सल्यान ।
जिल्लामा सुन्तलाका बिरुवाबाट दुई करोड बढी रकम भित्रिएको छ । जिल्लाबाट हरेक वर्ष सुन्तलाका बिरुवा जिल्लाबाहिर निर्यात हुनेक्रम बढेको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्म जिल्लाका किसानले तीन लाख ९३ हजार बिरुवा बेचेका छन् । जसमध्ये ५७ हजार ४५० बिरुवा जिल्लामै खपत भएको छ भने तीन लाख २५ हजार ५५० बिरुवा जिल्लाबाहिर निर्यात गरिएको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले हालसम्म ३४ लाख ३५ हजार ३०० रुपैयाँ बराबरका बिरुवा जिल्लामै बिक्री भएको बताए । उनका अनुसार एक करोड ९४ लाख ६६ हजार ७०० रुपैयाँ बराबरका बिरुवा जिल्लाबाहिर पठाइएको छ । जिल्लामा सुन्तलाका बिरुवाको माग बढेको उनले बताए । जिल्लाको बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले मागअनुसार बिरुवा पु¥याउन नसकेको बताएका छन् ।
बागचौर नगरपालिका–८, कोटमौला डाँगीगाउँका प्रदीप डाँगीले केही वर्षअघिसम्म खासै चर्चा नपाएको सुन्तलाको बिरुवा अहिले किसानको माग धान्नै नसक्ने गरी लोकप्रिय बनेको बताए । अघिल्लो वर्षकै अर्डर पूरागर्नै हम्मे हम्मे परिरहेको उनको भनाइ छ । उनी १० वर्षदेखि व्यावसायिक फलफूल नर्सरी सञ्चालन गर्दै आएका छन् । कृषि जेटिए अध्ययन गरेका डाँगी हाल ‘नेपाल कृषि तथा पशुपन्छी फार्म’ मार्फत सुन्तला, कागती र टिमुरका बिरुवा उत्पादन गरिरहेका छन् ।
यस वर्ष मात्र २५ हजार बिजु र १२ हजार कलमी सुन्तलाका बिरुवा बिक्री गरेको उनको भनाइ छ । करिब ४० लाख रुपैयाँको कारोबारबाट झन्डै २० लाख नाफा सुरक्षित गरेका हुन् । सुरुमा आठदेखि १५ रुपैयाँमा बिक्री भएको बिरुवा अहिले ४५ देखि ७५ रुपैयाँसम्ममा सजिलै बिक्री हुने गरेको छ । वैदेशिक रोजगारीका सपनासहित विदेश जान चाहेको तर नर्सरी स्थापनापछि आफ्नो दैनिकी बदलिएको गोल्डेन कृषि तथा पशुपन्छी फार्मका सञ्चालक नीरज डिसीको भनाइ छ ।
उनी १२ वर्षदेखि नर्सरी व्यवसायमा सक्रिय छन् । उनले यस वर्ष २० हजार कलमी र १० हजार बिजु सुन्तलासहित कागती र टिमुरका हजारौँ बिरुवा बेचेका छन् । करिब २२ लाख रुपैयाँको कारोबारबाट १७ लाख रुपैयाँ नाफा भएको उनले बताए । कोटमौलामा अर्घाखाँची, पाल्पा, दैलेख, रुकुम, रोल्पा, कालिकोट लगायतका जिल्लाबाट सुन्तलाको बिरुवा माग हुने गरेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्