नेपालागन्ज ।
निरंकुश राणा शासनविरुद्ध नेपालमा सुरु गरिएको क्रान्तिको अगुवाइ गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्वपार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार बाँकेलगायत देशैभरि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समिति तथा विभिन्न तहका पार्टी कार्यालयहरुले देशैभर वृक्षारोपणका साथै सभा समारोहको आयोजना गरी महामानव स्वर्गीय वीपीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमहरुमा वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चासमेत गरिएको थियो । कार्यक्रमहरुमा नेपालमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनका शहिदहरुको श्रद्धाञ्जलीसमेत व्यक्त गरिएको थियो । स्मृति दिवस साताव्यापी रुपमा देशैभरि मनाइने काँग्रेस केन्द्रीय समितिले जनाएको छ ।
दिवसकै अवसरमा नेपाली काँग्रेस बाँकेले मंगलबार बिहान नेपालगन्ज वीपीचोकस्थित वीपीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले वीपीको शालिकमा माल्र्यापण गरेका थिए । काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति गौडेलले महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिए । 
स्मृति दिवसकै अवसरमा बाँकेको कोहलपुर—८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा बाँके काँग्रेसले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त पार्कमा विभिन्न जातका ८०० बिरुवा रोपिएका छन् । वृक्षारोपमा काँग्रेस केन्द्रीय सदस्य बाल्मिकी, सभापति गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुरलगायत विभिन्न तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच, स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले मंगलबार बिहान कोहलपुर शिक्षण अस्पतालका १०० जना बिरामीलाई फलफूल वितरण गरेको छ । क्षेत्रीय सभापति पोषण केसीलगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु एवम् विभिन्न तहका नेता, कार्यकर्ताहरुले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । स्मृति दिवसकै अवसरमा क्षेत्रीय समितिले आजै राप्तीसोनारी—८ स्थिति शिवशक्ति मावि र वडा नं. ५ स्थित भुवरभवानी माविको प्रांगणमा वृक्षारोपण गरिएको छ ।
क्षेत्रीय सभापति केसीका अनुसार स्मृति दिवसका अवसरमा क्षेत्रीय समितिले आज साउन ७ गते राप्ती सोनारी—७ नन्कौपुरस्थित अमरज्योति माविमा पाठेघर मुखको क्यान्सरको पहिचान र बाँझोपनसम्बन्धी एकदिने शिविरको आयोजना गर्दैछ । शिविरमा नेपालगन्जस्थित एचसीआरसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा दिने जनाइएको छ ।

दिवसकै अवसरमा प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिएको छ । गिरीलाई प्रजातान्त्रिक सेनानी संघ बाँकेले सम्मान गरेको हो । डुडुवा गाउँपालिकाको कम्दीस्थित पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहको परिसरमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघ स्वर्गीय गिरीका सुपुत्र टिकानाथ गिरीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपसभापति अधिकारी, संघका केन्द्रीय सदस्य रुपमाया बस्नेत, प्रदेश महामन्त्री जयलाल न्यौपाने, प्रदेश सदस्य गोविन्द ढकाल, जिल्ला सचिव कृष्ण सापकोटा लगायतले बोलेका थिए । उक्त सामुदायिक वन परिसरमा विभिन्न जातका बिरुवा रोपण समेत गरिएको थियो ।
स्मृति दिवसका अवसरमा साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, नेपालगन्जको हडियाबाबा मन्दिरमा सरसफाइ, किसानहरुलाई निःशुल्क बीउबीजन वितरण र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्