तातोपानी गाउँपालिकामा झोला खरिदमा बदमासी भएको पैसा असुल्न पत्राचार



नन्दराम जैशी । सुर्खेत ।

जुम्लाको तातोपानी गाउँपालिकाले दोहोरो भरपाई बनाएर खरिद गरिएका झोलाको पैसा असुल्न कर्मचारीलाई पत्राचार गरेको छ । सम्बन्धित कर्मचारीलाई प्रतिथान १२ हजार ४३० रूपैयाँ बराबर झोलाको रकम तत्काल फिर्ता गर्न गाउँपालिकाले पत्राचारसहित निर्देशन दिएको हो । यसअघि साउन २५ गते मिसन टुडे दैनिकमा ‘एउटै झोलाको साढे १२ हजार’ शीर्षकमा समाचार प्रकाशन भएपछि बल्ल झोलाको रकम असुल्नतर्फ गाउँपालिकाको ध्यानाकर्षण भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार कर्मचारीलाई आगामी दसैँअघि नै सो रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।

‘झोला खरिद तथा वितरण प्रक्रियामा त्रुटि भएको रहेछ । त्यसलाई तत्काल सच्याउन दसैँअघि नै रकम फिर्ता गर्न भनेका छौँ,’ उनले भने, ‘त्यो रकम फिर्ता भएपछि बेरुजु राजस्व शीर्षकमा दाखिला गरी बेरुजु संपरीक्षणका लागि महालेखा परीक्षकको कार्यालयलाई पत्र पठाउने तयारी छ ।’

आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तमा झोला खरिद गरी दोहोरो भरपाई बनाएर कर्मचारीलाई वितरण गरिएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (१०)अनुसार भुक्तानी दिँदा रित पुगे नपुगेको यकिन गरेर मात्रै भुक्तानी दिनुपर्ने कानुनी व्यवस्था छ । तर तातोपानी गाउँपालिकाले असार २४ गते प्रतिथान १० हजार १७० मूल्यको आठ वटा झोला खरिद गरी पाँच जना कर्मचारीले बुझिलिएको भरपाई बनाएको थियो ।
ती झोला जुम्लाकै वि. एण्ड वि. सपिङ सेन्टरबाट खरिद भएको उल्लेख छ । झोला बुझिलिएको अवस्थामा फेरी त्यही मितिमा प्रतिथान १२ हजार ४३० रूपैयाँ मूल्यको पाँच थान अरु झोला सोही कर्मचारीले बुझिलिएको अर्को भरपाई बनाइएको थियो । यसरी दोहोरो भरपाई बनाएका ति झोला खरिद भएकै हुन् भन्ने आधार देखिँदैन ।

गाउँपालिका स्रोतका अनुसार झोला खरिद गरेको भरपाई बनाएर कर्मचारीले नगद रकम बुझेका हुन् । यसरी दोहोरो झोला खर्च वापतको रकम असुल हुनुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमार्फत ५१ हजार १५० रूपैयाँ असुल गर्न निर्देशन दिएको थियो । तर गाउँपालिकाले महालेखाको निर्देशन तत्काल कार्यान्वयन नगर्दा समाचार नै प्रकाशन भएपछि ध्यान दिएको हो ।

गाउँपालिकाको हालसम्म अद्यावधिक बेरुजु २४ करोड २६ लाख ५७ हजार पुगेको छ । जसमध्ये असुल गर्नुपर्ने मात्रै २९ लाख ८४ हजार रकम छ । तर गाउँपालिकाले असुल गर्नुपर्ने बेरुजु रकम सम्बन्धित व्यक्ति, उपभोक्ता तथा संस्थाबाट सबै असुल गर्न सकेको छैन् । गाउँपालिकाका सूचना अधिकारी ओमबहादुुर चन्दका अनुसार असुल गर्नुपर्ने रकम धमाधम फिर्ता हुनेक्रम जारी छ । असुल गर्नुपर्ने सबै बेरुजु रकम फिर्ता गर्न सम्बन्धित सबै सरोकारवालालाई पत्राचार गरिएको उनले बताए । जसअनुसार केहीले रकम फिर्ता गरेका छन्, भने केही फिर्ता गर्ने तयारीमा छन् ।

प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुुवेदीले असुल गर्नुपर्ने बेरुजु रकम सम्बन्धित व्यक्ति वा निकायले जसरी पनि तिर्नैपर्ने बताए । ‘असुल गर्नुपर्ने भनेर लेखेको बेरुजु रकम ढिलो चाँडो तिर्नै पर्छ । सकेसम्म सम्बन्धित आर्थिक वर्षभित्रै तिरे राम्रो,’ उनले भने, ‘जबसम्म यो रकम तिरिँदैन् तबसम्म उक्त व्यक्ति र निकायको नाममा रहिरहन्छ । सकभर बेरुजु नै नआउने गरी काम गर्नुपर्छ । तर असुल गर्नुपर्ने गरी बेरुजु राख्नु वित्तीय अनुसाशनको ठाडो उल्लंघन हो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार