चुरेमा हात्तीको बथान, बस्तीमा त्रास



कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जंगली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ । यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ। हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तालाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ ।

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताए । उनका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ । ‘हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्,’ उनले भने, ‘उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ ।’

मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उनले बताए । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा हात्तीको गतिविधि दैनिक नियाल्दै आएको बताउँछन् । ‘मानव बस्तीमा हात्ती छिर्न सक्ने प्रबल सम्भावना हुन्छ,’ उनले भने, ‘हात्ती धपाउनका लागि स्थानीय बासिन्दा जाँदा मानवीय क्षति पनि हुन सक्छ, त्यसलाई रोक्न हात्ती कुन ठाउँमा पुगेका छन् भनेर चियोचर्चो गर्ने कार्य गरिँदै आएको छ ।’

वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान जानका लागि रोक्ने कार्य गरिँदै आएको उनले बताए । दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जानका लागि सल्लाह दिने गरेको उनी बताउँछन् । कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ । विगत तीन वर्षदेखि हात्तीको बथानले बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । किसानले धान नभित्र्याउँदासम्म हात्तीको बथान चुरे क्षेत्रका वनमा रहने गर्दछ ।

बर्सात् कम हुँदै गएपछि चुरे क्षेत्रबाट तलका बस्तीमा पुगेर धान, उखु, केरालगायतका बालीमा नोक्सानी पु¥याउने गर्दछ । हात्तीकै कारण विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले बालीनालीमा बढी क्षति व्यहोर्दै आएका छन् । हात्तीलाई रोक्नका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ‘मेसवायर’ जडान गरिएको भए पनि हात्तीले त्यसलाई भत्काएर खानाको खोजीमा बस्तीमा प्रवेश गर्दै आएको छ ।

नगरपालिकाको वडा नं ७ का बासिन्दा दानसिंह कुवँर मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सिमलफाँटा क्षेत्रमा जडान गरिएको मेसवायरमा हात्ती नियन्त्रण गर्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय करेन्ट छाड्ने व्यवस्था गरिदिनका लागि माग गर्दै आएको बताउँछन् ।
‘करेन्ट प्रवाह भएको मेसवायर हात्तीले भत्काउँदैन,’ उनले भने, ‘हात्ती बस्तीमा प्रवेश गर्न पाउँदैन, प्रवेश नगरे बालीनाली र जीउज्यान जोगाउन सकिन्छ ।’

हात्तीकै कारण खेतबारी लगाएको अन्न भित्र्याउन नपाइने गरेका कारण सिमलफाँटाका अधिकांश बासिन्दा रोजीरोटीका लागि भारततर्फ लाग्ने गरेको उनको भनाइ छ । हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ हुन नसकेको गुनासो उनी गर्छन् । हात्तीको बथान धानबाली किसानले भित्र्याई सकेपछि मात्रै दुधुवा नेसनल पार्कतर्फ लाग्ने गर्दछ । त्यसपछि गहुँबाली खेतमा हरियो हुन थालेपछि पुनः यी क्षेत्रमा फर्कने गर्दछ ।

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागतीखेती 

डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

‘जंगली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो’, उनले भने, ‘कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ ।’ मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पु¥याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उनको भनाइ छ। उनका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जंगली हात्ती आउने गरेका छन् । हात्तीले सुपारीको फल र पात खाँदैन । तैपनि भाँचेर नष्ट गर्दै आएको किसान गुनासो गर्छन् । वडा कार्यालयले प्रतिपरिवार दुईदेखि २५ वटासम्म कागतीको विरुवा स्थानीयवासीलाई वितरण गरेको छ । ‘कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो’, वडाध्यक्ष कार्कीले भने, ‘कागती लगाएको ठाउँमा हात्ती पस्दैन ।’

भारतबाट जंगली हात्ती प्रवेश गर्ने पहिलो नाकाका रूपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । हात्ती नियन्त्रण र बाली जोगाउनका लागि १० वर्षदेखि सीमावर्ती र जंगल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिँदै आएको छ । यसका साथै हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयवासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार