
नेपालगन्ज ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एन’ले नेपाल संस्थापक मेल्भिन जोन्सको १४७औँ जन्मदिवसको अवसरमा एक सातासम्म विभिन्न सेवामूलक कार्यक्रम आयोजना गर्ने भएको छ । पुस २३ देखि २९ गतेसम्म गरिने साप्ताहिक कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्टेशनरी वितरण, आश्रममा खाद्यान्न वितरण र भोजन खुवाउनेलगायत सेवा कार्यक्रम गरिने नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
कार्यक्रमअन्तर्गत पहिलो दिन पुस २३ गते बुधबार नेपालगन्ज उपमहानगरपालिका–४ को सुर्खेत रोडमा सरसफाइ कार्यक्रम गरिने डिस्ट्रिक्ट को–अर्डिनेटर लायन सावित्रा शर्माले जानकारी दिइन् । उक्त कार्यक्रममा लायन्सको एरिया नम्बर ४ का सबै क्लबहरूको सहभागितामा पञ्चेबाजासहित सरसफाइसम्बन्धी सचेतना फैलाउने उद्देश्य रहेको शर्माले बताइन् ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट र लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा साप्ताहिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको पनि जानकारी दिइएको छ ।
पुस २९ गते दीप प्रज्वलनसहित कार्यक्रमको समापन गरिने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘एन’अन्तर्गतका एक दर्जनबढी जिल्लामा एक सयभन्दा बढी सेवामूलक कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले लायन्सका साप्ताहिक सेवा कार्यक्रमले समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्