विशेषगरी गरिब तथा विपन्न अभिभावकका छोराछोरीहरू यस्ता प्रावि विद्यालयमा अध्ययन गर्न आउँछन् । तर, यी विद्यालयहरूमा आधारभूत पूर्वाधारहरूको व्यवस्था गर्न तीनै तहका सरकारहरू चुकेका छन् । प्राथमिक विद्यालयहरू कतै अधुरा अपुरा संरचनामा सञ्चालन भइरहेका छन् भने कतै पुराना र जीर्ण संरचनामा सञ्चालन भइरहेका छन् । बालबालिकाहरूले आधारभूतरूपमा पाउनुपर्ने शौचालय र खानेपानीको सुविधा पनि पाएका छैनन् । अधिकांश प्राथमिक विद्यालयहरूमा शौचालयको सेफ्टी ट्यांकी र नल्का एकै ठाउँमा रहेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित गायत्री विद्या विस्तार गौशाला गुरुकुलमा बालविकासदेखि कक्षा तीनसम्म पढाइ हुन्छ ।विद्यालयमा कक्षा चारवटा चलाउनुपर्ने हुन्छ भने कक्षा कोठा पनि चारवटा मात्रै छन् । कार्यालय कक्ष र भान्साका लागि कोठा नै छैन । भएका कोठामै कक्षाहरू एकीकृत गरेर चलाउनु परिरहेको विद्यालय प्रधानाध्यापक शोभाकुमारी ओलीले बताइन् ।
विद्यालयको प्रांगणमा आव २०७९–०८० बाट बन्न लागेको एउटा दुईकोठे भवन अधुरै छ । भित्ता नै तयार नभैकन छत ढलान गरिएको छ । सामाजिक विकास कार्यालय बाँकेले विद्यालयको भवनको पिलर ठड्याउने र छत ढलान गर्नेबाहेक अरु काम पूरा नगरी अलपत्र छोडिदिएको छ । प्रधानाध्यापक ओलीले भनिन्, ‘हामीले भवन पूरा गरिदिनुप¥यो भनेर भनेको भन्यै छौँ । बजेट आएको छैन् भन्नुहुन्छ । बजेट माग गरिरहेका छौँ भन्नुभएको छ । अहिलेसम्म भवन पूरा कहिले हुने हो ठेगान छैन ।’
९० जनाभन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा बिहीबार ८ जना विद्यार्थी मात्रै उपस्थित थिए । नाम गुरुकुल भएपनि सामान्य विद्यालयकै पद्धतिमा पढाइ भइरहेको उक्त विद्यालयमा बालबालिकालाई उपस्थित गराउनै सकस हुने गरेको प्रधानाध्यापक ओलीले बताइन् । ‘हामी वर्षैभरी अभिभावकको घरमा गएर बच्चाहरूलाई विद्यालय पठाइदिनुप¥यो भनेर सम्झाउनुपर्ने स्थिति छ । बालबालिका गाउँमै खेलिरहेका हुन्छन् । अभिभावकले चासै दिँदैनन्,’ ओलीले भनिन् ।
जंगली सर्पकिराको बास हुनेगरी विद्यालयको हातामै वनमारा झार फैलिएको छ । केही वर्ष पहिले बनाइएको शौचालय नयाँ नापीले विद्यालयको चार किल्ला छुट्याएपछि विद्यालयको हाताबाहिर परेको छ । त्यही शौचालय पनि प्रयोग गर्न लायक स्थितिमा छैन । बालबालिकाले पानी बोकेर शौचालयसम्म पु¥याउन नसक्ने स्थिति छ । विद्यालयमा पानीका नल्का छैन, मोटर जडान गरिएको छ । मोटरबाट निकालिएको पानी बालबालिकाहरूले सिधै पिउनु परिरहेको छ । बिजुली नभएको बेला मोटर पनि नचल्दा समस्या हुने गरेको शिक्षकहरूले बताए ।
०००
डुडुवा गाउँपालिकाको भव्य तीनतले भवनबाट करिब तीन किलोमिटरको दूरीमा छ माछापुच्छ«े प्रावि । उक्त विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म गरेर ६ वटा कक्षाहरू सञ्चालन हुन्छन् । तर, विद्यालयमा कक्षा कोठा जम्मा ५ वटा मात्रै छन् । त्यहाँ पनि कार्यालय कक्षका लागि अलग्गै कोठा छैन । एउटा कक्षाको कुनामा दराज राखेर विद्यालयको कार्यालय चल्छ । अभिभावकहरू आएर बस्नका लागि पनि ठाउँ छैन, फर्निचर छैनन् ।
भान्सा कोठा त परै जाओस्, शौचालयको अवस्था यस्तो छ कि शिक्षकहरूले प्रयोग गर्ने शौचालयबाहेक अरु शौचालयमा छिर्न सकिने अवस्था छैन । विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार मिश्रले भने, ‘हामी त जसो तसो शौचालयमा छिर्छौँ । तर विद्यार्थीहरू शौचालय जान सकिने अवस्था छैन । उनीहरू बाहिरै जान्छन् ।’ विद्यालयमा खानेपानीको लागि नल्का पनि सही हालतमा छैन । जंगलको छेउमा रहेको विद्यालयमा बाउण्ड्री वाल पनि छैन । प्रधानाध्यापक मिश्रले भने, ‘म यस विद्यालयमा आएको करिब ७ वर्ष भयो अहिलेसम्म कोही कसरी विद्यालय चलाइरहेको छस् भनेर सोध्न पनि आएको छैन ।’
०००
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ करमोहना गाउँमा मध्यभागमा छ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । १२ धुर जग्गामा एउटा टिनले छाएको र एउटा ढलान छत भएको गरी दुई वटा भवन छन् । जम्मा कोठा छन् पाँचवटा । कक्षा छन् बालविकास गरी ६ वटा । एउटा कोठामा कार्यालय कक्ष सञ्चालन गरिएकोले विद्यार्थीका लागि कक्षा कोठा बच्छन् मात्र ४ वटा । चार वटा कोठामा ६ वटा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनै हम्मेहम्मे पर्ने गरेको प्रधानाध्यापक जाकिर हुुसेन सिद्धिकी बताउँछन् ।
‘जसोतसो व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ । बालविकास र कक्षा एक अलग अलग छ । बाँकी कक्षाहरू मर्ज गरेर पढाउनु परिरहेको छ,’ सिद्धीकीले भने । जानकी गाउँपालिकाकै इन्द्रपुर गाउँमा छ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इन्द्रपुर । त्यहाँ पनि कक्षा पाँचसम्म पढाइ हुन्छ । बालविकाससमेत गरेर ६ वटा कक्षाहरू सञ्चालन हुन्छन् । विद्यालयमा छानामुनि दुई र पक्की छानामुनि चारवटा गरी कक्षा कोठा पनि ६ वटै छन् ।
एउटा कोठा कार्यालय कक्षका लागि प्रयोग भएपछि विद्यालयले बालविकास र कक्षा १ का विद्यार्थीलाई एकै कक्षामा राखेर पढाउने गरिएको प्रधानाध्यापक गौरी पुनले बताइन् । उनले भनिन्, ‘दुईवटा कक्षा गरी ६० जनाभन्दा बढी विद्यार्थी छन् । उनीहरूमध्ये ४० जनामात्रै आए भनेपनि एउटै कोठामा राखेर पढाउँदा कोचाकोचको अवस्था हुन्छ । त्यसैले कहिलेकाहीँ बरण्डामै राखेर पनि पढाउनुपर्ने हुन्छ ।’
०००
गाउँमा रहेका प्राथमिक विद्यालयको मात्रै अवस्था खराब होइन । सहरी क्षेत्रका प्राथमिक विद्यालयको पनि अवस्था उस्तै छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १८ मा रहेको रामजानकी प्राविमा बालविकाससहित कक्षा तीनसम्म पढाइ हुन्छ । तर, कक्षाकोठा जम्मा दुईवटा मात्रै छन् । तीमध्ये एउटा कोठालाई पार्टेसन गरेर दुईवटा बनाइएको छ । तीमध्ये एउटा कोठामा कक्षा दुई र कार्यालयको लागि भनेर एउटा टेबल राखिएको छ ।
विद्यालयका प्रधानाध्यापक मरिचमान बिष्टका अनुसार विद्यालयका अहिले कम्तीमा दुईवटा कोठाको सख्त जरुरत छ । यस विषयमा वडा तथा पालिकामा कुरा पनि भएको र भवन बनाउने आश्वासन पनि पाएको उनले बताए । विद्यालयमा दिवा खाजा बनाउने ठाउँ नभएको भन्दै बाहिर पसलबाट मगाएर खुवाउने गरिएको छ ।
एक वर्ष अघिसम्म उक्त विद्यालयको अवस्था झनै खराब थियो । विद्यालय सडकभन्दा गहिरो ठाउँमा थियो । खाल्डोजस्तो ठाउँमा रहेको उक्त विद्यालयका एक–एक कोठाका दुई भवनहरू जीर्ण अवस्थामा थिए । गत आर्थिक वर्षमा प्रदेश सरकारको पाँच लाख र स्थानीय सरकारको दुई लाख गरी ७ लाख रूपैयाँ खर्चेर माटो पटान गर्ने, बाउण्ड्री वाल लगाउने, रंगरोगन गर्ने र केही मर्मतका कामहरू भएको प्रधानाध्यापक बिष्टले बताए ।
०००
यी केही विद्यालयका उदाहरण मात्रै हुन् । प्राथमिक तहसम्म पढाइ हुने विद्यालयहरू अहिले पनि आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेका छन् । यस्ता विद्यालयहरू गाउँटोलमा सहज पहुँचमा हुने भएकोले साना–साना बालबालिकाको पहिलो विद्यालयका रूपमा रहेका छन् । विशेषगरी गरिब तथा विपन्न अभिभावकका छोराछोरीहरू यस्ता विद्यालयमा अध्ययन गर्न आउँछन् । तर, यी विद्यालयहरूमा आधारभूत पूर्वाधारहरूको व्यवस्था गर्न तीनै तहका सरकारहरू चुकेका छन् ।
प्राथमिक विद्यालयहरू कतै अधुरा अपुरा संरचनामा सञ्चालन भइरहेका छन् भने कतै पुराना र जीर्ण संरचनामा सञ्चालन भइरहेका छन् । यस्ता विद्यालयमा वर्षाैँदेखि कुनै सुधारका योजनाहरू सञ्चालन भएका छैनन् । बालबालिकाहरूले आधारभूतरूपमा पाउनुपर्ने शौचालय र खानेपानीको सुविधा पनि पाएका छैनन् । अधिकांश प्राथमिक विद्यालयहरूमा शौचालयको सेफ्टी ट्यांकी र नल्का एकै ठाउँमा रहेका छन् ।
त्यही नल्काको पानी सिधै बालबालिकाहरूले पिउनु परिरहेको छ । यी विद्यालयहरूमा सरसफाइको लागि कुनै व्यवस्था छैन । यतिमात्रै होइन यस्ता विद्यालयहरू शिक्षक तथा जनशक्तिको अभावसँग पनि जुधिरहेका छन् । डुडुवा गाउँपालिकास्थित माछापुच्छ«े प्राविमा कक्षा पाँचसम्म पढाउन ४ जना मात्रै शिक्षक छन् भने गायत्री विद्या विस्तार गौशाला गुरुकुलमा कार्यालय सहयोगीसमेत छैनन् ।
यी विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा नियमित गराउन पनि चुनौती रहेको छ । वर्षैभरी कुनै न कुनै बाहनामा बालबालिकाहरूलाई अभिभावकले विद्यालय नपठाउने गरेको माछापुच्छ«े प्राविका प्रधानाध्यापक मिश्रले भने, ‘धान रोप्ने बेला, काट्ने बेला, गहु लगाउने बेला अनेक बाहनामा त विद्यार्थी आउँदैनन् आउँदैनन् । अनेक चाडबाडका नाममा पनि विद्यार्थीहरू नआउने अवस्था छ । रक्षाबन्धनका लागि पनि तीन दिन अगाडिदेखि नै विद्यार्थी आउन छोड्छन् । तीन दिन पछिसम्म विद्यालय आउँदैनन् ।’
डडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो स्थानीय तहको बजेटले विद्यालयमा आवश्यकताअनुसारको लगानी गर्न सकिने अवस्था नरहेको बताउँछिन् । उनले भनिन्, ‘स्थानीय सरकारसँग सीमित स्रोत छ । हामीसँग पनि ढुंगा गिट्टी बालुवाबाहेक अरु कुनै स्रोत छैन । त्यसबाट जति सकिन्छ सुविधा थप्दै आएका छौँ ।’ उनले आफूहरूले अभिभावकमा शिक्षाप्रति जागरण फैलाउन पनि धेरै काम गरेको दाबी गरिन् । उनले भनिन्, ‘हामी आउनुभन्दा अघि र अहिलेको अवस्था तुलना गर्नुभयो भने धेरै सुधार आएको छ । यसमा पालिकाले मात्रै लागेर हुँदैन अभिभावकहरू नै जागरुक हुनुप¥यो ।’
जानकी गाउँपालिका बाँकेका शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारी पनि गाउँपालिकाको सीमित स्रोतले सबै विद्यालयलाई बजेट पु¥याउन नसकिँदा प्राथमिक विद्यालयहरू छायाँमा रहेको बताउँछिन् । तर एकजना प्रधानाध्यापकले राजनीतिक नेतृत्वले प्राथमिक तहका विद्यालयहरूलाई प्राथमिकतामै नराखेको बताए । उनले भने, ‘उहाँहरूलाई भोट चाहिन्छ । धेरै विद्यार्थी भएका ठूलो विद्यालयतिरै बढी बजेट खन्याउने प्रवृत्ति छ । तर बालबालिकाको जग निर्माण गर्ने प्राथमिक विद्यालय उहाँहरूको प्राथमिकतामै छैन ।’
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधार नगरिकन गुणस्तर सुधार्न नसकिने बताउँछन् । ‘बालबालिकालाई विद्यालय जाउँ–जाउँ लाग्ने विद्यालय नबनाइकन गुणस्तर सुधार्न सकिँदैन भन्ने मेरो पनि बुझाइ हो । त्यसमा भौतिक पूर्वाधार पहिलो शर्त हो,’ मन्त्री तिमिल्सिनाले भने । उनले विद्यालयको आधारभूत भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गर्न सधैँ तयार रहेको बताए ।
तर, स्थानीय सरकारले आफ्ना विद्यालयहरूको आवश्यकताका आधारमा प्राथमिकीकरण गरेर प्रदेश सरकारमा पठाउनुपर्ने बताए । ‘मन्त्रालयसँग स्थानीयस्तरमै गएर अवस्था बुझ्ने र मूल्यांकन गर्नसक्ने जनशक्ति नै अभाव छ । त्यसकारण स्थानीय सरकारले आफ्नो क्षेत्रका विद्यालयको अवस्थाबारे अध्ययन गरेर प्राथमिकता निर्धारण गरी हामीलाई पठाउनुभयो भने हामीले सहकार्य गर्छाैँ । तर उहाँहरूबाट हामीकहाँ सूचना त आउनुप¥यो,’ मन्त्री तिमिल्सिनाले मिसन टुडेसँग भने ।









प्रतिक्रिया दिनुहोस्