समीक्षाः रित्तिदै गएको कथाः तोर्किन



खगेन्द्र गिरि ’कोपिला’

विद्वानहरुले उपन्यासको परिभाषा के लेखेका छन् ? मलाई थाह भएन । तर मलाई उपन्यास भनेको जीवनका कथाहरुको आक्षरिक चित्रावली हो जस्तो लाग्छ । यो चित्रावलीमा जीवनका भिन्नभिन्न दृश्यहरुलाई उनिएको हुन्छ । उपन्यासहरु मेरो पठनसंसारमा यसरी आउने गर्छन् कि पढियो भने सररर पढियो । पढिएन भने एक दुई पृष्ठमा दृष्टिप्रषेपण गर्ने बित्तिकै हुत्त मिल्काएर हलुङ्गो भयो । पढेका पनि कुनैकुनै उपन्यासले मात्रै मलाई सन्तुष्टिको न्यास गराउँछन् । आनन्दको अभिन्यास गराउँछन् । पढेर कूतुहलबाट सन्न्यास लिन पाइएन भने पढेको के सार ! वैशाखको तप्त याममा मेरो हात लाग्यो ‘तोरकिन’ भन्ने अचम्मको उपन्यास । जाबो एउटा उपन्यासको लागि पाँच सय रुपियाँ खर्च गर्नुपर्दा पहिले त मलाई लोभ नलागेको होइन । तर जब तात्तातै ‘तोरकिन’ का पृष्ठहरु पल्टाउन थालेँ, मेरो पाठकहृदय द्रवित हुन थाल्यो । जतिजति म यस उपन्यासको कथा र पटकथामा डुब्दै गएँ, अर्कैअर्कै अलौकिक साङ्रिलामा पुगेर अक्षरको सौन्दर्यसंग आफै एकाकार भएजस्तो आभास भयो । योे आभास नै ‘तोरकिन’ को वैशिष्ट्य हो । यो उपन्यासलाई त पाँच हजार रुपियाँ हालेर किनेर पढेको भए पनि पछुतो नलाग्ने रहेछ । प्रस्तुत प्रसङ्ग जाजरकोटका युवा लेखक क्षितिज समर्पणकृत औपन्यासिक पुस्तक ‘तोरकिन’ को हो । यस उपन्यासले माथिल्लो मुस्ताङ्को जनजीवनलाई आफ्नो कथानक बनाएको छ । त्यस कथानकमा यत्रतत्रका उपकथा र पटकथाहरु पनि जोडिएका छन् । तर सबै प्रसङ्ग र सन्दर्भहरुले माथिल्लो मुस्ताङकै जीवन बोलिरहेको छ । माथिल्लो मुस्ताङकै शब्दचित्र देखाइरहेको छ ।जनजीवन भनेपछि त्यसमा केही समय र केही दिनका घटनाक्रम मात्रै हुँदैनन् । ‘तोरकिन’मा पनि पात्र र घटनाहरु मात्रै छैनन् । घटनाको स्रोत, घटनाका कर्ता, कारण र घटनाका संवेदनाहरु पनि छन् । पात्रको मनोदशा र उसले व्यहोरेको चिन्तनमननका पाटाहरु पनि छन् । उपन्यास भन्नु नै घटनाको वर्णन मात्रै होइन । यो त मानविय संवेदना र अनुभूतिहरुको अभिलेख हो । ‘तोरकिन’मा पनि खुसीका आल्हाद छन् । पीडाका उच्छवास छन् । माया र प्रेमका उल्लास छन् । कल्पना र भावनाका रङहरु छन् । सपना छन् । विपना छन् र छन् मान्छेले जीवनमा व्यहोर्ने सबै अनुभवका घामछाया पनि ।

लेख्न सक्यो भने जन्मिनु र मर्नुको चक्रमा मान्छेले पाउने, भोग्ने, व्यहोर्ने र गुमाउने कुराहरुको इतिहास नै उपन्यास हुन पुग्छ । बाँच्ने अभ्यास गर्दागर्दै मान्छेलाई बाँच्ने रहरकै बानी लाग्छ । त्यो रहरले उसलाई सबै कुरासंग जुध्ने आँट पनि दिन्छ । आँटले साथ दिइरहँदासम्म मान्छे मान्छे भएर रहेको हुन्छ । जब आँटले साथ दिन छाड्छ त्यसपछि मान्छे मान्छे रहदैन । माथिल्लो मुस्ताङको माटोले बाँच्ने आधार दिएर जीवनको गति समातिरहेका भुइँमान्छेहरुको कथा हो ‘तोरकिन’ । कसैकसैले क्रान्ति, विद्रोह, आक्रोश र असहमतिका कुरा उठेनन् भने उपन्यासमा पूर्णता आउँदैन भन्ने मत पनि राख्छन् । तर क्रान्ति, विद्रोह, आक्रोश र असहमति नभएर पनि सलिल कथाहरुले पनि माटोको कथा प्रष्ट रुपमा बोल्दा रहेछन् । समाजमा प्रताडना, दमन र शोषण मात्रै छैनन् त्यो भन्दा बढी समाजमा प्रेम छ, परिश्रम छ, बाँच्ने जीजिविषा छ । यिनै जीवन र समाजका शाश्वत विषयलाई यस उपन्यासले उठाएको छ । भुइँमा उभिएर आकाशलाई उछिन्न खोज्ने सपनाले यस उपन्यासका पात्रहरुलाई दुःखहरुसित पनि जुध्न सिकाएको छ । विद्रोह नगरेर पनि आफैसित र नियतिसित विद्रोह नै गरिरहेका छन् सबै पात्रहरुले । उसो भए के ‘तोरकिन’ माथिल्लो मुस्ताङको नियात्रा मात्रै हो त ? माथिल्लो मुस्ताङको वर्णन मात्रै हो त?होइन ! हुँदै होइन !! यस उपन्यासले माथिल्लो मुस्ताङको धर्म, इतिहास, संस्कृति र सभ्यताको उत्खनन पनि गरेको छ । त्यहाँको भूगोल र सामाजिक अवस्थाको चित्रण पनि गरेको छ । भौतिक सुविधाको आगमनसितै त्यस समाजमा परेका प्रभाव र आएका विचलनहरुको पनि चर्चा गरेको छ । मूलतः ‘तोरकिन’ले फेरिदै गएका ठाउँ, रित्तिदै गएका गाउँ, हराउँदै गएका मान्छे, बिर्सिदै गएको संस्कृति र बिलाउँदै गएको मानविय सम्बन्धप्रतिको चिन्तालाई गहन र ठोस रुपमा उठाएको छ । माटोसित लडिबुडि गर्दै आफ्नो धर्म, संस्कृति र संसारसित रमाउँदै, दुःख र पीडालाई जितेर बाँचेकाहरु किन माथिल्लो मुस्ताङबाट विस्थापित हुँदै गए ? त्यही समस्याको उठान गरेको छ ‘तोरकिन’ ले । ल्होवा भाषामा तोरकिन भन्नु नै हराउनु र लोप हुनु हो । यो उपन्यास हराउँदै गएकाहरुको कथा भए पनि हराउन नचाहनेहरुको हुटहुटीको अभिविन्यास पनि हो । उपन्यासको भाषा सरल छ । घटनालाई मनोवैज्ञानिक आयाम दिने नाममा उपन्यासमा आदर्श र विचारको पण्डित्याइँ छाँटिएको छैन । दृश्य र पात्रहरुको मनोविज्ञानको चित्रण पनि सहज रुपमा गरिएको छ । पात्रहरु जति सरल छन् उनीहरुका संवाद पनि बोधगम्य छन् । पहिलो पृष्ठ पढिनसक्दै पाठकलाई कूतुहलले छोपिसक्छ । तोरकिन पढ्न थालेपछि सकिएको थाहै हुन्न । अचम्मको स्वाद पिउँदैपिउँदै पढेर सकेँ मैले पनि ‘तोरकिन’ ।

केही प्रसङ्गहरु तोरकिनबाट उद्धरण

चराङ, माथिल्लो मुस्ताङको एउटा सुन्दर गाउँ । यही गाउँमा जन्मियो छेवाङ । अब यहीँको माटोमा डोबिने छन् उसका पैतालाहरु । चराङसंगै फेर्ने छ उसले सास । चराङ संगै ताप्ने छ घाम । र चराङसँगै खेप्ने छ हिउँ पनि । चराङकै खुसीमा समाहित हुने ऊ । के चराङ पनि छेवाङको खुसीमा खुसी होला? दायाँतर्फ कुनामा छेवाङ बस्यो । त्यसपछि उसको आडैमा कुन्साङ बसी । नामग्याल र गाँउँलेले छेवाङको भाइलाई सोधे— ‘तिमी भाक्टामा बस्छा कि नाइँ?’ छेवाङको भाइभन्दा पहिल्यै कुन्साङ चनाखो भई । नामग्याल र गाउँलेको प्रश्नले झसङ्ग भई । उसलाई करेन्टको ठूलो झट्का लागेजस्तो महसुस भयो । मनमनै कामना गरी — ‘हे भाग्बान् ! छेवाङको भाइ भाक्टामा बस्ना तायार नाबानोस्’ । छेवाङ र उसको भाइले मुखामुख गरे । कुन्साङले छेवाङलाई हेरी । छेवाङ र उसका आँखा जुधे । कुन्साङका तिखा आँखा याचनाले निरीह बनिरहेका थिए । उसका आँखामा डर र बिलौनाका झोपाले सिंगौरी खेलिरहेका थिए । गाउँबाट भाक्टामा बस्ने (दाजुले बिहे गरेर ल्याएपछि भाइले पनि सकार्ने) चलन लगभग हराइसकेको छ । कुनैकुनैले मात्रै यस चलनलाई अँगालेका छन् । सोध्नु उनीहरुको कत्र्तव्य थियो, सोधे । जसै उनीहरुले सोधे कुन्साङका मनमा डरले ठूलो काङ्लेन बज्यो । ‘बास्दैन !’ छेवाङको भाइले छोटो उत्तर दियो । कुन्साङ उज्याली भई । ढुक्कको लामो सास फेरी । छेवाङको भाइले भाक्टामा बस्छु भनेको भए छेवाङ र कुन्साङको बीचमा ऊ बस्ने थियो । उनीहरुसंगै खाता थाप्ने थियो र ऊ पनि कुन्साङको लोग्ने हुने थियो । कालिगण्डकी खोलाको कलकलसंगै उनीहरु एकाबिहानै बिउँझिए । झिसमिसेमै छुक्साङबाट चराङतर्फ उक्लिए । त्यो साँझ उनीहरु घिलिङमा बास बसे । भोलिपल्ट बेलुकामात्र चराङ पुगे । लेतेबाट काठ बोकेर ल्याउनु पर्दाको दुःखकष्ट चराङ पुगेसँगै हरायो । आफ्नो थातथलोमा त्यस्तो के छ कुन्नी ? आफ्नाहरुसंग त्यस्तो के छ कुन्नी? जहाँ पुग्दा हराइजान्छ थकान । जसलाई भेट्दा खुसीको लामो सास फेर्ने मन लाग्छ । चराङ पुगेसंगै उनीहरुले लामो सुस्केरा हाले । कुनै युद्ध जितेर फर्केसरह उनीहरुको अनुहार उज्यालो भयो ।

छेवाङले ओढिरहेको पछ्यौरी निकाल्यो । त्यसलाई नाक नजिक लगेर सुघ्यो । पछ्यौरीबाट मीठो बास्ना हैन पुरानो गन्ध आइरहेको थियो । कुनै बेला फाग्नीमा छुट्टिदै गर्दा कुन्साङले दिएकी थिई यो पछ्यौरी र भनेकी थिई — ‘यासलाई जातनले राख्नू । भोलि मा जाँ भाए पानि तिम्रै साथमा रहेको माहसुस गाराउने छा ।’ छेवाङले पछ्यौरी सुम्सुम्यायो । फेरि सुघ्यो । उसले पछ्यौरीमा कुन्साङको बास्ना अनुभूत ग¥यो । मान्छेले छाडेर कहाँ गैसकी । बास्ना भने यहीँ अल्झिएको रहेछ । उसो त छेवाङको अघि एउटा तीतो सत्य च्योङ्सी गुम्बाको बायाँपट्टिको अक्करे पहाडभन्दा अग्लो बनेर उभिएको थियो । कुन्साङ आफ्नी हो भन्ने ऊसंग कुनै कानूनी आधार थिएन । उनीहरुले बिहे गर्दा धेरै मानिस गाउँमा थिएनन् । जो उनीहरुका साक्षी बन्न सक्थे । फेरि कानूनले त प्रमाण हेर्छ । कागजपत्र हेर्छ । अनुहार हेर्दैन । कागजमा छेवाङसंग कुन्साङको बिहे नै भएको छैन । कागजमा बिहे रिन्जिनसंग भएको थियो । त्यो पनि अमेरिका जाने प्रयोजनका लागि मात्र । छेवाङलाई यो कस्तो घनचक्कर आइलाग्यो । कहाँ हो? कहाँ ! बिरानो देशमा पुगेकी कुन्साङलाई मेरी हो भन्दै कहाँ जानु ? कसरी जानु? हिमालमा हिउँ थामिएन । गाउँमा मानिस थामिएनन् । हेर्दाहेर्दै हिमाल रित्तिएर नाङ्गा बन्न थाले । हिमालमा पहिलेजस्तो हिउँ पर्न छाड्यो । कुनै बेला लामो समय हिउँले छपक्क ढाकिने हिमालहरु अचेल चाँडै पग्लिन थालेका छन् । हिउँ पग्लिएको हिमाल त निख्खर देखिदोरहेछ । हिमाललाई त हिउँ भएकै सुहाउँदो रहेछ । हेर्दाहेर्दै चराङ गाउँ पनि रित्तिन थाल्यो । यो त्यही घाट हो । जहाँ उहिले छेवाङको पहिलो सन्तान गाडिएको थियो । यो त्यही घाट हो जहाँ नामग्यालको लाश टुक्राटुक्रा पारेर गिद्दलाई ख्वाइएको थियो । छेवाङको आँखामा उही सानो सन्तान र बाउको अनुहार धुमिल बनेर आयो । हातमा त्यही छोराको चालविहिन शरीर राखिएजस्तो अनुभूति भयो । बाउले आफ्ना खुट्टा तानेर यहीं बस्न हारगुहार गरिरहेको अनुभूत भयो । हात गरुङ्गा भएर आए । खुट्टा लुगलुग काप्न थाले । हृदयको गति एक्कासी बढ्न थाल्यो । ऊ थुचुक्क भुइँमा बस्यो । छेवाङको मन दोसाँधको अनकन्टार गुफाभित्र छि¥यो र मनमा अनौंठो प्रश्न उब्जियो

मा आब काँ जाउँ
घार् जाउँ कि घाट् जाउँ

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार