दार्चुला ।
दार्चुलाको ऐक स्थानीय तहले पदीय दुरुपयोग गरेको छ । आफ्नो छोराका नाममा बैंकले चेकमार्फत रकम हस्तान्तरण नगरेपछि नगर प्रमुखले पदीय दुरुपयोग गरेका हुन् । गाउँपलिकाले नै जानाजान दुई जना जीवित महिलालाई मृत प्रमाणित गरिएको फेला परेको छ । शैल्यशिखर नगरपालिका– ६ का जीवित दुई महिलालाई नगरपालिकाकै कर्मचारीले मृत प्रमाणित गरिदिएका हुन् ।
नगरपालिकाको ६ नम्बर वडामा मालिकार्जुन अगुवा कृषक समूह छ । समूहका अध्यक्ष छन्, शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीका कान्छा छोरा जनकसिंह धामी । वडागत कृषि कार्यक्रमअन्तर्गत उक्त समूहका लागि नगरपालिकाबाट दुई लाख ४० हजार बजेट विनियोजन गरिएको थियो । वडाध्यक्ष जगदिश धामीका अनुसार ओखरको बोट खरिद गर्दै कृषकलाई वितरण गर्नका लागि उक्त रकम मालिकार्जुन अगुवा कृषक समूहका लागि विनियोजन गरिएको थियो ।
‘बोट खरिदपछि समूहमा विवाद आएको रहेछ,’ वडाध्यक्ष धामीले भने, ‘विवादपछि समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी रकम भुक्तानीका लागि चेकमा हस्ताक्षर गर्न तयार भएका थिएनन् ।’ रकम भुक्तानी नभएपछि समूहका अध्यक्ष जनकसिंह धामी र शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज बिष्टको मिलोमतोमा कोषाध्यक्ष जानकी र सचिव मञ्जुलाई मृत घोषणा गरेको फेला परेको हो ।
कृषि शाखा प्रमुख बिष्टले ग्लोवल आइएमई बैंक गोकुलेश्वर दार्चुलालाई खाता नवीरकणका लागि पत्र लेख्दै भनेका छन्, ‘समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको हुँदा अब समूहको खाता सञ्चालनका लागि अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट सञ्चालन हुने गरी सो खातालाई नवीकरण गरिदिन हुन सिफारिसका साथै अनुरोध गरिन्छ ।’
बैंकले उक्त नवीकरणको पत्र पाएपछि सचिव र कोषाध्यक्षलाई सम्पर्क गर्दा दुवै जना जीवितै रहेको खुलेको हो । ‘ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखाका कर्मचारीसँग मेरो चिनजान थियो,’ सचिव मञ्जुले भनिन्, ‘तपाईँको मृत्यु भइसकेको भन्दै नगरपालिकाले बनाएको कागज बैंकमा आएको छ भनेर फोन आएको थियो । आफ्नै मृत्यु प्रमाणितको कागज देख्दा अचम्म लागेको छ ।’ सचिव मञ्जुले अध्यक्ष जनकसिंह धामीले एक्लै बजेट चलाउन खोजेको आरोप लगाइन् ।
‘बजेट आएको विषयमा पनि हामीलाई जानकारी दिइएको थिएन,’ उनले भनिन् । यता मेयरका छोरासमेत रहेका समूहका अध्यक्ष धामीले रिसको झोँकमा मृत्यु प्रमाणित गर्न लगाएको बताए । ‘सचिव र कोषाध्यक्षले हस्ताक्षर गर्न मान्नुभएन,’ उनले भने, ‘बजेट फ्रिज जाने देखेपछि रिसको झोँकले कृषि शाखामार्फत मृत्यु प्रमाणित गरिएको हो । यसमा कृषि शाखाको पनि कुनै कमजोरी छैन ।’ कृषि शाखा प्रमुख बिष्टलाई सम्पर्क गर्दा उनको फोन अफ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले सामान्य कमजोरी भएको बताउँदै कृषि शाखा प्रमुख बिष्टलाई स्पष्टीकरण सोधेको जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्