कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ६३ दिनपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटमा उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । उक्त विवरणअनुसार शाहीको सम्पत्तिमा पैतृक जग्गाजमिन, परिवारका सदस्यका नाममा रहेका घर तथा जग्गा, सुनचाँदी, बैंक मौज्दात, सवारीसाधन, पशुधनलगायतका सम्पत्ति समेटिएका छन् ।

सार्वजनिक विवरणमा शाहीको नाममा रहेको सम्पत्तिसँगै परिवारका सदस्यका नाममा रहेको पैतृक तथा अन्य सम्पत्तिको विवरणसमेत उल्लेख गरिएको छ । विवरणअनुसार मुख्यमन्त्री शाहीकी आमा ऐशा शाहीको नाममा गृहजिल्ला मुगुको सोरु गाउँपालिका–६ मा दुुई हजार ९४३ दशमलव ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको एउटा घर रहेको छ । उक्त घरको स्रोत ‘पैतृक सम्पत्ति’ उल्लेख गरिएको छ । त्यस्तै, उनकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस वडा नम्बर ४ मा ५६ दशमलव २५ वर्गमिटर क्षेत्रफलको अर्को घर रहेको छ ।

उक्त घरको स्रोत भने ‘बकसपत्र’ उल्लेख गरिएको छ । यसरी परिवारका सदस्यका नाममा मुगुमा दुईवटा घर रहेक छन् । शाहीको नाममा साविक जिमा गाविस वडा नम्बर ९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ भने उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस वडा नम्बर ४ मा ४२४ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ । उक्त जग्गा २० लाख रूपैयाँँमा खरिद गरिएको र त्यसको स्रोत ‘व्यवसाय’ उल्लेख गरिएको छ ।

यसैगरी, शाहीकी आमा ऐशा शाहीकै नाममा साविक जिमाका विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको जनाइएको छ । ती सबै जग्गाको स्रोत ‘पैतृक’ उल्लेख गरिएको छ । मुख्यमन्त्री शाहीले आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार उनको १० तोला सुनमध्ये ४ तोला पैतृक सम्पत्ति हो । त्यसैगरी, उनले २०५३ सालमा शिक्षकको तलबबाट ५० हजार रूपैयाँँमा २ तोला सुन खरिद गरेको उल्लेख गरेका छन् । त्यस्तै, २०७५ सालमा व्यवसायबाट प्राप्त आम्दानीबाट ४० हजार रूपैयाँँमा एक तोला सुन खरिद गरेको विवरणमा उल्लेख छ । २०८० सालमा पारिश्रमिकबाट प्राप्त रकमबाट ९० हजार रूपैयाँँमा थप १ तोला सुन खरिद गरेको उनले जनाएका छन् ।

यसैगरी, २०८१ सालमा पारिश्रमिकबाटै २ लाख ४० हजार रूपैयाँँमा थप २ तोला सुन खरिद गरेको विवरणमा उल्लेख छ । यसरी सार्वजनिक विवरणअनुसार शाहीसँग रहेको १० तोला सुनमध्ये केही पैतृक र बाँकी विभिन्न समयमा शिक्षकको तलब, व्यवसायबाट प्राप्त आम्दानी तथा पारिश्रमिकबाट खरिद गरिएको छ । मुख्यमन्त्री शाहीले आफ्नो बैंक खातामा २ लाख रूपैयाँँ मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकमको स्रोत ‘सरकारी सुविधा’ जनाइएको छ । उनको नाममा कुनै पनि कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र नरहेको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणमा मुख्यमन्त्री शाहीले लिएको बैंक ऋणसमेत उल्लेख गरेका छन् । उनले कृषि विकास बैंक, मुगुबाट २०७९ असार २८ गते १८ लाख रूपैयाँँ ऋण लिएको उल्लेख गरिएको छ । उनले उक्त ऋणमध्ये हालसम्म केही रकम भुक्तानी गरिसकेको पनि सम्पत्ति विवरणमा जनाएका छन् । सवारीसाधनतर्फ शाहीको परिवारसँग एउटा दुईपाङ्ग्रे सवारीसाधन मात्र रहेको देखिन्छ । उनकी छोरी उस्मिता शाहीको नाममा २०७५ सालमा २ लाख ३५ हजार रूपैयाँँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ ।

मुख्यमन्त्री शाहीले आफ्नो सम्पत्ति विवरणमा पशुधनसमेत समावेश गरेका छन् । उनका नाममा ७ वटा गाई–गोरु रहेको उल्लेख गरिएको छ । शाहीले प्रयोग गर्ने विद्युतीय सामग्रीको विवरणसमेत सम्पत्ति विवरणमा राखेका छन् । विवरणअनुसार उनीसँग ९० हजार रूपैयाँँ मूल्यको सामसुङ मोबाइल फोन र ६० हजार रूपैयाँँ मूल्यको भिभो मोबाइल फोन छन् । त्यस्तै, एक लाख १० हजार रूपैयाँँ मूल्यको क्यामेरा र ९० हजार रूपैयाँँ मूल्यको ल्यापटप रहेको उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार