ब्रान्डिङ र बजारीकरणको पर्खाइमा मुुगुुको सिस्नु



मुगु ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकाका गाउँबस्ती र आसपासका क्षेत्रमा प्राकृतिक रूपमा प्रशस्त पाइने सिस्नु अझै घरायसी उपभोगमै सीमित छ । स्थानीयको भान्सामा नियमित तरकारीका रूपमा प्रयोग हुँदै आएको सिस्नुको व्यावसायिक संकलन, प्रशोधन, प्याकेजिङ र बजारीकरण हुन नसक्दा सम्भावनायुक्त स्थानीय उत्पादन बजारको पहिचान बनाउनबाटै वञ्चित छ । स्थानीयका अनुसार सिस्नुको उत्पादनका लागि छुट्टै ठूलो लगानी वा खेतीयोग्य जमिन आवश्यक पर्दैन । जंगल, पाखा तथा खेतबारी आसपासमा आफैँ उम्रिने सिस्नु संकलन गरेर प्रशोधन गर्न सके गाउँमै रोजगारी र आम्दानीको आधार बनाउन सकिने सम्भावना छ ।

तर संकलनदेखि बजारसम्म पु¥याउने व्यवस्थित प्रणाली नहुँदा यसको आर्थिक सम्भावना उपयोग हुन सकेको छैन । छायाँनाथ रारा नगरपालिका–१ की ईसरा मल्लका अनुसार गाउँघरमा सिस्नु प्रशस्त पाइए पनि यसको व्यावसायिक मूल्यबारे स्थानीयस्तरमा पर्याप्त ध्यान पुगेको छैन । अहिले अधिकांश परिवारले आफ्नै घरका लागि सिस्नु टिपेर तरकारीका रूपमा प्रयोग गर्ने गरेका छन् । ‘गाउँमा सिस्नुको कमी छैन, तर यसलाई बेच्ने वस्तुका रूपमा विकास गर्न सकिएको छैन,’ उनले भनिन्, ‘प्रशोधन गरेर प्याकेटमा राख्ने र बजारसम्म पु¥याउने व्यवस्था भयो भने यसबाट स्थानीयले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।’

सिस्नुको ठूलो सम्भावना यसको सहज उपलब्धतासँग जोडिएको छ । स्थानीयस्तरमा प्राकृतिक रूपमा उम्रिने भएकाले यसको उत्पादन लागत तुलनात्मक रूपमा कम पर्न सक्छ । तर अहिले संकलन गर्ने, सुरक्षित रूपमा सुकाउने, प्रशोधन गर्ने, गुणस्तर कायम गर्ने र बजारअनुकूल प्याकेजिङ गर्ने अभ्यास नहुँदा सिस्नुको आर्थिक मूल्य सिर्जना हुन सकेको छैन । स्थानीयले सिस्नु ताजा तरकारीका रूपमा मात्र प्रयोग गर्दै आएका छन् । जबकि यसलाई सुकाएर धुलो वा अन्य प्रशोधित स्वरूपमा बजारमा लैजान सकिने सम्भावना छ । यस्तो उत्पादनलाई स्थानीय पहिचानसँग जोडेर व्यवस्थित प्याकेजिङ गर्न सके लामो समयसम्म भण्डारण गर्न सकिने र मुगुबाहिरका बजारमा समेत पठाउन सकिने आधार बन्न सक्छ ।

तर यसका लागि व्यक्तिगत प्रयासभन्दा पनि स्थानीय तह, सहकारी, निजी क्षेत्र र पर्यटन व्यवसायीको समन्वय आवश्यक देखिन्छ । संकलन केन्द्र स्थापना, प्रशोधन प्रविधि, प्याकेजिङ, गुणस्तर परीक्षण र बजार खोजीमा स्थानीय तहले सहजीकरण गर्न सके सिस्नु व्यावसायिक उत्पादनमा रूपान्तरण हुन सक्ने स्थानीयको अपेक्षा छ ।
मुगुको सिस्नुलाई स्थानीय उत्पादनको रूपमा स्थापित गर्ने अर्को सम्भावना पर्यटनसँग जोडिएको छ । मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारा आउने पर्यटकलाई स्थानीय उत्पादन र परिकारसँग परिचित गराउन सके सिस्नु पनि पर्यटन बजारको हिस्सा बन्न सक्छ ।

छायाँनाथ रारा नगरपालिका–६ कोटिल्लाका पर्यटन व्यवसायी हरिकृष्ण एडी सिस्नुलाई स्थानीय खानाको पहिचानसँग जोडेर प्रवद्र्धन गर्न सकिने बताउँछन् । उनका अनुसार रारा घुम्न आउने पर्यटकलाई स्थानीय शैलीमा तयार गरिएको सिस्नुको परिकार खुवाउने र त्यससँगै प्रशोधन गरिएको सिस्नु प्याकेटमा बिक्री गर्ने व्यवस्था गर्न सके यसले दोहोरो बजार पाउन सक्छ । तर मुगुमा सिस्नुको सम्भावना देखिए पनि अहिलेसम्म यसको ब्रान्डिङ, गुणस्तरीय प्रशोधन र बजारीकरण व्यवस्थित रूपमा हुन सकेको छैन । यही कारण स्थानीय स्रोतका रूपमा रहेको सिस्नु व्यावसायिक वस्तुमा रूपान्तरण हुन सकेको छैन ।

सिस्नुको व्यावसायिक उत्पादनले विशेषगरी ग्रामीण महिलाका लागि घरायसी कामसँगै आम्दानीको अवसर सिर्जना गर्न सक्ने सम्भावना छ । संकलन, सफाइ, सुकाइ, प्रशोधन, प्याकेजिङ र बिक्रीसम्मका काम स्थानीयस्तरमै सञ्चालन गर्न सकिने भएकाले यसबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिने सरोकारवाला बताउँछन् ।तर यसका लागि बजारको माग पहिचानदेखि उत्पादनको गुणस्तर कायम गर्ने तालिमसम्म आवश्यक पर्ने उल्लेख छ । यहाँका स्थानीय तहले सम्भावित बजार पहिचान गरेर व्यापारी, होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीसँग उत्पादकलाई जोड्न सके सिस्नुको व्यावसायिक यात्रा सुरु हुने अपेक्षा छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार