आत्मबलले आत्मनिर्भर बनेकी साहसिक गृहिणी



गणेश रावत । कोहलपुर ।

हरकोहीलाई दुःख पर्दा साथ र ढाडस दिनेभन्दा कुरा काट्ने मान्छेहरु धेरै हुन्छन् । ता कि त्यो समयमा पीडा कम गर्न सबैको साथ र सपोर्ट चाहिएको हुन्छ । हाम्रो समाजमा अझ भनौँ दुःखको घाउमा मल्हम लगाउनुको साटो नुन छर्कनेको कमी कहिल्यै हुँदैन । विशेषगरेर सामान्य व्यक्तिभन्दा अझ शारीरिक अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण फरक छ ।

उनीहरुले केही पनि काम गर्न सक्दैनन्, काम गरेर खान सक्दैनन् लगायतका शब्दहरुले खिसीट्युरी गर्ने र मनोबल गिराउनेको समाजमा कमी छैन । जुनकारण उनीहरु घरपरिवारदेखि समाजबाट अपहेलित हुने गरेका छन् । बेलाबखत अपहेलनादेखि दुव्र्यवहारसमेत सहेर बस्नुपर्ने घटनाहरु सहतमा आउने गर्छन् ।

यस्तै अनेकन पीडा र दुःखको पहाड छिचोल्दै आत्मबलले सबैको प्रेरणाको स्रोत बनेकी छिन् श्यामकली थारु । अपांग भएर जन्म लिएकै कारण उनको आफ्नो भन्नु कोही थिएनन् । थिए त केवल जन्म दिने आमा र बाबा मात्र । न त समाज उनको हुन सक्यो । न त आफ्ना भन्ने आफन्तहरु नै उनका भए । जुन समयमा उनलाई हिँड्न हात र केही गर्न साथ चाहिएको थियो, त्यसबेला उल्टै उनको खिसीट्युरी गर्न थाले । तर, उनले कहिले हार भने खाइनन् । उनले त्यसको साटो कर्म गर्न थालिन् ।

जसको परिणम उनी अहिले आफ्नो खुट्टामा आफैँ उभिन सक्षम बनेकी छिन् । श्यामकली भन्छिन्, ‘हामीजस्ता व्यक्तिले पनि अवसर पाए आत्मनिर्भर बनेर स्वरोजगार बन्न सक्ने रहेछौँ । अन्य व्यक्तिहरुको कुराभन्दा पनि आफ्नो आत्मबल बढाएर काम गरे पक्कै सफल भइन्छ ।’ जसको एक उदाहरण स्वयम् उनी हुन् । कोहलपुर नगरपालिका–१२ मा जन्मिएकी श्यामकली थारु अहिले आफ्नै घरमा सिलाइकटाइ गर्ने काम गर्छिन् । ३८ वर्षिया थारु अहिले आफ्नै गाउँका स्थानीयहरुका कपडा सिलाउने गरेको बताउँछिन् ।

अहिले स्थानीयले पनि कपडा सिलाउन बजार नभइ उनको घर पुग्न थालेका छन् । कोहलपुर नगरपालिकाले प्रदान गरेको सिलाइकटाइ तालिम र मेसिन पाएपश्चात अहिले सिलाइकटाइ गरेर जीवनयापन चलाउन थालेको उनले बताइन् । स्थानीय सरकाले गरेको सानो सहयोगले आफ्नो जीवन बदलेको उनी बताउँछिन् ।

‘आफूलाई मन पर्ने कुरा किन्न घरपरिवारको भर पर्नुपथ्र्याे,’ उनले भनिन्, ‘अहिले आफैँ कमाउँदा अरुको भर पर्न अन्त्य भएको छ ।’ केही गर्न सक्दिन भन्नेहरुको अहिले मुख बन्द भएको उनी बताउँछिन् । हिजो कुरा काट्नेहरु नै अहिले उनको प्रशंसा गर्न थालेको उनको भनाइ छ ।
समाज र सबैबाट अपहेलित उनी निरन्तर परिश्रम, लगनशिलता र संघर्ष जारी राखेर आत्मनिर्भरको बाटोमा लागेको बताइन् ।

अहिले मासिक २० हजार आम्दानी हुने गरेको उनले जानकारी दिइन् । अहिले समाज र घरपरिवार सबैको साथ सहयोगले थप काम गर्न सहज भएको बताइन् । गाउँका स्थानीहरुका कपडा र अन्य व्यक्तिहरुका पनि कपडा सिलाएर दैनिकी चलाउन सहज भएको जानकारी दिइन् । शारीरिक रुपमा अशक्त भएपनि काम गर्न आट र साहस चाहिने उनको भनाइ छ । समाज बिस्तारै परिवर्तन सँगसँगै अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण बदलिँदो रहेको बताइन् ।

आत्मबलले सबैलाई जितेकी अर्काे उदारण हुन्, देबकुमारी थारु । कोहलपुर–६ की थारु पनि शारीरिक रुपमा अपांगता छिन् । उनले पनि समाजसँग धेरै लड्न प¥यो । तर, हार र हरेस भने उनले कहिले खाइनन् । फलत उनी अहिले सबैको प्रेरणा बनेकी छिन् । गृहणीका रुपमा रहेकी उनी अहिले आफ्नै आत्मबलले स्वरोजगारको बाटो खनिरहेकी छिन् । गृहणीका रुपमा मात्र नभई अहिले सिलाइकटाइ गरेर जीवन यापन चलाइरहेको जानकारी दिइन् ।

उनको कम्मरभन्दा तलको भाग अहिले पनि चल्दैन् । तर, उनी घिस्रेर हिँड्दै सफलताको बाटो बनाइरहेकी छिन् । तीन जना महिला मिलेर कोहलपुर एनटिभी रोड नजिकै नवजीवन टेलर सेन्टर खोलेर सञ्चालनमा ल्याएको बताइन् । ‘सिलाइकटाइ तालिम लिएर आफैँ केही गर्ने प्रयास गरेका छौँ,’ उनले भनिन्, ‘जसको कारण अरुको मुख ताक्नु परेको छैन् । छोराछोरी पढाउन र घरखर्च चलाउन जेनतेन पुगेको छ । यसैमा म खुसी छु ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार