बागेश्वरी मन्दिरमा नयाँ गुठी समिति गठन



नेपालगन्ज ।

गोपालप्रसाद अधिकारीको अध्यक्षतामा नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा नयाँ गुठी व्यवस्थापन समिति गठन गरिएको छ । नियमित पूजा व्यवस्थापन र मन्दिरको सम्पत्तिको सुरक्षाको जिम्मेवारीसहित गुठी संस्थानले २०८२ असार २४ गते नयाँ गुठी व्यवस्थापन समिति गठन गरेको हो ।

यसअघि समितिको सचिव रहेका अधिकारीको अध्यक्षतामा गठित समितिको सचिवमा ओमप्रकाश आजाद, कोषाध्यक्षमा मधुसुदन रिजाल, सदस्यमा उमा थापा मगर र सुनिलसिंह हमाल चयन भएका छन् । गुठी संस्थान नियमावलीअनुसार मन्दिर रहेको वडाका वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ भने मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख सदस्यसचिव र जिल्ला प्रशासनले तोकेको अधिकृत पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

गुठी समिति राजनीतिक दलमा आबद्धभन्दा बाहिरका व्यक्तिहरु सम्मिलित हुनुपर्ने आवाज जनस्तरबाट उठ्दै आएपनि फेरि राजनीतिकर्मीहरु नै समितिमा चयन गरिएका छन् । अध्यक्ष अधिकारी नेपाली काँग्रेस बाँकेका उपसभापति हुन् भने आजाद राप्रपा, रिजाल एमाले, थापामगर र हमाल नेपाली काँग्रेस सम्बद्ध हुन् ।

बागेश्वरी मन्दिरमा यसअघि डा. धवलशमशेर राणाको अध्यक्षतामा गुठी व्यवस्थापन समिति रहेको थियो । समितिको म्याद सकिएको तीन वर्षपछि नयाँ समिति गठन गरिएको हो । पाँच वर्षका लागि तोकिएको समितिले म्याद थप पनि गरेन भने नयाँ समिति गठनका लागि पहल पनि गरेको थिएन । समितिले मन्दिर परिसरमा रहेका पसलहरुलाई तलाउको उत्तरी किनारामा व्यवस्थित गर्ने, केही सटरहरु निर्माण गर्ने र महाआरतीको व्यवस्था गरेको थियो । यसबाहेक अरु उल्लेखनीय काम पनि गर्न नसकेको सम्बद्धहरुले बताउँदै आएका छन् ।

विशेषगरी उक्त समितिले मन्दिरको जग्गा जमिनको खोजबिन तथा सम्पत्तिको संरक्षण गर्न नसकेको, व्यवस्थापनका सन्दर्भमा मूल महन्थ र महन्थको सेवा सुविधा तोक्ने तथा मन्दिरको दान दक्षिणालाई व्यवस्थित गर्न सकेको छैन । यसका साथै प्रसिद्ध शक्तिपीठ भएर पनि मन्दिरको पर्यटकीय संभावनालाई बढाउने काममा गुठी समिति असफल भएको स्थानीयहरुले बताउँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार