सञ्जय साह मित्र
साहित्य यस्तो कर्म हो, जसको सुगन्ध साहित्यकार नपुगेको ठाउँमा पुगिरहन्छ । यसको प्रत्यक्ष प्रमाणको रूपमा समालोचना रहन्छ । समालोचनालाई साहित्यमाथिको साहित्य पनि भनिन्छ । समालोचनाले साहित्यको मूल्याङ्कन मात्र गर्दैन, साहित्यकारको पनि मूल्याङ्कन पनि गर्दछ । साहित्यकारको मूल्याङ्कनको आधार साहित्यकारको जीवनी होइन, कृतित्व हुन्छ अर्थात् साहित्यकारले गरेको साहित्यिक कर्मको धरातलमा नै साहित्यकारको साधनाको मूल्याङ्कन गरिन्छ । यसलाई साहित्यकारको मूल्याङ्कन पनि भन्न सकिन्छ । यस्तो काम मोतिराम भट्टको समयदेखि नै हुँदै आएको देखिन्छ । साहित्यको धरातलमा साहित्यिक व्यक्तित्त्व र कृतित्त्वको मूल्याङ्कन गरिएको एउटा कृति हो – कपिल लामिछानेको लघुकथा साधना । विक्रमाब्द २०१५ असोज २४ मा गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका २८ को माझठाना, सौरेमा पिता शुकदेव लामिछाने र माता सुकुमायाका सुपुत्रका रूपमा आँखा उघारेका प्रा.डा. कपिल(देव) लामिछानेको वर्तमानमा स्थायी ठेगाना लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ७ भैरहवास्थित सगरमाथा पथ, डाँडागाउँ हो । नेपाली गाउँखाने कथामा त्रिविबाट विद्यावारिधि उपाधिबाट विभूषित प्रा.डा. लामिछाने भैरहवास्थित त्रिविको भैरहवा बहुमुखी क्याम्पसबाट प्राध्यापकबाट सेवानिवृत्त जीवनयापन गरिरहेका साहित्यिक व्यक्तित्त्व हुन् । नेपाली, हिन्दी र भोजपुरी भाषामा दख्खल राख्ने प्रा.डा. लामिछाने कथा, बालकथा, लघुकथा, व्याकरण, गाउँखाने कथा, बालउपन्यास, बालचित्रकथा, समालोचना, साहित्येतिहास, लोकसाहित्य सिद्धान्त, हास्यव्यङ्ग्य निबन्ध, एकाङ्की आदि विधा–उपविधामा सिर्जना तथा अनुसन्धान गर्ने बहुमुखी प्रतिभाका धनी साहित्यकार हुन् । अनेक कृति तथा पत्रपत्रिकाको सम्पादन गरेका प्रा.डा. लामिछानेका अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साइ (२०६८), विस्थापन (२०७५), अणिमा (२०७९) र मन्त्रीको मुस्कान लघुकथा कृति प्रकाशित छन् भने लघुकथा समालोचना नामक लघुकथामात्रकै समालोचना गरिएको कृति पनि प्रकाशित छ । प्रा.डा. लामिछानेका आधा दर्जन लघुकथा कृति प्रकाशन भएपछि उनका सम्पूर्ण लघुकथा यात्राको मूल्याङ्कन गरिएको कृति हो – कपिल लामिछानेको लघुकथा साधना । यस समालोचनात्मक कृतिभित्र अनेकौँ मूल्याङ्कनकर्ता रहेका भए पनि सम्पादनको काम गरेका छन् – डा. शालिकराम पौड्यालले ।
बुटवल बहुमुखी क्याम्पसमा नेपाली विषयका उपप्राध्यापक डा. शालिकराम पौड्यालको सिर्जन क्षेत्र कवितासहित विभिन्न विधा भए पनि मुख्यतः समालोचकका रूपमा परिचित साहित्यिक व्यक्तित्त्व हुन् । बुटबल १६ मा जन्मेका डा. पौड्यालले महाकवि देवकोटाका खण्डकाव्यमा मिथक विषयमा विद्यावारिधि गरेका छन् । डा. पौड्यालको समालोचकीय व्यक्तित्त्वलाई गद्यशैलीको रूपविज्ञान ः नेपाली समालोचनाको नयाँ आयाम, कपिल लामिछानेको लघुकथाकारिता, रुपन्देहीका महिला स्रष्टाहरू, लक्ष्मीप्रसाद देवकोटालाई कसरी चिन्ने ? जस्ता ६० भन्दा बढी अनुसन्धानमूलक सिर्जनाहरूमा देख्न सकिन्छ । डा. पौड्यालको समालोचकीय व्यक्तित्त्वका साथै सम्पादकीय र संयोजकीय गरी त्रिवैयक्तिक पहिचानलाई उचाइमा पुर्या उने पछिल्लो कृति रहेको छ – कपिल लामिछानेको लघुकथा साधना । लेख सर्वाधिकार सम्बन्धित समालोचनाको लेखकमा र कृति सर्वाधिकार सम्पादकमा रहेको प्रस्तुत कृतिको प्रकाशन (प्रथम) २०८२ मा भुँडीपुराण प्रकाशनले गरेको हो । यस कृतिमा नेपाली साहित्यका सिद्धहस्त समालोचकहरूले लघुकथाकार कपिल लामिछानेका लघुकथा सिर्जना तथा प्रवृत्तिहरूको लघुकथा रचना तथा कृतिहरूको आधारमा मूल्याङ्कन गरेका छन् । यस कृतिले एकातिर प्रा.डा. कपिल लामिछानेको लघुकथाको योगदानलाई मूल्याङ्कन गरेको छ भने अर्कोतिर सम्पादद डा. पौड्यालको पनि ऐतिहासिक कर्मको सम्मान गरेको छ । साथै यस कृतिले नेपाली लघुकथाको दिशा र दशालाई पनि परोक्ष रूपमा मूल्याङ्कन गरी समग्र लघुकथाको विकासमा ठोस योगदान दिएको देखिएको छ । प्रसिद्ध समालोचक डा. दयाराम श्रेष्ठले ‘नेपाली लघुकथाका गायक यात्री कपिल लामिछाने’ शीर्षकमा सङ्क्षेपमा लघुकथाकारको मूल्याङ्कन गरेका छन् । डा. श्रेष्ठले निष्कर्षमा भनेका छन् – “लामिछाने समकालीन राष्ट्रिय परिवेशबाट आभ्यान्तरिक रूपले प्रभावित एक चेतनशील कथा–स्रष्टा हुन् ।
“ यसै गरी डा. भोलानाथ पोखरेलले ‘मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा सामाजिक यथार्थवाद’ शीर्षकमा यथार्थवादको आलोकमा निर्धारित कृतिभित्रका लघुकथाहरूको मूल्याङ्कन गर्दै लामिछानेलाई यथार्थवादी लघुकथाकार पुष्टि गरेका छन् । निष्कर्षमा डा. पोखरेल लेख्छन् – “प्रगतिवादी लघुकथाका स्रष्टा कपिल लामिछानेका मन्त्रीको मुस्कान लघुकथाका पात्रहरू विचार सम्प्रेषणका एवम् सौन्दर्यका माध्यम भएर आएका देखिन्छन् ।“ प्रा.डा. षडानन्द पौड्यालले ‘कपिल लामिछानेका लघुकथामा संस्कृति’ शीर्षकमा लामिछानेका लघुकथा सिर्जनाहरूमा संस्कृतिको विभिन्न क्षेत्रको उपयोग गरिएको सन्दर्भमा खोजीनिधी गरेका छन् । नेपाली संस्कृतिको स्वतन्त्र अध्ययन गर्न चाहनेका लागि पनि यो सुन्दर खुराक बन्ने देखिन्छ । निष्कर्षमा डा. पौड्याल लेख्छन् – “परम्परादेखि प्रयोगमा रहेको संस्कृति र पछिल्लो पुस्तामा हस्तान्तरित भएको संस्कृतिको मानक स्वयम्मा परिवर्तनका दिशालाई पहिल्याउने गरी हस्तान्तरण हुनुपर्ने अभिमत लामिछानेका कथामा उपयोग गरिएको संस्कृतिको सारपक्ष हो । यसै गरी प्रा.डा. ध्रुव घिमिरेले ‘लामिछानेका लघुकथाहरूमा प्रयुक्त टुक्काको लाक्षणिक स्तर’ शीर्षकअन्तर्गत प्रा.डा. लामिछानेका लघुकथा सिर्जनामा टुक्काको प्रयुक्ति र तिनीहरूको लाक्षणिक स्तरको गहन विश्लेषण गरेका छन् । लामिछानेका लघुकथामा प्रयोग गरिएका टुक्काहरूको उदाहरणसहित प्रस्तुत गरिएको यस समालोचनाको निष्कर्षमा भनिएको छ – “उनी लाक्षणिक अभिव्यक्तिका लागि टुक्काको उपयोगिता र महत्त्वका बारेमा पूर्णतः परिचित छन् ।“ डा. पुष्करराज भट्टले ‘कपिल लामिछानेका लघुकथामा अभिव्यक्त राजनीति’ शीर्षकमा शीर्षकजन्य विषयवस्तुको खोजी र विश्लेषण गरेका छन् ।
लामिछानेको लघकथामा प्रयुक्त राजनीतिको अनेक किसिमले विश्लेषण गरिएको यस अनुसन्धानको निष्कर्षमा भनिएको छ – “कपिल लामिछाने नेपाली लघुकथाका क्षेत्रमा स्पष्ट राजनीतिक चिन्तनका साथ आफ्ना सिर्जना प्रस्तुत गर्ने निर्भीक लेखक हुन् ।“ यसै गरी डा. हरिप्रसाद भण्डारीले ‘मन्त्रीको मुस्कानमा राजनीतिक व्यङ्ग्य’ शीर्षकमा लामिछानेको लघुकथा कृति ‘मन्त्रीको मुस्कान’मा सङ्कलित लघुकथाहरूमा पाइने राजनैतिक व्यङ्ग्यको सम्यक विश्लेषण गरेका छन् । यसको निष्कर्षमा भनिएको छ – “यसमा राजनीतिक विकृति तथा विसङ्गतिलाई विषय बनाएर लेखिएका लघुकथाहरू चोटिला छन् र ती लघुकथाहरूमा विकृतिप्रति तिखो व्यङ्ग्य गरिएको छ ।“ डा. छायादत्त न्यौपानेले ‘कपिल लामिछानेका बालविषयक लघुकथा’ शीर्षकअनुसार लामिछानेका अठारओटा लघुकथाहरूको अध्ययन गरी तिनमा पाइने बालप्रवृत्तिको विश्लेषण गरेका छन् । यसको निष्कर्षमा उल्लेख गरिएको छ – “सामयिक विषय टप्प टिपेर कलात्मक व्यङ्ग्यले विकृति केलाउन सिपालु स्रष्टा लामिछानेका बालविषयक लघुकथालाई प्रतीकात्मक प्रस्तुतिका सूत्रात्मक अभिव्यक्ति दिने शक्तिशाली रचना मान्न सकिन्छ ।“ यसै गरी डा. सखिशरण सुवेदीले ‘अणिमा लघुकथासङ्ग्रहका लघुकथा’ शीर्षकमा लामिछानेको ‘अणिमा’ लघुकथासङ्ग्रहभित्रका लघुकथाहरूलाई तत्त्वगत विश्लेषण गर्नुका साथै प्रवृत्तिगत, विषयवस्तुगत तथा वैचारिक किसिमले गहन विश्लेषण गरेका छन् । यसको निष्कर्षमा भनिएको छ – “यस कृतिलाई विन्दुमा सिन्धु अटाउन सक्ने सक्षम लघुकथाकृतिका रूपमा लिन सकिन्छ ।“
डा. शालिकराम पौड्याल (प्रस्तुत समालोचनात्मक कृतिका सम्पादक)ले ‘कपिल लामिछानेको लघुकथाकारिता’ शीर्षकमा लघुकथाको सैद्धान्तिक परिचय र परम्पराको परिचय दिँदै लामिछानेका लघुकथा कृतिहरूका आधारमा उनका प्रवृत्तिहरूको किटान गरेका छन् । यस शोधको निष्कर्षमा भनिएको छ – “लामिछानेलाई समयअनुसारका लघुकथा सिर्जना गर्ने, आजको आवश्यकतालाई बुझी कथा लेखन गर्ने सशक्त लघुकथाका स्रष्टाका रूपमा लिन सकिन्छ । ‘मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा शब्दशक्ति’ शीर्षकमा डा. प्रेमप्रसाद तिवारीले शब्दशक्तिको पूर्वीय सैद्धान्तिक मान्यताका आधारमा चयनित कृतिभित्रका रचनाहरूको वाच्यार्थ तथा लक्ष्यार्थ विश्लेषण गरेका छन् । यसको निष्कर्षमा भनिएको छ – “मन्त्रीको मुस्कान लघुकथासङ्ग्रहमा लामिछानेको लेखनी अभिधा शब्दशक्ति र लक्षणा शब्दशक्तिका सीमालाई नाघी व्यञ्जना शब्दशक्तिको स्तरसम्म विस्तारित हुन पुगेकाले उनी व्यङ्ग्यधर्मी लघुकथा स्रष्टाको स्थान प्राप्त गर्न सफल भएका छन् भन्ने निष्कर्ष नै यस लेखको मूल प्राप्ति हो ।“ डा. अशोक थापाले ‘मन्त्रीको मुस्कानमा राजनीतिक अराजकता’ शीर्षकमा उल्लिखित कृतिभित्रका लघुकथाहरूमा व्यञ्जित राजनीतिक अराजकतालाई केलाएका छन् । निष्कर्षमा भनिएको छ – “यस सङ्ग्रहले नेपाली समाजमा व्याप्त राजनीतिक विसङ्गति, भ्रष्टाचार र सामाजिक अन्यायको गहिरो चित्रण गरेको छ ।“ ‘विस्थापन लघुकथासङ्ग्रहका प्रमुख प्रवृत्ति’ मा डा. शंकरप्रसाद गैरेले सामाजिक आदर्श, यथार्थ र व्यङ्ग्य मुख्य प्रवृत्ति किटान र विश्लेषण गर्दै निष्कर्षमा भनेका छन् – “मूलतः यथार्थवादी प्रवृत्तिका लघुकथा लेख्ने लामिछानेका लघुकथामा व्यङ्ग्यको तीव्र प्रयोग पाइन्छ ।
“ ‘मन्त्रीको मुस्कानमा अलङ्कारविधान’ मा डा. नारायणप्रसाद पन्थको पूर्वीय साहित्यशास्त्रअन्तर्गतको अलङ्कारविधान (शब्दालङ्कार, अर्थालङ्कार) का मान्यताहरूका आधारमा कृतिभित्रका लघुकथाहरूको विवेचन गरिएको छ । निष्कर्षमा उल्लेख गरिएको छ – “यसमा अर्थालङ्कारलाई बढी महत्त्व दिइएको निष्कर्ष निकालिएको छ ।“ ‘कपिल लामिछानेका लघुकथामा मानव जीवन सौन्दर्य’मा डा. शेखरकुमार श्रेष्ठले ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण, उत्पीडन र बन्धनबाट मुक्तिको चाहना, सामाजिक क्रान्तिको चेतना, जीवनको उहापोहको चित्रण, मानवीय चेतनामा विकास भएको भावनात्मक रूपान्तरण र परिष्कार, मानिसको सिर्जनशीलता र प्रभाव तथा प्रकृतिको मानवीकरणका आधारमा विश्लेषण गरिएको छ । निष्कर्ष निकालिएको छ – “लामिछाने नेपाली लघुकथा लेखन परम्परामा माक्र्सवादी दर्शनबाट अनुप्राणित मानव जीवन सौन्दर्य प्रकट गर्ने कथाकार हुन् भन्ने पुष्टि हुन्छ ।“ यसै गरी ‘बोन्साई लघुकथासङ्ग्रहका लघुकथाहरूमा द्वन्द्व’मा ईश्वरीप्रसाद पोखरेलले साहित्यमा द्वन्द्वको सैद्धान्तिक आधारलाई प्रस्तुत गर्दै प्रकृति तथा प्रकारहरूको परिचर्चा गर्दै निर्धारित कृतिभित्रका रचनाहरूमा द्वन्द्वको अवस्थितिलाई गहन विश्लेषण गरेका छन् । निष्कर्षमा भनिएको छ – “लामिछानेका लघुकथाहरू द्वन्द्वको दृष्टिकोले पनि विशिष्ट छन् । ‘अणिमा लघुकथासङ्ग्रहका लघुकथामा विश्वदृष्टि’ शीर्षकमा उपप्राध्यापक ईश्वरा पौडेलले शीर्षकानुसार विषयवस्तुको चयन र विश्लेषण गर्दै निष्कर्षमा भनेकी छन् – “नेपाली समाजमा आम रूपमा भोगिएका यथार्थ अवस्था र त्यसप्रतिको चासो र चिन्तनको दृष्टिका आधारमा हेर्दा अणिमाका लघुकथा प्रभावकारी रहेको पाइन्छ ।“
नेपालीय लघुकथाका प्रथम सिद्धान्तकार गोपाल अश्कले ‘कपिल लामिछानेका लघुकथाको सैद्धान्तिक दृष्टिकोण’ शीर्षकमा विभिन्न सैद्धान्तिक दृष्टिकोणमा लामिछानेका कथाहरू खरो उत्रेको बताउँदै निष्कर्षमा भनेका छन् – “लघुकथालाई सफल र उत्कृष्ट बनाउनका लागि यिनको दृष्टिमा व्यङ्ग्यचेत, सङ्क्षिप्तता, चोटिलो प्रहार, समसामयिक विषयवस्तुको चयन र विस्सृतिरहित भाव, कम पात्र तर स्वाभाविक संवाद आदिको प्रकटीकरण रहेका छन् ।“ नवराज रिजालले ‘विस्थापन लघुकथासङ्ग्रहका लघुकथाहरूमा समाज चिन्तन’मा निर्धारित कृतिका लघुकथाहरूलाई सामाजिक चिन्तनको तराजुमा मूल्याङ्कन गर्दै निष्कर्ष निकालेका छन् – “प्रगतिवादी कथाकार लामिछानेमा नेपाली समाजको राम्रो विश्लेषण गर्न सक्ने क्षमता भएका कारण प्रस्तुत सङ्ग्रहमा अत्यन्तै मिहिन ढङ्गले समाज चिन्तनको विश्लेषण भएको पाइन्छ ।“ ‘कपिल लामिछानेको बोन्साईमा लघुकथाको छनक’मा पुण्यप्रसाद खरेलले लघुकथनको मूल्याङ्कन गर्दै अत्यन्त सारगर्भित, साँच्चै व्यङ्ग्यात्मक र चमत्कारी प्रभाव छाड्ने लघुकथाहरूको सँगालो मानेका छन् ।“ यसै गरी ‘विस्थापन ः वर्तमान समयको यथार्थ तस्बिर’मा प्रदीप सापकोटाले कृतिको सामान्य समीक्षा गरेका छन् भने ‘मन्त्रीको मुस्कानको वास्तविकतालाई बुझ्दा’मा तेजप्रसाद पन्थले पनि कृतिको सामान्य समीक्षा प्रस्तुत गरेका छन् ।
यसरी यस समालोचनात्मक कृतिभित्र एक्काइस विद्वानले प्रा.डा. कपिल लामिछानेको लघुकथाकारितालाई समग्रमा अध्ययन तथा विश्लेषण गरी नेपाली साहित्यमा पुर्याेएको योगदानको यथार्थपरक मूल्याङ्कन गरेका छन् । यस कृतिको प्रकाशनसँगै नेपाली लघुकथाको क्षेत्रमा मात्र नभई समग्र नेपाली साहित्यको क्षेत्रमा प्रा.डा. लामिछानेलाई अमर साहित्यकार बनाएको देखिन्छ । साहित्यको क्षेत्रमा अनेक विधामा सिर्जनरत लामिछानेको वास्तविक मूल्याङ्कन लघुकथाले गरेको हो भन्ने निष्कर्ष यस कृतिका अनुसन्धानहरूको आधारमा निकाल्न सकिन्छ । समग्रमा, डा. शालिकराम पौड्यालद्वारा सम्पादित र भुँडीपुराण प्रकाशनबाट प्रकाशितकपिल लामिछानेको लघुकथा साधना (२०८२) ग्रन्थलाई लघुकथाकार लामिछानेको आरम्भदेखि वर्तमानसम्म अर्थात् एक युगको लघुकथाकारिताको स्वच्छ मूल्याङ्कन गरिएको कृतिका रूपमा लिन सकिन्छ ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित यस कृतिमा २१ जना प्रसिद्ध समालोचकहरूका अनुसन्धानमूलक लेखहरू सङ्ग्रहित छन् । यसमा लघुकथाकार लामिछानेका लघुकथाहरूलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । ’कपिल लामिछानेको लघुकथा साधना’ केवल एक व्यक्तिको प्रशंसा ग्रन्थ मात्र होइन, यो त समकालीन नेपाली लघुकथाको ’दशा र दिशा’ बुझ्ने एक महत्वपूर्ण सन्दर्भ सामग्री पनि हो । एक्काइस जना विद्वान्का दृष्टिले लघुकथाकार लामिछानेको साढे दुई दशक लामो लघुकथा यात्राको वस्तुगत र निष्पक्ष मूल्याङ्कन गरेको छ ।समग्रमा, यो कृतिले प्रा.डा. लामिछानेको साहित्यिक कदलाई थप उचाइ प्रदान गरेको छ । डा. शालिकराम पौड्यालको सम्पादन र भुँडीपुराण प्रकाशनको स्तरीय प्रस्तुतिले यसलाई नेपाली लघुकथा समालोचनाको क्षेत्रमा एक ऐतिहासिक कृतिका रूपमा स्थापित गरेको छ । नेपाली लघुकथाका पाठक, समालोरक, अध्येता र अनुसन्धानकर्ताका लागि यो पुस्तक एक सङ्ग्रहणीय र पठनीय ग्रन्थ भएको छ ।
(समीक्षक साहले मध्यरौतहट बहुमुखी क्याम्पस, गरुडा, रौतहटमा लामो समयदेखि नेपाली विषय प्राध्यापन गर्दै आउनुभएको छ । सम्पादक)









प्रतिक्रिया दिनुहोस्