अदानचुली (हुम्ला) ।
जिल्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका–६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् । अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, ¥याल छाड्ने, दिसापिसावमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा छ, धुन्देउमा आठ, रातामाटामा नौ र लाङ्गोरमा पाँच वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका चङ्खेली गाउँपालिका–६ चरीगाउँका प्रमसिंह सिराले बताए ।
अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशुचौपाया मरेपछि यहाँका किसानलाई ठुलो क्षति पुगेको छ । खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । यो समयमा अधिकांश किसानका पशुचौपाया अहिले लेकतिरको खर्क लिने समय भएकाले पनि लेखमा पशुचौपाया मरेका सिराले बताए ।
अज्ञात महमारीले पशुचौपाया मर्न थालेपछि लेकतिरको जङ्गलसमेत दुगन्धित भएको छ । खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आएलगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशुशाखाको ढोका चौबिसै घण्टा बन्दहुँदा रित्तो हात लिएर फर्किनुपरेको सिराले बताए ।
गाउँपालिकामा खबर गर्दासमेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको सिराले बताए । चालू आर्थिक वर्ष सुरू भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुचौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्