चार लाख ९६ हजार पर्यटकले गरे कर्णालीको अवलोकन



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

कर्णाली ब्युरो । सुर्खेत ।

कर्णाली प्रदेशमा चार लाख ९६ हजार १३६ पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा चार लाख ९६ हजारभन्दा बढी पर्यटक भित्रिएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाले जनाएको छ । मन्त्रालयका अनुसार कर्णालीमा भित्रिएका पर्यटकमा बाह्य (विदेशी) तीन हजार ६३६ छन् भने आन्तरिक पर्यटकको सङ्ख्या चार लाख ९२ हजार ५०० रहेको छ । जसमा मुगुको राराताल अवलोकनका निम्ति आएका पर्यटकमा नौ हजार ८८९ आन्तरिक र २०९ विदेशी रहेका छन् ।

यस्तै भेरी नदीमा ¥याफ्टिङ गरेका पर्यटकमा तीन हजार ७१४ आन्तरिक र दुई हजार ८६४ विदेशी पर्यटक रहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्कमा एक लाख २० हजार आन्तरिक पर्यटक पुगेका छन् । यहाँ विदेशी पर्यटकको आगमन शून्य छ । वीरेन्द्रनगरस्थित दुई प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र काँक्रेविहारमा तीन लाख ५१ हजार ६७६ आन्तरिक र १०८ बाह्य पर्यटक पुगेका छन् ।

उक्त अवधिमा दुई हजार ५६४ आन्तरिक र ३९० बाह्य पर्यटकले डोल्पाको शे–फोक्सुण्डो ताल अवलोकन गरेका छन् । सुर्खेतसँग जोडिएको दैलेख गुराँसेमा चार हजार ६५७ आन्तरिक र ६५ विदेशी पर्यटक पुगेको तथ्यांकमा उल्लेख छ । तर कुन पर्यटकीयस्थलबाट कति राजस्व संकलन गरियो भन्ने मन्त्रालयले तथ्यांक राखेको छैन । पर्यटन शाखामा कार्यरत अधिकृत स्मीता बेलबासेका अनुसार कुन पर्यटकीयस्थलबाट कति राजस्व संकलन गरियो भन्ने मन्त्रालयलाई जानकारी नभएको उल्लेख छ ।

मुगुको रारा र डोल्पाको शे–फोक्सुण्डोमा संकलित राजस्व भने राष्ट्रिय निकुञ्जअन्तर्गत जाने भएकाले यसबारे कर्णाली प्रदेश सरकारलाई थाहा नहुने उनले बताइन् । आउँदा दिनमा ‘डिमिस सिस्टम’मार्फत कर्णालीका पर्यटकीयस्थल र राजस्व संकलनबारे जानकारी दिने गरी मन्त्रालय लागिरहेको उनको भनाइ छ । कर्णाली प्रदेशअन्तर्गत सल्यानको कुपिण्डे दह, डोल्पाको त्रिपुरासुन्दरी मन्दिर, जुम्लाको चन्दननाथस्थित डुडल्ली स्तूप र हुम्लाको लिमी उपत्यकामा कति पर्यटक पुगे भन्ने मन्त्रालयसँग तथ्यांक छैन ।

नेपालको सबैभन्दा अग्लो झरना भनेर चिनिएको कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी, सुर्खेतका जाजुरा दह, गुप्ता ताल, मादले गुफा, शिव गुफा, गिद्दे डाँडालगायत पर्यटकीय क्षेत्रमा पनि आन्तरिक र विदेशी पर्यटकको आवतजावतको सङ्ख्याबारे यकिन छैन । मन्त्रालयका अनुसार आर्थिक वर्ष ०८१–०८२ मा प्रदेश सरकारले कर्णाली पर्यटन प्रवद्र्धनका लागि १२ लाख ६ हजार रूपैयाँ बजेट खर्च गरेको छ । तर पर्यटन विकासमा प्रदेश सरकार उदासीन भएको व्यवसायीहरूको आरोप छ भने नेपालगन्जबाट हुम्ला हुँदै मानसरोवर जाने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

पर्यटन प्रवद्र्धन र विकासमा जोड

कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र विकासमा जोड दिएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को नीति, कार्यक्रम तथा बजेटमार्फत पर्यटन प्रवद्र्धन र विकासमा जोड दिइएको हो । जसमा पर्यटन प्रवद्र्धन तथा विकासका लागि भन्दै प्रदेश सरकारले ४३ करोड बजेट विनियोजन गरेको छ ।

जसका लागि कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपालः नेपालको गन्तव्य कर्णाली’ भन्ने नारासहित दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटकीय सेवाको विकासमा जोड दिने प्रदेश सरकारले जनाएको छ । पर्यटक सङ्ख्या, बसाइँ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

सरकारी तथा निजी क्षेत्रको अगुवाइमा प्रदेशभित्र बन्जीजम्प, ¥याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, अफरोड कार ¥याली, अफरोड बाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ्ग, हाइकिङ्ग, ट्रेकिङ्ग, खेलकुद तथा आरोग्य पर्यटन लगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पु¥याउन राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने उल्लेख छ ।

नेपालकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेका मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयनका लागि प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरेको छ । उक्त बजेटअन्तर्गत पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गरिनेछ भने पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवा लगायतका विषयमा जानकारी प्रदान गर्न गन्तव्य कर्णाली एप निर्माण गरी सञ्चालनमा ल्याउने तयारी छ ।

प्रदेशभित्रको हवाई सेवालाई नियमित, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्रका विमानस्थलमा नियमित उडान गर्न हवाई सेवाप्रदायकलाई आवश्यक सहयोग र सहुलियतको व्यवस्था मिलाउने प्रदेश सरकारले नीति लिएको छ भने पर्यटकलाई निर्भयका साथ घुमफिर गर्ने वातावरण निर्माण गर्न पर्यटकको सुरक्षा र अप्ठ्यारो परिस्थितिमा तत्काल सहयोग गर्ने नीति लिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार