सवारीसाधन कारबाहीबाट लुम्बिनीमा १७ करोडभन्दा बढी राजस्व संकलन



श्यामलाल पोखरेल । बुटवल ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत आर्थिक वर्ष २०८१–०८२ मा सवारीसाधन जरिवानाबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत चलाइएका साना ठुला गरी १ लाख ७० हजार ८० वटा सवारीसाधनलाई कारबाही गरी जरिवानास्वरुप १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

कार्यालयले एक वर्षमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्ने उद्देश्यले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रवन्दु शर्माले कारबाहीमा परेका सवारीसाधनहरुको संख्या र जरिवानाबाट संकलन भएको रमकसहित वार्षिक कार्यप्रतिबारे जानकारी गराएका छन् । उनले लेन अनुसाशनका लागि ‘मेरो सवारी मेरो लेन’ कार्यक्रम सञ्चालन गरिएको र बाँकेमा ट्राफिक सप्ताह कार्यक्रमसहित थुप्रै कार्यक्रमहरु सञ्चालन गरेर ट्राफिक नियमबारे जनचेतना जगाइएको बताए ।

लुम्बिनी मातहतका विभिन्न कार्यालयहरुबाट १६ पटक नागरिक सुनुवाइ कार्यक्रम गरिएको र सडक दुर्घटनापछि हुने पीडादायी कष्टलाई सडक नाटकको माध्यमबाट आम सर्वसाधारण नागरिकमा सचेतना गराइको जानकारी गराए । उनका सडकमा ३ सय ४ वटा सचेतनामूलक बोर्डहरु जडान गरिएको र प्रदेशभर दुई पाङगे्र सवारीसाधन दुर्घटना न्यूनीकरणका चालकहरुसँग २ मिनेट र ३ मिनेट कार्यक्रम लागु गरी पर्चा पम्पलेटसमेत वितरण गरिएको थियो ।

कार्यालयले बुटवल–भैरहवा सडक खण्डमा लेन अनुशासन तथा तीव्र गतिसम्बन्धी ११ वटा सचेतनामूलक बोर्डहरु थपेको छ । त्यस्तै कार्यालय व्यवस्थापनका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गरिएको र लुम्बिनीमा पर्ने तराई जिल्लाका विभिन्न १० स्थानमा डिजिटल प्रणाली लागु हुँदा विस्तारको क्रममा हालसम्म प्रदेशभर व्यक्तिगत मोबाइलमा ३ सय ९८ जनाको इ क्यान आइडी कार्यान्वयन भएको बताइएको छ ।

ट्राफिक व्यवस्थापनका लागि स्थानीय निकायहरुसँग समन्वय तथा सहकार्य गरी काम गरिएको र छाडा चौपाया व्यवस्थापनका लागि काम गरिएको कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार