नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा एक युवतीलाई कोठामा सँगै बस्दै आएका उनकै प्रेमीले हत्या गरेका छन् । नेपालगन्ज विपी चोकस्थित सुनाखरी नामक रेष्टुरेन्टमा वेट्रेसको रूपमा काम गर्दै आएकी २२ वर्षीया निर्मला थापाको उनीसँगै एउटै कोठामा बस्दै आएका बर्दियाको बारबर्दिया घर भएका ३२ वर्षीय प्रकाश सुनारले हत्या गरेका हुन् ।
बुधबार भएको हत्याको घटना ढिलोगरी बाहिर आएको हो । घाँटीमा सलले बेरेर हत्या गरेपछि सुनार स्वयं प्रहरीकहाँ पुगेको बताइएपनि प्रहरीले खोजी गर्ने क्रममा पक्राउ गरिएको बताएको छ । हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका सुनार नेपालगन्जकै स्वस्तिक कटेजमा कार्यरत थिए । मृतक थापाले पनि केही समय स्वस्तिक कटेजमै काम गरेकी थिइन् । उनीहरू नेपालगन्ज वडा नम्बर १२ बेलासपुरमा डेरा गरी बस्दै सँगै आएका थिए ।
हत्यापछि सुनार स्वयंले मृतककी बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । आफूहरूले उक्त कुरा आवेसमा आएर बोलेको होला भन्दै नपत्याएको निर्मलाकी बहिनीले बताइन् । त्यसपछि सुनारले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर पनि आफूले हत्या गरेको बताएका थिए । निर्मलाको पारिवारिक स्रोतका अनुसार सुनार त्यसपछि प्रहरीमा आफैँ पुगेर हत्या गरेको बताएका हुन् ।
तर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगर भने उनलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको बताउँछन् । ‘उनले उक्त घटनापछि छरछिमेकमा पनि उक्त कुराको संकेत दिँदै हिडेका रहेछन् । हामीले सूचना पाएर उनलाई खोज्दै जाँदा पक्राउ परे । उनले म आफैँ प्रहरीकहाँ आउन लागेको थिएँ भनेर भनेका थिए,’ एसपी घर्तीमगरले भने ।
उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए । एसपी घर्तीमगरका अनुसार प्रकाशको पहिले नै बिहे भइसकेको अवस्था थियो । उनका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका पाइएको छ । पारिवारिक स्रोतका अनुसार निर्मलासँग उनी विगत ३ वर्षदेखि सँगै बस्दै आएका थिए । घर्तीमगरले हत्याको कारण पारिवारिक समस्याबाट उत्पन्न विवाद उनसक्ने अनुमान गरिएपनि सुनारले विस्तृतमा खुलाएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्