सुर्खेत ।
जिल्लाको भेरी तटीय क्षेत्रका नागरिकलाई टेलिफोन सेवा लिन सकस परेको छ । लामो समयदेखि टेलिफोन सेवामा समस्या आएपछि स्थानीयवासीले नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । टेलिकमको कर्णाली प्रदेश निर्देशनालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै स्थानीयले सुर्खेतको बराहताल गाउँपालिका–८ बरडाँडामा निर्माण गरिएको टेलिकमको टावर तत्काल मर्मत गरी नियमित सञ्चालन गर्न माग गरेका छन् ।
बरडाँडामा निर्माण गरिएको टावर मर्मत सम्भारमा ध्यान नदिँदा भेरी तटीय क्षेत्रका नागरिकलाई टेलिफोन सेवा लिन सकस परेको हो ।दिउँसोको समयमा मात्र सेवा सुचारु हुँदा रातको समयमा वडा नंं. १ देखि ४ का नागरिक पूर्णरुपमा टेलिफोन सेवाबाट वञ्चित हुनुपरेको स्थानीय लक्ष्मण थापाले बताए । उनले भने, ‘साँझ ५ बजेदेखि बिहान १० बजेसम्म टेलिकमका सबै सेवा अवरुद्ध हुँदा अत्यावश्यक समयमा फोन गर्न समेत पाइँदैन । यस्तो अनियमित, अव्यवस्थित र अवरोधग्रस्त सेवालाई गुणस्तरीय बनाई सहज टेलिफोन गर्ने वातावरण बनाउन माग छ ।’
सो वडाका सेवाग्राहीलाई लक्षित गर्दै टेलिकमले फोरजी टावार निर्माण गरेको थियो । तर टावर निर्माण भएको केही समयपछि नै नियमित काम गर्न छोडेको अर्का स्थानीय दिलिप कठायतले बताए । सोलारबाट सञ्चालन गरिएको टावरको विद्युत् प्रणाली सुधार गरेर नियमित सञ्चालन गर्न उनको आग्रह छ । विपद् जोखिम भएको बर्खाको समयमै टावर बेलुकादेखि बन्द हुँदा अत्यावश्यक सञ्चार उपभोग गर्नबाट स्थानीय वञ्चित हुनुपरेको उनको गुनासो छ ।
‘बेलुका, राति वा बिहान १० बजे अघिसम्म केही विपद् भइहाल्यो भनेपनि हामीले सम्बन्धित निकायलाई वा आफन्तलाई खबर गर्नसक्ने अवस्था छैन्,’ उनले भने, ‘अहिलेको समयमा फोनको भरमा धेरैजसो कार्य सम्पादन हुने अवस्थामा टावर नियमित नचल्नुले समस्या पारेको हो । यसमा कर्णाली प्रदेश सरकारको पनि ध्यान जाओस् ।’ विशेषगरी बर्खा र हिउँदको समयमा दिउँसो मात्र टावर चल्ने गरेको स्थानीयको गुनासो छ ।
स्थानीयवासी सबैको हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र बुझदै नेपाल टेलिकम प्रदेश निर्देशनालयका उपनिर्देशक मधुसुदन दाहालले ढिलोमा अबको दुई हप्ताभित्र सोलार ब्याट्री परिवर्तन गरेर भएपनि टावर नियमित चलाउने आश्वासन दिएका छन् । टावर नियमित गर्न विद्युत् अनिवार्य भएपनि तत्काल कार्यालयका तर्फबाट सोलार ब्याट्री थप गरेर केही समय थप टाव सञ्चालनको वातावरण बनाउने उनले प्रतिबद्धता जनाए ।
‘सोलारबाट सञ्चालनमा ल्याइएका टावरहरु सुरुमा नियमित भएपनि पछि ब्याट्रीको जीवनचक्र सकिँदै जाँदा नियमित चल्दैनन्, यसका लागि बिजुली जडानको विकल्प छैन्,’ उनले भने, ‘हामीले ब्याट्री वा सोलार परिवर्तन, थप जे गरेपनि बढीमा ४ घण्टा थप सञ्चालन हुनसक्ने मात्र हो, त्यो काम कार्यालयबाट हामी तत्काल गर्छौं ।’
उनका अनुसार सुरुमा टावर सञ्चालनमा आउँदा ट्राफिक (उपभोक्ता) कम भएकाले पनि नियमित सञ्चालन भएको थियो । तर थप टावर सञ्चालनमा आइसकेपछि ट्राफिक पनि बढ्ने हुनाले प्रयोगअनुसार टावरमा भएको विद्युतीय शक्ति चाँडो खर्च हुँदा बेलुका बन्द हुने गरेको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्