लेकप्रसाद प्याकुरेल
विषय प्रवेश
बाँकेमा रहेर अब्बल दर्जाको साहित्यकारका रुपमा नाम दर्ज गर्ने साहित्यकार हुन् नवीन अभिलाषी। कविता अन्तर्गत गद्य कविता सृजन कर्ममा उद्धत अभिलाशीको ईश्वरको अस्थिपञ्जर (२०७३), मौलामा बाँधिएको राँगो (२०७९) कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्। उल्लिखित संग्रहहरूमा परेका कविताहरूले समाजका विकृति र विसङ्गतिहरुलाई त उठाएका छन् नै केही कविताहरू उपेक्षित एवं सीमान्तकृत वर्गका सशक्त आवाजका रुपमा प्रस्तुत भएका छन्। यी दुई कृतिबाहेक पनि अभिलाषीलाई सम्भावना बोकेको साहित्यकारका रूपमा उभ्याउने अर्को कृति हो दहाड। २०८२ माघमा प्रकाशित २२० पृष्ठको लमाइगत आयाम धारण गरेको दहाडभित्र कथाकार नवीन अभिलाषीलाई १ लाख राशि कायम गरिएको पुरस्कार जिताउन सफल दमाहासहित लामाछोटा १२ वटा कथाहरू समेटिएका छन्। यी १२ वटा कथाहरूमध्ये पनि शीर्षकथाका रूपमा लिइएको ’दहाड’ शीर्षकको कथा दसौँ क्रममा आएको छ। गर्जन वा डाको अर्थ बहन गरेको दहाड २२ पृष्ठमा समेटिएको छ। नेपालको पश्चिम तराई भूभागको प्रतिनिधित्व गर्ने कथावस्तुलाई आधार मानेर तयार पारिएको सामाजिक यथार्थवादी कथा दहाडभित्र मुस्लिम सम्प्रदाय अन्तर्गत दलित मानिने नेपालगन्जको किङ्घरियन समुदाय र २०१५ को निर्वाचन तथा जनमत सङ्ग्रह आसपासको समयलाई परिवेश बनाएर प्रस्तुत गरिएको छ। पात्र चयनमा सजगता, संवाद र भाषामा यथार्थता प्रस्तुत गरिएको दहाडले विकृत राजनीतिकको विरोध गर्दै पछि पारिएका निम्नवर्गीय आम नागरिकको जीवन सुधारिनुपर्ने आशय अभिव्यक्त गरेको छ।
कथानक र राजनैतिक अकर्मन्यता
नेपालको सामाजिक सांस्कृतिक र राजनैतिक परिवेशलाई यथार्थपरक ढङ्गले प्रस्तुतीकरण गरिएको अभिलाशीकृत दहाडमा सुरुको कथानक सरल र रैखिक ढाँचामा अगाडि बढेको छ। जब हबुबको नाउँमा पत्र आउँछ। त्यो पत्र पढेसँगै कथा पूर्वदिप्ति शैलीमा विगतमा फर्किएको छ। विगतमा चुनावी दौरानमा भएका यावत गतिविधिहरु हबुबले सम्झन थालेपछि कथामा यो शैलीले प्रविष्टि पाएको हो। आफ्नो घरमा खानेकुरा नहुँदा आधा पेट खाएर, भोकै बसेर वा श्रीमतीका खुलेका मुखलाई आश्वासनले ढुक्क बनाएर राजनीतिमा होमिएका हबुबहरू चुनावकै दिनदेखि चिनिन छोड्छन्। खोला तर्यो लौरो बिस्र्यो भनेझैँ चुनाव अघि साहुद्वारा जबरजस्ती हडपिएको आफ्नो जग्गा फिर्ता आउने आश्वासन, गरिबले गरिबीबाट मुक्ति पाउने सपना मात्रै सपनामा सीमित हुँदा कहिले निको नहुने घाउ बनेर हबुबहरूलाई दुखेका छन्। भोटकै दिनदेखि गरिबलाई र गरिबीलाई चिन्न समेत अस्वीकार्य गरेको दृश्यले नेपालको वर्तमान राजनीतिलाई गिज्याइरहेका हुँदा नेपालको विकृत राजनीति, मन्दिरमा प्रसाद बाँडेको भन्दा बढी सस्तो गरेर आश्वासन बाँड्ने राजनैतिक कुकर्म र त्यसले आम नेपाली जनतामा परेका असरहरूको यथार्थ प्रस्तुत गर्न समेत दहाड सक्षम देखिन्छ।
दहाडभित्र परेको संस्कार र संस्कृति
दहाडलाई पाठकको रोजाइमा पर्ने कथाका रूपमा उभ्याउने महत्त्वपूर्ण पक्ष कथाभित्रको संस्कार र संस्कृति केन्द्रित जीवन्त वर्णन पनि हो। तराईको अवधी, हिन्दी र उर्दु मिश्रित घमन्जा शैलीको भाषा प्रयोग गर्ने समाजलाई चयन गरिएको दहाड भित्र मुस्लिम समुदायमा गरिने सम्बन्ध विच्छेदको फरक संस्कार तलाकलाई यसरी प्रस्तुत गरिएको छः “एकदिन तीनपटक तलाक पनि भन्यो। अब मेरो कुनै जगह बाँकी रहेन (पृ.१५५)।“ त्यसैगरी तराईको बाँके क्षेत्र वरपरका भूभागहरूमा रहेको बिहेमा ऋण काढेर भएपनि दहेज दिनुपर्ने र श्रीमान् छोडेर बसेकी छोरीलाई पुन विवाह गराउनु पर्यो भने दोब्बर दहेज दिनुपर्ने परम्पराको चिनारी बोकेको दहाडले मुख रातै पारेर मुखभरि गाँज भरिने गरी पान खाने र जहाँ मन लाग्यो त्यही पिचित्त थुकेर रातै बनाइदिने तराई मधेसको तौर तरिकालाई यसरी प्रस्तुत गरेको छ। “जिब्रो फड्कार्न सकस हुन्छ। तत्कालै एक मुठी रातो झोलले बाटो रङ्गाइदिन्छ पिचित्त(पृ.१५५)।“ यसबाहेक पनि हबुब जस्ता पात्रले किङ्गरीको तारहरू रेटेर माग्ने प्रचलन,हबुबका बाबु लगायतका पात्रहरूले सफेडा र बरेठा गाउने प्रचलन, खैरात(इस्लाम परम्परामा तीन भागमध्ये गरिबलाई दिइने भाग), जुलहिज्जा र इदको प्रसङ्ग, मुस्लिमहरूको महान चाड ईद र आँगन टेकेको मेहमानलाई अल्लाहका दूत मान्ने प्रसङ्ग प्रस्तुत गरी कथामा संस्कार र संस्कृतिको पाटोलाई अन्याय हुन दिइएको छैन। यसै सन्दर्भमा हबुबले आफ्नी छोरीको सादी गरिदिएर बोर्डर पारीको बाबागञ्ज पठाएको प्रसङ्गलाई जोड्दै भारतसँगको रोटीबेटीको सम्बन्ध पनि प्रस्तुत गरिएको छ। यसका साथै दहाडभित्र स्थानीय रङ्गलाई प्रकाश पार्ने गरी आएको लडिया, टाँगा र एक्काको प्रसङ्ग, आँगनमा खटियाका तानहरू मिलाउने र नयाँ खटिया तयार गर्ने, गोबर माटोले घर र भित्ता लिपपोत गर्ने, सडक किनारतिर घोडाहरू हिँडाइरहेको , सडकमा छरपस्ट लादीको गन्धले मान्छेको नाक हानिरहेको लगायतका प्रसङ्गहरूले तराईको हराउँदै गएको विगतको चिनारी गराएको छ। यसर्थ नेपालको तराई र मुस्लिम सम्प्रदायमा देखिएका संस्कार र संस्कृतिहरूलाई प्रस्तुत गरिएको दहाडभित्र कथास्रोत, कथावस्तु, पात्र नामकरण भाषा वा संवाद प्रयोग र परिवेश छनोटमा आञ्चलिकताको सुगन्ध समेत भेटिन्छ ।
दहाडभित्रको दुःख र कारुणिकता
अभिलाषीकृत दहाड कथाले निम्नवर्गीय पात्रहरूले भोगेका असङ्ख्य दुःखहरू र त्यसबाट सिर्जित कारुणिकतालाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ। करुण रस सृजना गर्ने गरी अनेकौं प्रसङ्ग जुराइएको यस कथामा हुने खाने र हुँदा खाने बिचको सङ्घर्षमा हुँदा खानेहरूले आवाज उठाउन नसक्दा र यथास्थितिलाई नै सहर्ष स्वीकारेर अघि बढ्दा थप कारुणिक परिवेश सिर्जना भएको देखिन्छ। कथाभित्र हुने खानेहरूले हुँदा खानेहरू माथि शोषण र उत्पीडनको पराकाष्टा प्रस्तुत गर्दै बाँच्दा मात्रै होइन मरेपछि पनि सुख नदिएको घटनाक्रम परेको छ, जसले सिर्जनालाई कारुणिक, दुःखलाग्दो र मानिस भित्र हुने विद्रोही मनलाई घचघच्याउने परिवेश निर्माण गरेको छ। जसलाई निम्न उदाहरणद्वारा पुष्टि गर्न सकिन्छः “एकदिन गाउँ नजिकैको दलदलेमा गडेको भैंसी निकाल्न पसेका बाबु आफै गडेर मरेछन्। बापुजी साँझ घर फर्किएनन्। अर्को दिन दलदलेमा भैसीसँगै हिलोमा छटपटाउँदै गाडिएर मरेका बाउको लास गाउँलेहरुले निकाले तर त्योभन्दा पहिले भैँसीको लागत छिनोफानो गरेर मालिकले मढैया हडपे, ओत र अँगेनो दुवै खोसेर लगे (पृ.१६५)।“ आर्थिक दृष्टिकोणले निम्त्याएको कारुणिकता मात्र होइन सामाजिक र स्वास्थ्यका दृष्टिले समेत कथामा कारुणिक परिवेश सिर्जना गरेका छन् । यस सन्दर्भलाई कथाभित्रको प्रस्तुत उदाहरणले पुष्टि गर्दछ ः “१६ वर्षकै उमेरमा तलाख खेपेर छोरी माइत फर्केकी छ । भएभरको सम्पत्ति दहेजमा सकिएको छ । ऋण छ । साहु जिउँदै छ। पाठेघर कुहिएर श्रीमतीले संसार छोडेको वर्षौ भइसकेको छ। छानाको छिद्रहरूबाट आकाशको उज्यालो देखिन्छ।
त्यही छानो पनि नथाम्ने भएका छन् घरका भित्ताहरु (पृ.१६८)।“ यसर्थ खाना, नाना र छानारुपी अभावको धरातलमा टेकेर भोक र शोक दुवैले सिर्जना गरेको कारुणिकता प्रस्तुत गर्नु पनि कथाको मूल ध्येय बनेर आएको देखिन्छ। यही मूलविचारमा एकाकार भएर कथा भित्र गरिब भएकै कारण हबुब आफ्नो मताधिकारबाट वञ्चित भएको प्रसङ्गले राजनीतिक दृष्टिकोणबाट पनि हबुबहरू ठगिएकै छन् भने ईदमा पाहुनालाई सत्कार गर्नकै लागि आफू बेचिनुपर्ने वा आफ्नी छोरीलाई इच्छा विपरीत पराईका घरमा बेच्नुपर्ने आर्थिक दरिद्रता प्रस्तुत गर्दै दहाडले थप कारुणिक मोड सिर्जना गरेको छ। भोक र बेरोजगारीले थलिएकाहरूलाई अग्रपंक्तिमा लगाएर राजनीतिको रोटी सेक्नेहरूको यथार्थ प्रकटीकरणका दृष्टिले पनि दहाड चर्चनीय देखिन्छ। यथार्थमा गरिबहरू गरिबीमै जन्मन्छन्, गरिबीमै हुर्कन्छन् र गरिबीसँग जुद्दाजुद्दै आफ्नो देहलीला समाप्त गरिदिन्छन्। आशाको झिनो परालको त्यान्द्रो पनि उनीहरूका लागि दुःखरुपी भवसागर तर्ने सहारा बन्न सक्छ भन्ने बुझेका दस्तगिर जस्ता राजनीतिकर्मीहरूले उनीहरूको आँसु र पसिनाको व्यापार गर्छन् र आफ्नो उन्नति र प्रगतिको नाफा झिक्छन्। यही यथार्थलाई पुष्टि गर्ने गरी “ठिक छ तपाईँको मागेर जीवन चल्छ तर बच्चालाई पनि माग्न पठाउने? मागेर खानु तपाईंलाई राम्रो लाग्छ हबुबजी? तर केही छैन हबुबजी हामी साथ छौं। यति ठूलो जमात तपाईंकै लागि हो। चुनाव जितेपछि सब समाधान हुन्छ(पृ.१५७)।“ भन्दै दस्तगिर र उसको पार्टीले सोझो र बेरोजगार हबुबलाई जोस्याउँदै अग्रपंक्तिमा लगाएर गरिब जनताहरूको सहानुभूतिलाई भोट बैंक बनाएको र भोट सिद्धिए लगत्तै हबुबलाई चिन्न र भेट्न समेत नमानेको परिवेश निर्माण गरिएको छ ।
दहाडभित्रको भाषा
दहाडकथालाई स्थापित कथाका रूपमा उभ्याउनका लागि कथाभित्र प्रयुक्त भाषाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। बाँकेको कथालेखन परम्पराको वर्तमान भाषागत प्रयोगशीलतामा रमाउन सकेको छैन। यस सन्दर्भमा अभिलाशीको दहाडले भाषाका तहबाट प्रयोगशीलताको नवीन क्षितिज उघार्ने प्रयास गरेको छ।अभिलाषी दहाड कथाभित्र सोझो पाराले अभिधापरक संवादलाई कम महत्व दिँदै लक्षणापरक संवादमा रमाएका छन् भने विम्बगत विविधता कथाको महत्वपूर्ण वैशिष्ट बनेर आएको छ। अभिलाषी कवि हुन् अनि मात्रै कथाकार हुन्। यसर्थ यसको प्रभाव उनको दहाड कथाभित्रको भाषामा पनि परेको छ। यस सन्दर्भमा काव्यात्मक भाषा निर्माणमा सहयोगी बनेका केही लक्षणामूलक हरफहरूलाई उदाहरणस्वरूप पेश गरिनु सान्दर्भिक हुन्छः निभेको चुलो देखेर भावुकको पेटभित्र भोकले नङ्ग्राहरु चलाउँछन्। हबुब एकाएक रेगिस्तानमा कसरी परिणत हुन सकेको खै (पृ.१५५)। रित्तो छ घर, रित्तै छन् पेटहरू तर उनीहरू रित्तो हुनेगरी पोखिएका छैनन् (पृ.१५५)। बोल्दा बोल्दै नसरिनका आँखाहरू रानी तलाउमा फेरिए (पृ.१५५)। छोरीको क्रन्दनले घर चिसो भयो (पृ.१५५)।बिस्तारै गरिबीको अग्निले उसका हात पाउहरू खान थाल्यो (पृ.१५६)। जीवनको १६ वटा वर्षहरू नकाट्दै नसिरन सुकेको सिमल जस्तो भइसकेकी छे, ढलेकी छैन। उपरान्त हरियो पलाउने विश्वास समेत बाँकी छैन (पृ.१५६)। खस्तै गरेको यो आकाश थाम्ने ल्याकत पनि उसँग छैन (पृ.१५६)। ऊ भित्र डरले निमको रुख हुर्किरहेछ (पृ.१५९)। यही लक्षार्थ भाषाकै कारण प्रस्तुत कृति पढ्दा बौद्धिक पाठकहरू बौद्धिकताको खुराक भेटाउँछन् ; ज्ञान र आनन्दको महसुस गर्छन् भने सामान्य शैक्षिक स्तर भएका पाठकहरूलाई भाषाले पिरोल्छ र सिङ्गो कथा नै अस्पष्ट बन्न सक्छ।
यसर्थ दहाड भित्रको भाषा चुनौती पनि हो र त्यत्तिकै अवसर पनि। दाहाड भित्र कथाकारले प्रयोग गरेको सामाजिक सांस्कृतिक प्राकृतिक ऐतिहासिक बिम्बहरू पनि चर्चनीय देखिन्छन्। यस सन्दर्भमा लक्षार्थ भाषामा उदाहरणस्वरूप पेश भएका हरफहरूलाई मात्रै हेर्दा पनि निभेको चुलो, पेट, नङ्ग्रा, रेगिस्थान, आँखा, रानी तलाउ, घर, अग्नि, हात पाउ, सुकेको सिमल, आकाश, निमको रूख जस्ता विविध प्रकृतिका बिम्बहरू पर्गेल्न सकिन्छ। साहित्य लेखनमा भाषामा आलङ्कारिकता सिर्जना गर्न वा भाषिक चमत्कार कायम गर्न व्याकरणिक पदक्रमलाई भन्दा आलङ्कारिक वा साहित्यिक पदक्रमलाई महत्व दिने गरिन्छ। यसै सन्दर्भलाई जीवन्त बनाउँदै दहाडभित्र व्याकरणिक पदक्रमको सीमालाई अतिक्रमण गरी आलङ्कारिक वा साहित्यिक पदक्रमको प्रयोगमा जोड दिइएको छ। दहाड कथाभित्र प्रस्तुत भएका प्रतिनिधिमूलक आलङ्कारिक पदक्रमलाई उदाहरण स्वरूप यसरी प्रस्तुत गर्न सकिन्छ,“अरे नसिरन! रोटी पकाएकी छैनस् अहिलेसम्म?“(पृ.१५४), एकदिन बोट रितै हुनेछ भन्ने उदासी पसेको होला ऊ भित्र। रुखका हाँगाहरुमा स्थिर छन् पातहरू (पृ.१५४) विरक्त छे नसिरन(पृ.१५४)। उफ्रिँदै खेलिरहेछन् केटाकेटीहरू (पृ.१५८)। यसरी दहाड कथा अलङ्कारिक पदक्रमलाई महत्व दिइएको लक्षणमूलक भाषा, काव्यात्मक भाषा, बिम्ब अलङ्कारहरूको प्रयोग र आंशिक रूपमा उखानको प्रयोगमा आधारित भाषा प्राप्तिको दृष्टिले महत्वपूर्ण कथा साबित भएको छ।
निष्कर्ष
दहाड नेपाली समाजको वस्तुस्थितिलाई यथार्थ परक तवरबाट देखाउन सक्षम कथा हो। कथाभित्र २०१५ सालको सेरोफेरोलाई समयगत परिवेशका रुपमा प्रस्तुत गरिएको छ यद्यपि वर्णित घटनाक्रमले पाठकहरू माझ वर्तमान परिवेश लाई ताजा बनाउने ल्याकत राख्छ। खासगरी नेपालगन्ज स्थित किङ्घरियन समुदायका रहनसहन र चालचलनलाई प्रस्तुत गर्दागर्दै पनि पश्चिम तराईका मुस्लिम समुदायका हरेक सदस्यले आफ्नै कथा भेटाउने गरी मुखरित भएको दहाड कथाभित्र नेपालको राजनीतिक विकृति विसंगति एवं समाजको वर्गीय द्वन्दको झिल्का झिल्कीको प्रयोग पाइन्छ। गरिबका गरिबीले चराइरहेका घाउहरूलाई र त्यसलाई शितलता प्रदान गर्ने नाउँमा स्वार्थको रोटी सेकाउने राजनीतिज्ञहरुले गरेको पाखण्डीपनलाई कथाकार स्वयंले हबुब पात्रलाई मुखपात्र बनाएर चिच्याइ चिच्याई सुनाएका छन् यद्यपि कथाभित्र दहाड शीर्षकले न्याय पाउनेगरी जातीय वर्गीय चिन्तनको विरुद्धमा उठेका डाको वा आवाजहरू सशक्त भएर आउन सकेका छैनन्। नायक मानिएका पात्रहरू पनि निकै निरीह र कमजोर साबित हुँदा शीर्षक फितलो बन्न गएको हो। कथावस्तुको बनोट र बुनोट चयन गरिएको भाषाशैली संवादमा प्रयोग भएका पात्र उपयुक्त छन् तथापि उ..ल्लिखित पक्षहरूले शीर्षकलाई न्याय गर्न नसक्नु कथाको सीमा बनेर आएको छ। कृतिको भूमिकाले अति यथार्थवादी मान्यतामा आधारित लेखन भनेर दाबी गरे तापनि सङ्ग्रृहीत कथा अतियथार्थवादी मान्यता नभई यथार्थवादी स्वरसन्धान गर्न सफल देखिएको छ। ह्रस्व, दीर्घ र लेख्य चिन्हमा आधारित केही त्रुटिहरू पनि कथामा पाइन्छन् (पृ.१५४ मा पूर्णविराम नहुने ठाउँमा पूर्णविराम र पूर्णविराम हुने ठाउँमा अल्पविराम भएको) । उल्लिखित सीमाहरू देखिएको नवीन अभिलाशीको दहाड कृतिभित्रको दसौँ कथा ’दहाड’ कथावस्तु, पात्र चयन, तराई केन्द्रित परिवेश निर्माणमा स्वाभाविकता जस्ता विशेषताका कारण प्रशंसनीय छ। समग्रमा वाक्यको भग्न स्वरूप प्रयोग गर्नु, कर्ता कर्म क्रियाको रखाइलाई विचलनमा परिणत गर्नु, कर्ताविहीन वाक्यहरुको संयोजन जस्ता भाषिक प्रयोगशीलता सहितका महत्वपूर्ण विशेषता अङ्गीकार गरेको दहाड कथा पाठकको रोजाइमा पर्नसक्ने अब्बल कथा बनेको छ।









प्रतिक्रिया दिनुहोस्