बाँकेमा लागूऔषधदेखि ठगीका अपराधको ग्राफ बढ्दो



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके प्रहरीमा दर्ता भएका मुद्दाका आधारमा पछिल्ला तीन वर्षमा बाँके जिल्लामा अपराधको ग्राफ बढ्दो क्रममा रहेको देखिएको छ । कूल मुद्दाको सङ्ख्यामा उल्लेखनीय वृद्धि नभएपनि केही अपराध विशेषका मुद्दाहरूमा बढोत्तरी आएको देखिएको छ । विशेषगरी लागूऔषध, जबरजस्ती करणी, आत्महत्या, चोरी, ठगी, ज्यान मार्ने उद्योगजस्ता अपराधको ग्राफ उकालोमा रहेको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरीमा लागूऔषधसम्बन्धीका मुद्दाहरू गत तीन आर्थिक वर्षहरू २०७९–८०, ०८०–८१ र ०८१–८२ मा क्रमशः एक सय ५७, एक सय ७७ र दुई सय १३ वटा दर्ता भए । यसैगरी जबरजस्ती करणीका क्रमशः ३८, ६० र ६४ वटा, आत्महत्याका एक सय १५, एक सय ५ र एक सय ३६ वटा, साधारण चोरीका ६८, ९६ र एक सय १५ वटा, ठगीका ३८, ३१ र ६४ वटा र जिल्लामा ज्यान मार्ने उद्योगमा ३७, ५२ र ५८ वटा मुद्दा दर्ता भएका थिए ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातली अपराधसम्बन्धी मुद्दाहरूको सङ्ख्या बढ्नुले प्रहरीको सक्रियता बढेको र अपराध पनि बढेको दुवै अर्थमा हेर्नुपर्ने बताउँछन् । उनले लागूऔषधसम्बन्धीका मुद्दाहरू बढ्नुका पछाडि प्रहरीले अपनाएको नयाँ शैली र लागूऔषधविरुद्धको अभियानको प्रभावकारिता पनि कारण रहेको बताए । अर्काेतिर पछिल्लो समय युवा पुस्ता चरम विचलनमा रहेको, पारिवारिक निगरानीको अभाव, देखासिकी, मेबाइलमार्फत लागूऔषधसम्म पहुँच स्थापित हुन सजिलो भएका जस्ता कारणले लागूऔषधका सेवनकर्ताहरू पनि बढेको उनले बताए ।

लागूऔषधको सम्बन्ध जबरजस्ती करणी, चोरी लगायतका सबै अपराधसँग हुने भएकोले अपराधका मुद्दाहरूलाई बहुआयामिक ढंगले हेर्नुपर्ने उनको भनाइ छ । ‘लागूऔषध प्रयोगकर्तालाई पैसाको जरुरत हुन्छ । उसको मागअनुसारको पैसा पाएन भने उ अर्काे अपराधमा फस्छ । त्यसकारण यसलाई अहिलेको समाजको गम्भीर समस्याको रूपमा लिइएको छ,’ उनले भने ।

अर्काेतर्फ आत्महत्याका घटनाहरूमा पनि बढोत्तरी देखिनुले समाजमा मानसिक स्वास्थ्यसम्बन्धीको अभाव झल्किएको उनको भनाइ छ । ‘अहिले मानिसहरू एकाङ्गी बन्दै गएका छन् । परिवारमा एकअर्काबीच नै कुरा हुन छाडेको छ । मानिसहरूले दुःखपीडा व्यक्त गर्ने ठाउँ पाइरहेका छैनन् । यसले गर्दा मानिसहरूमा निराशाले रोगको रुप लिएको देखिन्छ । यसलाई रोक्न मानसिक स्वास्थ्य समस्यालाई सबैले गम्भीर समस्याको रूपमा लिनुपर्ने अवस्था आएको छ,’ डिएसपी पातलीले भने ।

ठगीका मुद्दामा पनि बढोत्तरी देखिएकोमा विशेषगरी लेनदेनसम्बन्धी ठगीका घटनाहरू बढी रहेका पातलीले बताए । ‘पैसा लिने तर काम नगरिदिने जस्ता समस्यालाई लिएर बैंकिङ कारोबारसँग जोडिएका मुद्दाहरू पनि ठगीमा दर्ता भएका छन्,’ उनले भने । जिल्लामा अभद्र व्यवहार, बैंकिङ कसुर र सवारी चोरीजस्ता अपराधमा भने मुद्दाको सङ्ख्या घट्दो रहेको देखिन्छ । अभद्र व्यवहारमा क्रमशः तीन सय १४, तीन सय ४२ र दुई सय ९१ व्टा मुद्दा दर्ता हुँदा बैंकिङ कसुरमा तीन सय पाँच, तीन सय ३१ हँुदै पछिल्लो आर्थिक वर्षमा एक सय ६१ वटा मुद्दा मात्रै दर्ता भए । यसैगरी अघिल्लो आवमा ३२ वटा मुद्दा दर्ता भएकोमा गत आवमा १२ वटामात्रै दर्ता भए ।

जिल्ला प्रहरीमा पछिल्ला तीन आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूको सङ्ख्या हेर्दा धेरै ठूलोे बढोत्तरी देखिएको छैन । आर्थिक वर्ष २०७९–८० मा जम्मा एक हजार चार सय ७७ मुद्दा रहेकोमा आव ०८०–८१ मा एक हजार पाँच सय ८६ मुद्दा दर्ता भएका थिए भने ०८१–८२ मा एक हजार चार सय ८६ मुद्दा दर्ता भएका थिए ।

अर्काेतिर मुद्दा फछ्र्याैटको अवस्थामा भने खस्कँदो अवस्थामा रहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७९–०८० मा १४ वटा मुद्दा मात्रै फछ्र्याैट हुन बाँकी रहेकोमा आव ०८०–८१ मा दुई सय ३७ र ०८१–८२ मा तीन सय ९६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । बाँके प्रहरी प्रवक्ता डिएसपी पातली गत वर्षका धेरै मुद्दा फछ्र्यौटको अन्तिम चरणमा रहेको र कार्य चुस्तता बढाएर फछ्र्यौट गरिन लागिएको दाबी गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार