वीरेन्द्रनगर ।
सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि आन्दोलनका क्रममा भएका सहिद, घाइते तथा बेपत्ता व्यक्तिहरूको विवरण माग गरिएको छ । कर्णाली प्रदेश सरकारले उक्त विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन ७९ वटै पालिकालाई निर्देशन दिएको हो । मन्त्रालयका निमित्त सचिव उत्तम गौतमद्वारा हस्ताक्षरित सूचनामा गत आर्थिक वर्षमा वितरण भएको भत्ताको प्रतिवेदनसमेत मन्त्रालयमा पठाउन निर्देशन दिइएको हो ।
पत्रमा भनिएको छ, ‘अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा वितरण गरिएको भत्ताको प्रतिवेदन र चालू आर्थिक वर्ष ०८२–०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण प्राप्त नभएमा उक्त भत्ताको रकम अख्तियारी पठाउन मन्त्रालय बाध्य हुने छैन ।’ यस्तै पालिकाहरूलाई सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ताको कार्यजिम्मेवारी तोकिएको शाखा÷कर्मचारीको नाम र सम्पर्क नम्बरसहित विवरण पठाउन निर्देशन गरिएको छ।
कर्णाली सरकारले मासिक दुई हजारका दरले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद या बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्दै आएको छ ।
‘सहिद स्मृति भत्ता वितरण कार्यविधि, २०८१ र घाइते अपांग भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ अनुसार उक्त भक्ता रकम अख्तियारी दिनुपर्ने भएको हो । कार्यविधिमा भएको व्यवस्थाबमोजिम कार्यविधिको अनुसूची–१ बमोजिम चालू आर्थिक वर्ष ०८२–०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको आवेदन संकलन गरी आवेदन यकिन गरेर अनुसूची–२ बमोजिमको ढाँचामा लाभग्राहीको विवरण पठाउन अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्