जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण



भैरहवा । 

रूपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ ।प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

त्यसैगरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् ।भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । उनले नागरिकको कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवा सुविधाको आधार नागरिकताको परिचयप्रत्र भएकाले वितरण प्रक्रियालाई कानुनसम्मत, व्यवस्थित र सेवामैत्री बनाइएको बताए ।

तथ्याङ्कअनुसार रूपन्देहीमा वंशजका आधारमा नागरिकता लिनेको सङ्ख्या अत्यधिक रहेको छ भने वैवाहिक अङ्गीकृत नागरिकताको सङ्ख्या पनि उल्लेख्य रहेको छ । प्रशासन कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार