कोहलपुरका अव्यवस्थित बसोबासीलाई आज लालपुर्जा बाँडिदै



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । आयोगले आज कोहलपुरका ६७२ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका वडा नम्बर १ का ६७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताए ।

‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा उहाँहरूलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ, मुख्यमन्त्रीज्यूले लालपुर्जा वितरण गर्नुहुनेछ ।’ उनले भने । गत वैशाख २० गते कोहलपुर नगरपालिका वडा नम्बर १ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नम्बर १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।

आयोगले गत शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर १ कै अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको थियो। आयोगले एक हप्ताभित्र तोकिएको राजस्व बैंकमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको थियो । त्यसैगरी जिल्लाकै राप्ती सोनारी गाउँपालिका– ४ का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको छ । आयोग बाँकेका अध्यक्ष खनालले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का १३ सयभन्दा बढी नागरिकलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको बताए ।

उनले राप्ती सोनारी ४ का ६१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा १२७१ जना अव्यवस्थित बसोबासीहरू गरी १३३२ जनालाई लालपुर्जा प्राप्त गर्नका लागि राजस्व जम्मा गर्न सोमबार सूचना जारी गरिएको जानकारी दिए । ‘राप्ती सोनारी ४ का ६१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा १२७१ जना अव्यवस्थित बसोबासीहरू गरी १३३२ जना नागरिकलाई पनि राजस्व जम्मा गरेर आउन सूचना जारी भएको छ ।’ उनले भने, ‘कोहलपुर १ का थप १००१ जना अव्यवस्थित बसोबासीका लागि राजस्व जम्मा गर्नका सूचना प्रकाशित गर्दैछौँ, यो महिनाभित्र जिल्लाका करिब ३७०० भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्नका लागि सूचना प्रकाशित गर्ने योजना बनाएका छौँ ।’

बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए । आयोगले छुटपुट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि दोस्रो चरणको ३५ दिने सूचनासमेत प्रकाशित गरेर आवेदन संकलन गर्ने काम सुरु गरेको छ ।

जिल्लाको बैजनाथ र खजुरा गाउँपालिकाबाट छुट भएका भूमिहीन नागरिकले दोस्रो चरणको सूचनाअनुसार नयाँ आवेदन संकलन गर्ने कार्य भइरहेको अध्यक्ष खनाालले जानकारी दिए । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्ती सोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् ।

डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभैसकेको आयोगले जनाएको छ । पछिल्लो समयमा आयोगले जिल्लामा संकलन भएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीका निवेदनमाथि छानबिन, पहिचान, राजस्व संकलनका लागि सूचना प्रकाशन तथा लालपुर्जा वितरण कार्यलाई तीव्र पारेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार