
Screenshot
नेपालगन्ज ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ । पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सम्झौता भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले जानकारी दिएका छन् ।
२०८३ साल साउन २८ गते भएको सम्झौतामा डा. भट्टराई र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रत्येक महिना दुई दिन योग्य मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ ।
विशेषज्ञ चिकित्सकले ओपीडी परामर्श, उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय प्रदान गर्नेछन् । यसैगरी आवश्यकताअनुसार हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन तथा समन्वयसमेत गरिने सम्झौतामा उल्लेख छ । सम्झौताले विशेषज्ञ चिकित्सकीय सेवाका अतिरिक्त दुई अस्पतालबीच दीर्घकालीन प्राविधिक, शैक्षिक तथा संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिएको छ ।
संयुक्त ट्युमर बोर्ड, टेलि–अंकोलोजी परामर्श, क्लिनिकल अनुसन्धान तथा नर्सिङ, प्राविधिक र प्यारामेडिकल जनशक्तिका लागि संयुक्त तालिम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । सम्झौताअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विशेषज्ञ चिकित्सकका लागि आवश्यक ओपीडी कक्ष, क्लिनिकल पूर्वाधार, उपलब्ध मेडिकल उपकरण तथा सहयोगी जनशक्ति उपलब्ध गराउनेछ । साथै बिरामीको नाम दर्ता, प्रारम्भिक जाँच तथा आवश्यक रिपोर्ट र उपचारसम्बन्धी अभिलेख व्यवस्थित गर्ने जिम्मेवारीसमेत अस्पतालले लिनेछ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले तोकिएको मासिक दुई दिने सेवाका लागि दक्ष मेडिकल अंकोलोजिस्टको उपलब्धता सुनिश्चित गर्नेछ । सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिइएको जनाइएको छ । उक्त सहकार्यले पश्चिम नेपालका क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्राप्त गर्न सहज बनाउने तथा क्यान्सर उपचारमा आवश्यक विशेषज्ञ जनशक्ति र ज्ञानको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको डा. भट्टराईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्