खजुरा (बाँके) ।
बाँकेको खजुरामा वृहत् तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अवसर पारी हरेक वर्ष हुने तीज महोत्सवलाई निरन्तरता दिँदै यसपटक पनि ‘एकल तीज नृत्य प्रतियोगिता’सहितको कार्यक्रम हुने भएको हो । न्यू डाँफे स्पोट्र्स क्लब खजुराको मुख्य आयोजनामा तीजको दिन भदौ १० गते महोत्सव गर्ने गरी आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
तीज महोत्सव मूल आयोजक समितिका संयोजक कसम मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्लामै एकल तीज नृत्य प्रतियोगिता गर्नेमध्ये धेरै धनराशि प्रदान गर्नेगरी तीजको दिनमा महोत्सव आयोजना हुने न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुनेले ५१ सय रूपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गर्ने न्यू डाँफे स्पोट्र्स क्लबका सचिव बालाराम खत्रीले जनाए ।
प्रतियोगिताको लागि आवश्यक सबै पुरस्कार खजुराका समाजसेवी लिलबहादुर थापाले सौजन्य गर्ने निश्चित भएको महोत्सवका सहजकर्ता तथा क्लबका प्रेस सल्लाहकार खगेन्द्र दाहालले जानकारी दिए । समाजसेवी थापा हाल अमेरिकामा रहेर नेपालमा सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न र स्थानीय कलाकारहरूको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको सहजकर्ता दाहालले बताए ।
उनले महोत्सवमा खजुरा क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान गरेका अग्रज खजुरेली समाजसेवीहरूलाई सम्मान गरिने जानकारी दिए ।महोत्सवमा सहभागिहरूको सङ्ख्या धेरै आएका कारण अडिसनबाट छानिएका कलाकारको प्रस्तुति मात्र महोत्सवमा सहभागी गराइने महोत्सव आयोजक समितिकी संयोजक मगरले बताइन् । अडिसन भदौ ६ गते गर्नेगरी प्रतियोगीहरूको फारम भर्ने कार्य सुरु गरिएको तथा तीज महोत्सवमा विभिन्न विद्यालय, क्लबहरूको सामूहिक नृत्य प्रस्तुति रहने संयोजक मगरले जनाइन् ।
महोत्सव सम्पन्न गर्न स्थानीय निकाय, संस्था, क्लब लगायतसँगको सहकार्य रहने आर्थिक संयोजक दानबहादुर गुरुङले जानकारी दिए । पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष नारायण खनालले कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने सल्लाहकार बालवीर थापाले मौलिक तीजका प्रस्तुतिलाई महत्वका साथ हेरिने उल्लेख गरे ।
तीज कार्यक्रम हेर्नका लागि खजुरामा हरेक वर्ष टाढा टाढादेखि दर्शक आउने गरेका छन् । खजुरा क्षेत्र संरक्षण समितिले प्रारम्भ गरेको वृहत् तीज महोत्सवलाई खजुराका विभिन्न संघ संस्थाहरूले आलोपालो गरी सञ्चालन गर्दै आएका छन् । तीज महोत्सव खजुराको साँस्कृतिक पहिचान बनेको महोत्सवका सहजकर्ता पत्रकार दाहालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्