रास्वपा महाधिवेशनमा काँग्रेसको सुझावः हामी बिग्रियौँ, तपाईँहरू नबिग्रिनु होला



देश बिदेशबाट सबैले आशा भरोसा र रुचीका साथ हेरिरहेको रास्वपाको जारी प्रथम ऐतिहासिक महाधिवेशनले सही नीति निर्माण गर्ने छ र यसले पार्टीको जीवनलाई अझै सुदृढ बनाउने छ । यसको नयाँ नीति र नेतृत्वलाई आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा समेत पूर्ण सफलता प्राप्त गर्ने गरी नयाँ जोस र शक्ति महाधिवेशनबाट प्राप्त होस् शुभकामना छ ।

भीम रावत

थापाले जनमतले दिएको शक्तिको पनि निश्चित सीमा हुने तथ्यलाई नबुझ्दा विगतमा धेरै राजनीतिक दलहरू समस्यामा परेको टिप्पणी गर्दै जनताले दिएको समर्थनलाई असीमित शक्ति ठान्ने प्रवृत्तिका कारण असाधारण जनमत टिक्न नसकेको तथ्यलाई स्मरण गराए । थापाले भने, ‘रास्वपाले अहिले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन–चार पटक मात्र नेपालका राजनीतिक दलले यस्तो जनमत प्राप्त गरेका छन् । हरेक पटक त्यो जनमत दुर्घटनामा प¥यो । मेरो शुभकामना छ कि रास्वपाले प्राप्त गरेको यो जनमत कुनै दुर्घटनामा नपरोस् ।’ यसै हप्ताको आइतबारबाट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भैरहेको छ । पार्टी स्थापना भएको छोटो समयमा नै रास्वपाले गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद्को निर्वाचनमा करिब दुईतिहाइ सङ्ख्या जितेर पुराना राजनीतिक दलहरूमा रहेको दम्भ र घमण्डलाई चकनाचुर पारिदिएको छ । रास्वपाको जारी महाधिवेशनमा विभिन्न दलहरूका प्रमुख नेता तथा अन्य नेताहरूले महाधिवेशन सफलताको शुभकामना दिएका छन् । ती शुभकामना दिने नेताहरूमध्ये नेपाली काँग्रेसका सभापति गगन थापाले आफूहरूले विगतमा गल्ती गरेको र ती गल्ती कमजोरीहरू समय मै सच्याउन नसक्दा अहिले आफूलाई आत्मग्लानि समेत भएको बताएका छन् । थापाले जनमतले दिएको शक्तिको पनि निश्चित सीमा हुने तथ्यलाई नबुझ्दा विगतमा धेरै राजनीतिक दलहरू समस्यामा परेको टिप्पणी गर्दै जनताले दिएको समर्थनलाई असीमित शक्ति ठान्ने प्रवृत्तिका कारण असाधारण जनमत टिक्न नसकेको तथ्यलाई स्मरण गराए । थापाले भने, ‘रास्वपाले अहिले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन–चार पटक मात्र नेपालका राजनीतिक दलले यस्तो जनमत प्राप्त गरेका छन् । हरेक पटक त्यो जनमत दुर्घटनामा प¥यो । मेरो शुभकामना छ कि रास्वपाले प्राप्त गरेको यो जनमत कुनै दुर्घटनामा नपरोस् ।’
थापाले रास्वपाले विगतका राजनीतिक दलहरूले भोग्नुपरेका यी दुवै अवस्थाबाट पाठ सिक्नुपर्नेमा सुझाव दिँदै नेताहरूबीचको अहंकारको द्वन्द्व र जनमतको सीमाबारेको गलत बुझाइबाट जोगिन सके मात्रै जनताको विश्वासलाई दीर्घकालसम्म कायम राख्न सकिने हुँदा आगामी दिनमा रास्वपाको एकल सरकारले संविधान र विधिमा रहेर काम गरे नेपाली काँग्रेसले सधै सरकारको काममा ताली बजाउने बताएका छन् ।

पुराना तीन ठूला दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीहरूमा दलको प्रमुख नेता रास्वपाको महाधिवेशनमा शुभकामना दिन गएका गगन थापा मात्र हुन । थापाले रास्वपालाई मननयोग्य धेरै सुझावहरू पनि दिए भने नेपाली काँग्रेस र नेकपा एमालेको विगतको गठबन्धन नहुनु पर्ने गठबन्धन भएकै कारण आज नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका दलहरू आज राजनीतिको एउटा कुनामा पर्नु परेको स्वीकार समेत गरे । नेपाली काँग्रेसभित्र रहेको आन्तरिक द्वन्द्वको अवस्थाले पार्टीलाई कमजोर मात्र बनाएन कि देशको जनमतलाई समेत मत परिवर्तन गर्न बाध्य बनायो । बाहिर लड्न सजिलो हुन्छ तर आफ्नै दलभित्र लड्न धेरै गाह्रो हुने बताए । त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिने क्रममा आफूले संविधानसभाबाट नयाँ संविधान जारी भएलगत्तै नयाँ वैकल्पिक राजनीतिक अभियान चलाएको र त्यसका सबैभन्दा महत्वपूर्ण उपलब्धि हालको रास्वपा नै भएको तर्क गरे । महाधिवेशनलाई शुभकामना दिँदै भट्टराईले भने, ‘अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु ।’ रास्वपाको जारी महाधिवेशन दुई कारणले महत्वपूर्ण मानिएको छ । एकः रास्वपा पार्टी स्थापनाको ५ वर्ष पनि नपुग्दै देशभर फैलिएको मात्र छैन, यसले गत फागुनमा सम्पन्न भएको संघीय संसद्को निर्वाचनमा आफूले पनि अनुमान नगरेको जनमत प्राप्त गरेको छ । यसबाट हौसिएर रास्वपाका नेताहरूमा अहंकार जाग्यो र त्यसले नेताहरू धेरैलाई महत्वाकांक्षी बनायो भने यस पार्टीको दुर्दिन त्यहीँबाट सुरु हुने छ । त्यसैले नेतृत्वमा पुग्ने रहरभन्दा पनि बढी आवश्यकताको आधारमा नेता बन्ने र बनाउने काम गर्नु उचित हुन्छ । त्यस्तै महाधिवेशन भनेको स्वभाविकै रूपमा पार्टी जीवनलाई आगामी महाधिवेशनसम्म कसरी सञ्चालन गर्ने, यसको कार्यनीति के हुने, यसको संगठनात्मक सिद्धान्त तथा संरचना कस्तो हुने, अन्तर्राष्ट्रिय नीति र कुटनीति कस्तो बनाउने तथा देशभित्र क्रियाशील राजनीतिक दलहरूसँगको सम्बन्ध कस्तो अपनाउने भन्ने बारेमा नीति निर्माण गर्ने पार्टीको आधिकारिक र वैधानिक संस्था हो । रास्वपा नयाँ छ र यसले सबै नयाँ निर्माण गर्नु पर्ने छ । पढेका होलान तर व्यवहारमा परेका छैनन् । राजनीति पढेर मात्र हुँदैन, यो त जीवन, जगत् र समाज चिन्ने बुझ्ने र बदल्ने अनुभवहरूको संग्रह पनि हो । यो आज सुरु गरेर भोलि नै सिकिने र सकिने विषय पनि होइन । त्यो त रास्वपाका कतिपय सांसदहरूले देखाएका प्रवृत्ति, उनीहरूले बोलिने भाषा तथा एकअर्कालाई हेर्ने नजरियाले संकेत गरिरहेका छन् त राजनीतिको परिपक्वता हो कि बचकाना हो भनेर ।

विगतमा अरु पार्टीहरूमा देखिएको आन्तरिक द्वन्द्व र त्यसले उनीहरूको पार्टी जीवन र राजनीतिमा पर्न गएको नकारात्मक प्रभावको केही पाठ सिकेर नै होला महाधिवेशनमा प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले भने, ‘तपाईँहरू कोही पनि पार्टीमा कुनै समूह बनाउन नलाग्नु होला । कुनै समूहका मायाले नेता बनिँदैन । राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ । आज, भोलि र पर्सी पार्टीको बारेमा सोचौँ र त्यसपछि पाँच वर्ष देशको बारेमा सोचौँ ।’ साच्चै भन्ने हो भने आज रास्वपालाई जुन जनमत प्राप्त भएको छ, त्यो जनमत चानचुने जनमत पनि होइन र यो जनमत हावाको भरमा, लहडमा आएको पनि होइन । यो जनमत नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी तथा मधेशवादी दलहरूले सत्ताको बाँडफाँट गरेर जसरी सत्ता र शक्तिलाई आफ्नो नीजि पेवा जस्तो गरेर दुरुपयोग गरे । देशमा सुशासन दिन सकेनन् । भ्रष्टाचार र बेथितिको डंगुर लगाएर आफूले सत्तामा सधैँ रजाइँ गरिरहे त्यही प्रवृत्तिको विरुद्धको प्रतिरोध थियो जनमतमार्फत गरिएको । रास्वपाले आफ्नो जारी महाधिवेशनमा यो तथ्यलाई नजरअन्दाज गर्न हुँदैन । किनकी ऊ यतिबेला सत्तामा छ । दोश्रोः रास्वपा यतिबेला दुईतिहाइ जनमतसहितको सत्तारुढ दल हो । उसले सरकारमा रहेर विगतको लामो र थुप्रो लागेको राजनीति फोहोरलाई सफा गर्नु छ । सुशासन दिनु छ । ठूला–ठूला भ्रष्टाचार काण्डका फाइलहरू खोलेर त्यसमा अनुसन्धान गरी सबैलाई कानुनका दायरामा ल्याउनु पर्ने छ । निराश भएका नेपाली जनतालाई आशा जगाउन सक्नु पर्ने छ र विश्वासमा लिनु पर्ने छ । दैनिक रूपमा विदेशिने युवा शक्तिलाई देशभित्र रोजगार सिर्जना गरेर रोग्नु पर्ने छ । बालेन सरकारसामु चुनौतीका पहाडहरू सँगसँगै अवसरका सम्भावनाहरू पनि छन् । महाधिवेशनमै रास्वपा सभापति रवि लामिछानेले आगामी पाँच वर्ष सरकारको नेतृत्व आफ्नो पार्टीका वरिष्ठ नेता बालेन शाहले नै गर्ने उद्घोष गरेका छन् । यसबाट बालेनलाई निर्धक्क भएर सरकार सञ्चालन गर्ने अवसर पनि मिलेको छ र यस्तो भएमा देशले पाँच वर्ष एउटा स्थिर सरकार पाउँछ । यसले नेपालको प्रशासनिक संयन्त्रलाई पनि काम गर्न सजिलो बनाउँछ । जसको परिणाम सकारात्मक आउँछ र देशले समृद्धिको दिशा पहिल्याउन सक्छ ।

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर राहदानी विभागका महानिर्देशकलाई पक्राउ गर्न दबाब दिएको भनेर विपक्षीहरूले आलोचना गरिरहेको विषयमा प्रधानमन्त्री बालेनले गतिलो जवाफ पनि दिएका छन् । गत साता सरकारकै आग्रहमा अख्तियारको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो । संवैधानिक निकायलाई प्रधानमन्त्रीले दबाब दिएको भनेर प्रश्न उठेपछि यसमा कानुन नमिचिएको बताएका हुन् । महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, प्रतिसोध साँध्ने, पुरानो–पुरानो कुरा लिएर निउँ खोज्दै बस्ने पार्टी होइन । निउँ खोज्नु परे अगाडि बढ्दै गर्दा निउँ खोजिन्छ । कस्तो केसमा मात्रै भन्दाखेरी विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनेर निउँ खोज्न जरुरी हुन्छ । त्यहाँ निउँ खोज्छौँ हामी । र, त्यो निउँ खोज्दै गर्दाखेरी अख्तियारलाई पाँच घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह गर्नुपर्छ भने हामी पाँच घन्टा मात्र होइन पाँच वर्ष गर्छाैँ । पाँच वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नु पर्देन । हामीले नियम कानुन मिच्दैनौँ । नियममा बसेरै काम गर्छाँै । नियमबाहिर जाँदैनौँ । हाउभाउ हेर्दाखेरी यस्तो सोसल मिडिया, मिडियामा हाउभाउ हेर्दाखेरी अनियन्त्रित देखिएला, त्यो देखिएको मात्र हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन ।’ त्यस्तै, पछिल्लो समय सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे पनि प्रधानमन्त्रीले जवाफ दिदै भने, ‘मेरो राष्ट्रियतामाथि कसैले शंका गरिरहनु पर्दैन ।’ प्रधानमन्त्रीले सीमाको बारेमा पनि प्रष्ट्याएका छन् । ‘सीमाको विषयमा पनि चिन्ता लिनुभएको पाएँ । हामीले सीमाको विषयमा बोल्दाखेरी, पक्कै पनि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दाखेरी उहाँहरूले पनि आपत्ति जनाउनुहुन्छ, मलाई अचम्म लाग्यो । ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ । र, त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरी त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउछौँ भनेका हौँ । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसँग आफैँ कुरा गरेर मिलाउँछौँ । हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो । यसमा चिन्ता मान्नु पर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्देन ।’

रास्वपाको महाधिवेशनमा समेत एमालेका प्रतिनिधि प्रदीप ज्ञवालीले रास्वपाप्रति व्यङ्ग्यात्मक रूपमा टिप्पणी गर्दा बालेनले त्यस्तो जवाफ दिएका छन् । रास्वपाको महाविधेशनमा सम्बोधन गर्न पुगेका एमाले नेता प्रदीप ज्ञवालीले गाडीमा एक्सिलेटर मात्र नभई ब्रेक समेत हुने भएकाले ब्रेक लगाएर अघि बढ्न सुझाव दिएका थिए ।
ज्ञवालीलाई जवाफ दिँदै बालेनले भने, ‘विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ, सरकार भनेको त गाडीजस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ, त्यस्तो चिन्ता चाँही लोकल रोडमा हिँड्दाखेरी कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर, हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन । र हाम्रो गाडी अनियन्त्रित पनि छैन ।’ देश बिदेशबाट सबैले आशा भरोसा र रुचीका साथ हेरिरहेको रास्वपाको जारी प्रथम ऐतिहासिक महाधिवेशनले सही नीति निर्माण गर्ने छ र यसले पार्टीको जीवनलाई अझै सुदृढ बनाउने छ । यसको नयाँ नीति र नेतृत्वलाई आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा समेत पूर्ण सफलता प्राप्त गर्ने गरी नयाँ जोस र शक्ति महाधिवेशनबाट प्राप्त होस् शुभकामना छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार