तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा बनाइयो पक्की पुल



बागलुङ । 

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्ने डुडियाघाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गाउँपालिकाभित्र बाह्रै महिना सवारीसाधन सञ्चालन गर्ने योजनाअनुसार गण्डकी प्रदेश सरकारको तीन करोड ६२ लाख २२ हजार रुपैयाँ लागतमा यो पुल बनेको हो।

२०८० कात्तिकमा सम्झौता गरी २०८२ वैशाखसम्ममा सक्ने लक्ष्य राखिएको यो पुल निर्माण कम्पनी बिएमए निर्माण सेवाले सम्झौता अवधिभन्दा केही ढिलो गरी सम्पन्न गरेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख दीपेश रिगलका अनुसार २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको यो पुल अहिले हस्तान्तरणको चरणमा पुगेको छ।

निर्माण व्यवसायी विमलेश आचार्यले पुलको ढलान पहिले नै सकिए पनि सडकको दुईतर्फको काम र भुक्तानीमा भएको ढिलाइले गर्दा सम्पन्न हुन एक वर्ष ढिलो भएको जानकारी दिए। यो पुल सञ्चालनमा आएसँगै काठेखोलाका तङ्ग्राम, धम्जा र ताराखोला गाउँपालिका पुग्ने छोटो सडकमा वर्षायाममा पनि यातायात अवरुद्ध हुने छैन।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गाउँपालिकाका विभिन्न स्थानमा तीनवटा पक्की पुल बनेपछि अब वर्षामा यातायात ठप्प नहुने बताए। गण्डकी प्रदेश सरकारको कुल १२ करोड रुपैयाँ लगानीमा रेशको एक्लेखेत, लामाबगर र अहिले डुडियाघाटमा पुल निर्माण सम्पन्न भएका हुन्।

यसअघि लामाबगरमा तीन करोड ३१ लाखको लागतमा ३० मिटर लामो र एक्लेखेतमा पाँच करोडको लागतमा २५ मिटर लामो पुल बनिसकेका छन्। पुलको समस्या समाधान भएपछि अब गाउँपालिकाको ध्यान सडक स्तरोन्नतितर्फ केन्द्रित हुने अध्यक्ष थापाले उल्लेख गरे। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार