतन्त्रमा पनि केही सिमित ठुला मान्छेहरुले थाहा पाए पछि अरु सानातिना मान्छेहरुले थाहा पाइरहनु जरुरी पर्दैन भन्ने मान्यताको घोडामा सबार थिए उनीहरु । मैले चाहिं उनीहरु नजिकै पुगेर मौनताको पर्खाल भत्काएँ । मैले भेलाको जानकारी लिन अलि सानू किसिमको ठूलो मान्छेको सहायता लिएको थिएँ । म जस्तै चौथो पटकमा सात कक्षा उतिर्ण र उपबुज्रुकको दर्जामा पुग्न पुग्न आँटेको रामेले पनि सोधेको थियो, “ अँस्ति के को बैठक थियो हजुर ? ” रामेको अनि मेरो अनुहारमा जिज्ञासाको दियालो बलेको देखेर सानो किसिमको ठूलो मान्छे अलि पछि हटेको थियो तर ठूलो खालको ठूलो मान्छे पछि हटेन । हातमा सन्तुष्टिको छडी नचाउँदै ठूलो मान्छे अट्टहासका साथ हाँस्न थाल्यो । मनको सागरमा उठेको आनन्दको ज्वारभाटालाई शान्त बनाउँदै उसले भन्यो , “ अव फेरि हामीलाई तिमीहरुको आवश्यकता परेको छ । ” “ किन फेरि चुनाव आयो र हजुर ? ” रामेले एक कदम अगाडि बढेर ठूला मान्छे तिर होइन म तिर हेर्दै सोधेको थियो । “ तेसो होइन रामे , चुनाव सुनाव केही आएको छैन । कुरो साधारण छ । सबै कुरा बिस्तारै भनी हाल्छौं नि ! ” ठूलो मान्छेले आफ्नो पाईन्टमा लागेको धुलो झार्दै भन्यो र फेरि हाँसोको बिमान उडाउन थाल्यो । ठूलो मान्छे हाँस्न थालेको देखेर म पनि हाँस्न थालेको थिएँ । म हाँसेको देखेर भाव नबुझी रामे पनि हाँस्न थाल्यो । हामीहरुको हाँसोमा आकाश जमिनको फरक थियो । ठूलो मान्छेको बल्ल बल्ल नेतामा बढुवा भएको निष्क्रिय कार्यकर्ताको दम्भयुक्त हाँसो थियो अनि रामेको आफु भन्दा बुज्रुक हाँस्दा उसको आनन्दको लागि हाँसी दिने हजुरियाको जस्तो हाँसो थियो । रामे र मलाई बाध्यताको हुरीले उडाएर यस्तो अवस्थामा ल्याइ पुर्याएको थियो । ठूलो मान्छेको हाँसोको बाढी घटी सकेको थियो । उ त्यहाँबाट दलबल सहित गैसकेको थियो । मैले उ पर पुगुन्जेल हेरें । किन किन मैले यतिखेर ठूलो मान्छेको सानु व्यक्तित्व देखिरहेको थिएँ ।

अघिल्लो दिनको ठूला मान्छेहरुको बैठकको कुरा गाउँका सबैले बुझे । नबुझे पनि जवर्जस्ती बुझाइए । बाटोमा ढुंगा, गिट्टी ,बालुवा थुपारेर बाटो जिर्णोद्वार गर्नु थियो । त्यसो त बाटो ठिकै थियो । बाटोको कुनै खरावी , शिकायत थिएन । गाउँभरिका सवै घरधुरीलाई कडा उर्दी जारी भएको थियो । सबै मिलेर श्रमदान गर्नु थियो । प्रत्येक घरबाट एक एक जना मानिस अनिवार्य रुपमा उपस्थित हुनु पर्ने नियम ठूला मान्छेहरुले बनाएका थिए । गाउँका साना मान्छेहरु बस्ने पल्लो टोलमा बाटो पुगेको थिएन । पिउने पानीको समस्या समाधान भएको थिएन अर्थात् साना मानिस बस्ने टोलमा केही थिएन । अनि ठूला मान्छेको टोलमा सवै कुरा थियो । पानीका धारा थिए । बाटो थियो । स्कुल थियो अर्थात् ठूला मान्छे बस्ने टोलमा सबै कुरा थियो । कहिले काहीं ठूला मान्छेहरु ठट्टाको कुर्सीमा बसेर भन्ने गर्थे , “ विकासले विकास तान्छ । विकास भएकै ठाउँमा गर्नु पर्छ विकास । विकास नै नभएको ठाउँमा किन चाहियो विकास ? ” ठूला मान्छेहरुको बिचारमा साना मान्छेहरु बस्ने टोलमा विकास जरुरी थिएन । केन्द्रबाट आउने विकास बजेट ठूला मान्छेहरुको लागि मात्रै हो भन्ने भ्रमको महलमा उनीहरु हुर्कंदै आएका थिए । उनीहरुको कुरा सुनी सके पछि एउटा उपबुज्रुक करायो । उसले आक्रोशको तरवार चलाउँदै भन्यो , “ बाटो त ठिकै छ । के गर्नु पर्यो फेरि ? कति दिन दिनु श्रमदान पनि ? फेरि एउटा टोलमा सधैं हामीले नै खटिनु पर्ने ? आफ्नो गाउँमा खट्न पाए पनि एउटा कुरा !” अब भने मलाई पनि अलिअलि बल मिलेको थियो । पीडाको भारी विसाउंदै मैले पनि भनें , “ हामी जस्ता सम्पति नभएका गरिब जनताले सधैंभरि श्रमदान गरेर के खाने , के लाउने ? आफ्ना लालावालालाई के खुवाउने ? यही हो गणतन्त्र भनेको ? ”

त्यतिखेर म यस्तो जोडले बोलेंछु कि उनीहरुले त मलाई गरिब दुखीको नेतै पो सम्झेछन् । उनीहरुको मनको तलाउमा त्रासको लहर उर्लन थालेको थियो । हैकमको पर्खाल ढल्ने भयले उनीहरु आक्रान्त थिए । त्यसैले उनीहरु भित्र भित्रै बिभिन्न षड्यन्त्रका जाल बुन्न थालेका थिए । पछि उनीहरुले मलाई बोलाउन दुई जना लठैतहरु पठाएका थिए तर म उनीहरुले बोलाएको ठाउँमा गइन । त्यसको भोलिपल्ट देखि उनीहरुले मलाई धम्कीको लौराले प्रहार गर्न थालेका थिए । उनीहरुले रामेलाई पनि प्रलोभनको डोरीले बाँधेर आफ्नु समूहमा प्रवेश गराइसकेका थिए । रामले स्वार्थको डोको बोकेर मेरो साथ छोडेपछि म नितान्त एक्लो भएँ । अरु साना मान्छेहरुलाई सम्झाउनु सामान्य कुरा थिएन । उनीहरु मृत चेतनाको आदिम ओछ्यानमा मस्त निदाइ रहेका थिए । उनीहरुलाई सम्झाउनु भन्दा त पहाड फोडेर समतल बनाउनु सजिलो थियो । त्यसैले त यस गाउँमा सदियौं देखि ठूला मान्छेहरुले एकछत्र शासन गर्दै आएका थिए । मलाई अव ठूला मान्छेहरुले पटक पटक धम्क्याउन थालेका थिए । उनीहरुको समर्थनमा उभिएर दासताको झन्डा उचालेदेखि गाउँमा बस्न दिने उनीहरुले मलाई पठाएको धम्कीको संदेश थियो । दलालीको पंखा हम्कन्दै रामे ठूला मान्छेहरुको पछि लागेपछि उनीहरुको लागि बाँकी खतरा म मात्रै थिएँ । देश गणतन्त्रमय भएको निकै वर्ष भैसके पनि म जस्ताले अमनचैन पाउनु आकाशको फल जस्तै भैरहेको थियो । अझसम्म म जस्ता साना मान्छेहरु उनै ठूला मान्छेहरुको पैताला मुनि थियौं । जुनसुकै सरकार आए पनि उनीहरुको धन्दामा कुनै छेकवार थिएन । जुनसुकै पार्टी सत्तामा पुगे पनि गाउँमा खासै फरक थिएन । म जस्ताको जीवन पद्दति एकै थियो । म जस्ता मान्छेहरु बकाइदा सार्बभौमसत्ता सम्पन्न भएका छौं तर हाम्रा मौलिक हकहरु उनै ठूला मान्छेहरुको दया मायामा निहित छन् ।

त्यसो त चुनाव अघि केन्द्रका ठूला मान्छेहरु कुशल र सुनौला योजना लिएर गाउँघर सम्म आई पुग्थे । बिकासको फल सर्बप्रथम निम्न बर्गका जनतालाई खुवाउने कुरा गर्थे । बडा शिष्ट ,नम्र भएर भोट माग्थे । बेरोजगारी र गरिबी हटाएर समुन्नत समाज निर्माण गरी देश बिकाश गर्छौं भनेर कसम खान्थे अनि एकपटक हामीलाई सत्तामा पुर्याएर हेर्नोस भन्थे । अनि सबै जनतालाई आश्वासनको चेक बाँडेर ठूला मान्छेहरु चुनाव जिती राजधानी फर्कन्थे तर चुनाव पछि फेरि गाउँ जस्ताको तेस्तै रहन्थ्यो । अन्तत ठूला मान्छेहरुको गाउँको बाटो जिर्णोद्वार भयो । साना मान्छेहरु ज्यान माया मारेर श्रमदान गरी भोकको तापले बाफिएर घरतिर फर्के । अनि उही अभावको गाँस निलेर निद्राको अंगालोमा गुटमुटिएर उन्नत समाजको सपना देख्न थाले । पछि त ठूला मान्छेहरुले बाटो निर्माण गर्न पाँच सय जना कामदार लागेको कागज बनाए । भरपाई कागज अनुसार श्रमिकहरुले दैनिक सात सय रुपैंयाका दरले ज्याला पाए । बिचरा गाउँलेहरुले आफुले दिनको सात सय ज्याला पाएको थाहै पाएनन् । कागजी ब्यबहार थियो । भरपाईमा सहिछाप ठूला मान्छेहरुले नै गरिदिएका थिए । गाउँ पालिकाको यस बर्षको विकास बजेट पनि बाँकी रहेन । उनीहरु अर्को आर्थिक बर्षको बजेट खर्च तथा योजना तर्जुमा गर्न फेरि जुटिसकेका थिए । म भने आफु सार्बभौमसत्ता सम्पन्न भएको र गणतन्त्रको घाम लागेकोमा खुशीले गद्गद् भएको थिएँ । अनि मेरो गाउँमा रहेको अन्यायको झार उखेल्नका लागि गाउँलेहरुलाई उत्साहित बनाउंदै थिएँ । मैले गाउँलेहरुलाई जगाउन जागृतिको शंख जति बजाए पनि उनीहरु अझै ब्युंझी सकेका छैनन् । तैपनि मैले हार खाइसकेको छैन । एकदिन पक्कै साना मान्छेको झुपडीमा पनि खुशीको दियालो बल्नेछ । त्यो दिन अव धेरै टाढा छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार