कैलाली ।
कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो ।
यसअघि मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो ।सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी दिए । “सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ९४५ रहेको छ । खाद्यकम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल रु चार हजार २५० मा गहुँ खरिद गर्न लागेको छ”, उनले भने “बढी मूल्य पाएपछि किसान खुसी भएका छन् ।”
खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीको छ । यसका साथै यस क्षेत्रका बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्यभन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन् । तोकेकोभन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ। रासस









प्रतिक्रिया दिनुहोस्