शिवु खनाल । दाङ ।
लामो समयदेखि पर्यटन क्षेत्रको प्रमुख स्रोत भ्यू टावर चपेटामा परेकामा चिन्ता व्यक्त गर्दै बाह्य पर्यटक आकर्षित गर्न संरक्षणसहित भ्यू टावर छिटो सञ्चालन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कभित्र लमही नगरपालिकाको करोड लगानीमा बनेको भ्यू टावर सञ्चालन नगर्दा राम्रो सन्देश नगएको भन्दै नगरपालिकाले सामुदायिक वनलाई तत्कालै हस्तान्तरण गरेर ठेक्का आह्वान गरि सञ्चालन गर्नुपर्ने आवाज उठेको छ ।
बुधबार उक्त वन समूहले सर्वदलीय सर्वपक्षीय बैठकको आयोजना गरि भ्यू टावर सञ्चालन के–कसरी गर्ने र के का लागि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा खुलारुपले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागीहरुले पर्यटकको आगमन प्रभावित भएको वास्तविकतातर्फ सचेत हुन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदै वन समूहद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्कभित्र रहेको भ्यू टावर सञ्चालनमा नआउँदा पार्कको सुन्दर छवि धमिलिएको बताएका हुन् ।
वन समूहका अध्यक्ष पवन शर्मा रिजालले भ्यू टावर सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपरेको बताए । उनले जैविक विविधता ग्रीन पार्क क्षेत्रभित्र रहेको भ्यू टावर सञ्चालनमा स्थानीय सरकारले नीतिगत व्यवस्थासहित सामुदायिक वनलाई तत्कालै हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्र र सरोकार भएका सबैले समन्वय गरेर पर्यटन क्षेत्रको विकासका निम्ति लाग्नैपर्छ ।’ उनले भ्यू टावर निर्माण भएको १०÷१२ वर्षसम्म पनि स्थानीय सरकारले हस्तान्तरण नगर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर देखिएको बताए ।
‘पार्कमा रहेको भ्यू टावर सञ्चालनमा ल्याउन नसक्दा धेरै हानीनोक्सानी भएको छ । देउखुरीकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा रहेको ग्रीन पार्क भ्यू टावर सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको छवि धमिलियो । दीर्घकालीन योजना बनाएर भ्यू टावर सञ्चालन गर्नेतर्फ सबै लाग्नुपर्छ ।’ उनले भने, ‘भ्यू टावरको माथिल्ला दुई वटा तला दृश्यावलोकनका लागि प्रयोग हुन्छ । अरू तला विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
तर, कसरी प्रयोग गर्ने, के राख्ने भन्नेबारे कार्यविधि बनेको छैन, उपभोक्ता वा निजि क्षेत्रलाई सञ्चालनका लागि दिनुपर्छ कि भन्ने छलफल पनि भइरहेको छ, आन्तरिक कार्यविधि बनाउन जुटेका छौँ । सम्बन्धित स्थानीयतहको समन्वयमा परामर्शदाता नियुक्ति गरेर कार्यविधि बनाउने हो कि भन्ने छलफल हुँदैछ ।’ कार्यक्रममा वन समूहका उपाध्यक्ष रवि श्रेष्ठले भ्यू टावर सञ्चालन गर्ने विषयमा आफूले स्थानीय सरकारसँग कुरा गरेको तर सञ्चालनमा नआउँदा राम्रो सन्देश नगएको बताए ।
निर्माण भएको भ्यू टावर ठेक्का लगाएर टावर परिसरमा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । लमही नगरपालिकाको आर्थिक सहयोगमा जैविक विविधता ग्रीन पार्कभित्र पाँचतले भ्यू टावर निर्माण गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले भ्यू टावर अहिलेसम्म सञ्चालन नहुँदा जैविक विविधता ग्रीन पार्कले कुनै लाभ लिन नसकेको दुखेसो पोखे । उनले ग्रीन पार्कभित्र जंगलमा निर्माण गरिएको भ्यू टावरले पर्यटकलाई वन्यजन्तु अवलोकनका लागि सहजसहित महत्वपूर्ण हुने बताए ।
वन क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । देउखुरीमा विभिन्न वन्यजन्तुको बासस्थान राम्रो रहेकाले सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको लागि पोखरी निर्माण गरिएको छ । नेपाली काँग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता भ्यू टावर र मचान महत्वपूर्ण रहेको बताए । ‘भ्यू टावरबाट वन र वनमा चर्न आएका बाघ, चित्तल, मृग देख्न सकिन्छ । पाटे बाघ, भालु, तथा मयुर नाचेको दृश्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ, सभापति बुढाथोकीले भने, ‘मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यू टावर बनाइएकाले पर्यटकको चहलपहल बढेको छ ।’
उनले पार्कसँगै वन क्षेत्रमा यहाँ पर्यटकका लागि जिप सफारीको समेत संभाव्यता अध्ययन गर्न आवश्यक रहेको बताए । पार्कमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित तथा पुस्तकालय लगायतका संरचना छन् । नेकपा एमाले लमही नगर अध्यक्ष रतनकुमार केसीले भ्यू टावर सञ्चालनमा ल्याउँदा पर्यटकले सुविधा पाउने, पर्यटक आगमन बढ्ने र नगरपालिका र पार्क दुवैलाई आम्दानी हुने भएकाले अब छिटो चलाउनुपर्नेमा जोड दिए । उनले ठेक्का आह्वान गरेर भएपनि छिटो चलाउने बाटोमा जान सुझाव दिए ।
नेकपा (माओवादी केन्द्र) लमही नगर अध्यक्ष दिलकुमार श्रेष्ठले देउखुरीको उत्कृष्ट पर्यटकीय स्थल बनेको भन्दै अब नामअनुसार अध्ययन अनुसन्धानको कामपनि गर्न सुझाब दिए । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले ग्रीन पार्कजस्ता ठुला पार्कले वातावरण संरक्षण गर्दै नागरिकलाई स्वस्थ र दीर्घायु बनाउने भन्दैे यसबाट रोजगारी सिर्जना र आर्थिक विकासमा समेत योगदान पुगेको बताए । उनले ४, ५ र ६ नम्बर वडावासी नागरिकको सबैभन्दा नजिकको घुमफिर गर्ने साझा थलो भएकाले यसको विकासमा विशेषगरी ३ वटा वडावासीको ध्यान जानुपर्ने बताए ।
उनले ग्रीन पार्क विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले ग्रीन पार्क लमहीको मात्र नभई प्रदेशकै गहना भएको बताए । पार्कलाई अझै विकसित बनाउन आवश्यक रहेको भन्दै बहुउद्देश्यीय भ्यू टावर सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने बताए । बहुउद्देश्यीय भ्यू टावर सञ्चालन गर्न नगरपालिकाले अव छिट्टै हस्तान्तरण गर्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्