शीतभण्डार सञ्चालन नहुँदा कृषक समस्यामा



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको हाताभित्र निर्माण गरिएको शीतभण्डार सञ्चालन नहुँदा कृषकहरू समस्यामा पर्न थालेका छन् । २०८१ असार २२ गते निर्माण सम्पन्न भइसक्दा पनि सो शीतभण्डार सञ्चालनको कुनै सुरसार नहुँदा कृषकहरू समस्यामा पर्न थालेका हुन् । शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले १ करोड १६ लाख ७७ हजार ९६३ रूपैयाँँ विनियोजन गरेको निर्देशनालयका निर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग ९२ लाख ४२ हजार १६६ रूपैयाँँमा ठेक्का सम्झौता भएको उनले बताए । शीतभण्डार निर्माण सम्पन्न हुँदासम्म ९१ लाख १६ हजार ४२५ रूपैयाँँ यथार्थ खर्च भएको उनले बताए । उनले भने ‘हामीले हस्तान्तरण गत वर्ष नै गर्ने भन्ने थियो तर कृषि व्यवस्थापन समितिको आनाकानीका कारण हस्तान्तरण हुन सकेन । उनीहरू अपूरो छ भन्न थाले । अहिले चालू आर्थिक वर्षमा फेरि ९ लाख बजेट छुट्याइएको छ ।’

बाँकी काम पूरा गरेर नै हस्तान्तरण गर्ने उनले बताए । यो वर्ष जसरी पनि हस्तान्तरण गर्ने उनले बताए । उनले भने ‘हामीले निर्माण गरिदिने हो, समितिलाई हस्तान्तरण गर्छौँ । तर, सानातिना कुराहरूलाई हेरविचार गर्ने मर्मतसम्भार गर्ने उनीहरूको काम पनि होनी ? सधैँभरी हामीले जिम्मा लिइराख्ने त होइनौँ ?’ वन मन्त्रालयको जग्गा कृषि व्यवस्थापन समितिले उपभोग गर्दै आएको छ । सोही जग्गामा निर्माण गरिएको शीतभण्डार सञ्चालनमा आउन नसक्नु राज्यको लापरबाही रहेको कृषकहरूको गुनासो रहेको छ ।

निर्माण सम्पन्न हुन ७ वर्ष लागेको र निर्माणपश्चात् पनि शीतभण्डारमा पानी चुहिने गरेको कृषि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले जानकारी दिए । शीतभण्डार समयमा सञ्चालनमा आएको भए विषादी कृषिजन्य वस्तु रोक्न सहज हुने उनले बताए । किसानलाई बचाउन पनि शीतभण्डार सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । ‘३५ प्रतिशतसम्म कार्बोनेट, अर्गानो फस्फेटको मात्रा छ भने त्यो कृषिजन्य वस्तु खानयोग्य हुन्छ । ३५ देखि ४५ प्रतिशत छ भने केही दिन क्वारेन्टाइन गर्नुपर्ने अर्थात् रोकावट हुन्छ,’ उनले भने, ‘रोकावट समयमा कोल्डस्टोरमा राख्न सकिन्थ्यो । फेरि ल्याब टेस्ट गरेर खानयोग्य छ भने बजारमा पठाउन सकिन्छ । जसले गर्दा किसान र खरिद गर्ने व्यापारीको क्षति हुन पाउँदैन । किसान बचाउन पनि शीतभण्डार सञ्चालन गर्न आवश्यक छ ।’

उनले भने, ‘भदौभित्र कोल्डस्टोर समितिलाई हस्तान्तरण गरी सञ्चालन गर्ने भन्ने छ । आशावादी त छौँ । तर ढुक्क चाहिँ छैनौँ । रेखदेख कसैको छैन । छिटो हस्तान्तरण गरेको भए समितिले रेखदेख गर्ने थियो ।’ व्यवस्थापन समितिको काम व्यापारी र कृषकलाई जोडिदिने, उत्पादनलाई बजारीकरणका लागि सहयोग गर्ने, कृषकका समस्या समाधान गर्नतिर केन्द्रित हुने रहेको उनले बताए । नेपालभरी ११ वटा हाटबजार रहेको र ती सबै कृषि विभागको निर्देशनअनुसार चल्ने गरेको उनले बताए । उनले भने, ‘यो हाटबजार पनि सोही आधारमा चल्छ र आफूखुसी केही गर्न पाउदैनौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार