कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्म प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । प्रसारण लाइनको १४ किलोमिटर क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ । हर्रे–छिन्चु–सुब्बाकुना यसअघि नै टावर निर्माण सकेर तार तानिसकिएको छ । भने निकुञ्ज क्षेत्रको चिसापानी–हर्रेसम्म लगभग ७० वटा टावर निर्माणको काम सकिएको छ । प्रसारण लाइनमा निर्माण गर्नुपर्ने कुल १६१ ओटा टावरमध्ये झण्डै १५७ टावर निर्माण र तार तान्ने काम सकिएको छ ।
नन्दराम जैशी । सुर्खेत ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध हटेको छ । विद्युत प्रसारण लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथान गाउँपालिकास्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गर्दै आएका थिए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्न लागिएको छ ।
तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध गरेर खाली जग्गामा समेत पोल हाल्न दिएका थिएनन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका थिए । अन्ततः जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा स्थानीयको अवरोध अन्त्य भएको छ । उचित मुआब्जा दिएर विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाँके सफल भएको हो ।
प्रशासन कार्यालयको पहलमा जग्गाको मूल्यांकन कार्य टुंग्याएर क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएसँगै अब कोहलपुर–सुर्खेत प्रसारण लाइन बन्ने पक्का भएको छ । यता सुर्खेतको सुब्बाकुनामा पनि स्थानीयको अवरोध अन्त्य भएको छ । सुब्बाकुनामा २ वटा टावरको फाउण्डेशन निर्माणको लागि विद्युत प्राधिकरणले जग्गा प्राप्ति र क्षतिपूर्ति सम्बन्धी काम अघि बढाएको छ । सुब्बाकुनास्थित सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दुवै ठाउँमा स्थानीयको अवरोध हटेपछि अब छिट्टै कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण हुने अपेक्षा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै खुसी व्यक्त गरेका हुन् । उनले लेखेका छन् ‘प्रसारण लाइन निर्माणमा देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बैजनाथका स्थानीयको जग्गाको मूल्यांकन टुंग्याएर क्षतिपूर्ति दिने प्रक्रिया थालेसँगै लामो समयदेखि उक्त स्थानमा अवरूद्व बाँकी ३ वटा टावर निर्माण तत्काल सुरु हुनेछ । हामी सबैको निरन्तर फ्लोअप, दवाव र सहजीकरण पश्चात कर्णालीवासी १३२ केभी प्रसारण लाइन पहुँचको सम्मुखमा पुगेका छौँ । अनियमित विद्युतका कारण सास्ती भोगिरहेका कर्णालीवासीका लागि १३२ केभी प्रसारण लाइन ‘लाइफ लाइन’ हो । यो विषयमा आ–आफ्नो ठाउँबाट निरन्तर फ्लोअप, समन्वय, सहजीकरण गरौँ ।’
यसअघि बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गरेपछि बाँके प्रशासनले प्रहरीको घेरामा काम थालेको थियो । विद्युतको प्रसारण लाइन विस्तारका लागि भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले ७० करोड रूपैयाँमा ठेक्का पाएको आयोजनाको कार्यालयले जनाएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्म प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ ।
प्रसारण लाइनको १४ किलोमिटर क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ । हर्रे–छिन्चु–सुब्बाकुना यसअघि नै टावर निर्माण सकेर तार तानिसकिएको छ । भने निकुञ्ज क्षेत्रको चिसापानी–हर्रेसम्म लगभग ७० वटा टावर निर्माणको काम सकिएको उनले बताए । प्रसारण लाइनमा निर्माण गर्नुपर्ने कुल १६१ ओटा टावरमध्ये झण्डै १५७ टावर निर्माण र तार तान्ने काम सकिएको छ । २३ असार २०७८ मै सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यसहित भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो ।
तर स्थानीयको अवरोध, सरकारी प्रक्रियामा विलम्ब, कोरोना महामारी जस्ता कारण काममा ढिलाइ भएको थियो । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिएपनि फेरी म्याद थप गरेर आयोजनाको काम अघि बढाइएको छ ।
आयोजनाले विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार २३६ वटा रूख काट्ने अनुमति पाएको हो । २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । बाँके राष्ट्रिय निकुञ्जमा २ हजार ९१६ र बर्दिया राष्ट्रिय निकुञ्जका ३ हजार ३२० रूखहरू कटानका लागि छपान गरिएको छ ।
दोस्रो खण्ड निर्माणको कार्य सुरु
१३२ केभी प्रसारण लाइन विस्तारका लागि सुर्खेत–दैलेख दोस्रो खण्डको निर्माण कार्य सुरु भएको छ । दोस्रो खण्डअन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म विद्युत विस्तारको काम सुरु गरिएको हो । सुर्खेत–दैलेख प्रसारण लाइन आयोजनाका इन्जिनियर कृष्ण खड्काका अनुसार दोस्रो खण्डमा डिजाइन, सर्वे, माटो परीक्षण लगायतको काम सम्पन्न भएका छन् ।
२०८० वैशाखमा ठेक्का सम्झौता गरी दोस्रो खण्डको काम थालिएको उनले जानकारी दिए । उनका अनुसार २०८३ वैशाखसम्म निर्माण सम्पन्न गर्नेगरी दोस्रो खण्डको काम थालिएको छ । दोस्रो खण्डको कामका लागि ७५ करोडमा ठेक्का सम्झौता गरिएको छ । डिजाइनको काम सकिएकाले अब फाउण्डेशन निर्माण कार्य सुरु गरिने आयोजनाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्