
वीरेन्द्र जैसी । नेपालगन्ज ।
दुई वर्षको अवधिमा दुई लाखबढी भारतीयहरू नेपालगन्ज आएर सिनेमा हेरेको पाइएको छ । यो सङ्ख्या एउटै सिनेमाघर सिने रोयलमा चलचित्र हेरेका दर्शकहरूको मात्रै हो । नेपालगन्जस्थित गुणस्तरीय प्रविधिसहितको सिनेमाघर सिने रोयलले सञ्चालनमा आएको दोस्रो वर्षगाँठ मनाउने क्रममा दुई वर्षमा पाँच लाख दुई हजार पाँच सय ७६ जनाले चलचित्र हेरेको जानकारी दिएको छ ।
सिने रोयलका कार्यकारी प्रमुख रितेशकुमार श्रेष्ठका अनुसार सिने रोयलमा चलचित्र हेर्न आउने दर्शकहरूमध्ये करिब ४० प्रतिशत भारतीय दर्शकहरू रहेका छन् । यस आधारमा उक्त चलचित्र हलमा चलचित्र हेर्न आउने दर्शकहरूको सङ्ख्या दुई लाख बढी हुन आउँछ । ‘हामीले दर्शकहरूको नेशनालिटी चाहीँ माग्दैनौँ । तर यहाँ आएका दर्शकहरूको विश्लेषण गर्दा ४० प्रतिशत भारतीय नागरिक छन्,’ श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार नेपालगन्जको भारतीय सीमा क्षेत्रमा सुुविधासम्पन्न चलचित्र हल नभएका कारण दर्शकहरू नेपालगन्जसम्म पुग्ने गरेका छन् । यसका साथै क्यासिनो लगायत पर्यटकीय उद्देश्यले आउने भारतीयहरू पनि चलचित्र हेर्न पुग्ने गरेका छन् । ‘भारतको लखनउबाट समेत चलचित्र हेर्न यहाँ आएको हामीले पाएका छौँ । विशेषगरी गोण्डा, लखिमपुर लगायतका जिल्लाबाट मानिसहरू चलचित्र हेर्न नेपालगन्ज आउँछन्’ श्रेष्ठले भने । सिने रोयलको स्थापना भारतीय दर्शकहरूलाई समेत ध्यानमा राखेर गरिएको उनले जानकारी दिए ।
सिने रोयलको दोस्रो वर्षगाँठका अवसरमा आयोजित पत्रकार भेटघाटमा दुई वर्षमा दुई सय ६ नेपाली र दुई सय ४७ हिन्दी चलचित्रहरू प्रदर्शनमा आएको जानकारी दिइएको छ । ती चलचित्रमध्ये नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक ३८ हजार चार सय ६२ दर्शक तान्दै सर्वाधिक कमाउने चलचित्र बनेको जानकारी दिइएको छ । यसैगरी हिन्दीतर्फ ‘पुष्पा २’ ले ३१ हजार ७ सय ९७ दर्शक पाएको थियो ।
यसका साथै परदेशी, घरज्वाइँ, पूर्णबहादुरको सारंगी, उनको स्वीटर र एन्जिला ५१ दिनभन्दा बढी समयसम्म हलमा चल्न सफल भएका जानकारी दिइएको छ । सिने रोयलले ५० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको पनि जानकारी दिएको छ । तीन वटा हल र पाँच सय ६० सिट क्षमता रहेको सिने रोयलमा अमेरिकन प्रविधिमा आधारित जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ भने अडिटोरियममा २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू, ग्यालालाइट मिराज ३.२, थ्रीडी प्रिज्म सिल्भर स्क्रिन र ३बिम गेट–डी थ्री डी प्रणाली जडान गरिएको छ । जसले उच्च गुणस्तरको पिक्चर र रङ संयोजन प्रदान गर्ने गर्दछ । साथै, सुविधायुक्त सिट एवं स्वस्थ र स्वादिला खानाका परिकार सिने रोयलका विशेषता रहेका श्रेष्ठले जानकारी दिएका छन् ।
सिने रोयलले शाखा विस्तार गर्दै
नेपालगन्जमा दुई वर्षअघिबाट सञ्चालनमा आएको चलचित्रघर सिने रोयलले निकट भविष्यमै शाखाहरू विस्तार गर्ने भएको छ । सिने रोयलको दोस्रो वर्षगाँठका अवसरमा आयोजित पत्रकार भेटघाटका अवसरमा सञ्चालक डा. राहुल थापाले निकट भविष्यमै काठमाडौँ लगायतका अन्य सहरमा पनि शाखा विस्तारको योजनामा रहेको जानकारी दिए ।
उनले शाखाहरू नेपालगन्जको जस्तो आफ्नै भवन र संरचनामा नभई मल तथा कम्प्लेक्सजस्ता संरचनामा सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए । यद्धपि कुन–कुन सहरमा शाखा विस्तार गर्ने भन्नेबारेमा ठोस निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।भेटघाट कार्यक्रममा बोल्दै डा. थापाले सिनेमाघर स्थापना गर्दा अहिले प्राप्त भएको सफलताको कल्पना नगरिएको बताए ।
‘सुविधासम्पन्न चलचित्र हलमा चलचित्र हेर्ने व्यवस्था गरौँ भन्नेमात्रै हाम्रो चाहना थियो । निर्माणकै बेला कोभिड पनि चलिरहँदा के हुन्छ भनेर अन्यौलताको अवस्था थियो । दुई वर्षमा पाँच लाख दर्शकले चलचित्र हेरेको तथ्यांकले वास्तवमै उत्साह जगाएको छ,’ डा. थापाले भने । उनले अन्य सहरमा शाखा विस्तार गर्दा नेपालगन्जबाट सुरु भएको ब्राण्डको रूपमा नै प्रचार गरिने पनि बताए । दुई वर्षअघि २५ करोड बढीको लगानीमा सिने रोयल सञ्चालनमा ल्याइएको थियो ।









प्रतिक्रिया दिनुहोस्